ad ad

कारोबार


२५ सयको नेपाली झोलामा साढे १८ खर्बको बजेट

२५ सयको नेपाली झोलामा साढे १८ खर्बको बजेट

सागर न्यौपाने
जेठ १५, २०८१ मंगलबार १८:२२, काठमाडौँ

मंगलबार अर्थसचिव मधुकुमार मरासिनीले अर्थमन्त्री वर्षमान पुनलाई आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेटको मस्यौदा राखिएको ब्रिफकेस हस्तान्तरण गरे। पुनले प्रस्तुत गरेको बजेटभन्दा बढी अहिले बजेट वक्तव्य राखिएको झोलाको चर्चा भइरहेको छ।

किनकि त्यो झोला यसअघिका अर्थमन्त्रीले बोक्ने ब्रिफकेसभन्दा फरक थियो।

छालाको कालो विदेशी ब्रान्डका ब्रिफकेसमा बजेट वक्तव्य बोक्ने परम्परा छोड्दै पुनले अल्लो र ढाकाले बनेको नेपाली झोला प्रयोग गरे।

अर्थ मन्त्रालयबाट संसद् भवन नयाँ बानेश्वर पुग्दै गर्दा पुनले रातो रिबनले बाँधिएको सेतो झोला पटकपटक सुमसुम्याए।

स्वदेशी उत्पादनलाई प्रोत्साहन दिन पुनले स्वदेशमै बनेको अल्लो र कटनको झोलामा बजेट वक्तव्य बोकेका थिए।

झोला बनाउने व्यक्ति थिए, ठमेलमा रहेको युनिक लेदर ह्यान्डिक्राफ्ट प्रालिका प्रोपाइटर नवराज अधिकारी। जो आफूले स्वदेशी उत्पादनलाई कस्मेटिक रुप दिएको बताउँछन्। 

‘हाम्रो आफ्नै कारखाना नेपालटारमा छ, आज बजेट भाषण राखिएको झोला मैले नै बेचेको हुँ,’ अधिकारीले नेपालखबरसँग भने, ‘कटन र अल्लोको प्रयोग भएको यो झोला नेपाल मेड हो। पूरै नेपाली प्रडक्ट हो।’

उनका अनुसार झोलाका लागि ढाका डिजाइन नैकाप र अल्लो भक्तपुरबाट ल्याएर नेपालटारमा रहेको कारखानामा तयार पारिन्छ।

‘एकजना कालिगढलाई एउटा झोला तयार पार्न कम्तीमा एक दिन लाग्छ,’ अधिकारीले थपे, ‘अल्लो भने क्षेत्रपाटी एरियाबाट ल्याएर आफ्नै डिजाइनमा बनाउँछौँ।’

आज बिहान मात्र किनिएको थियो झोला
सो झोला अर्थ मन्त्रालयका कर्मचारीले मंगलबार (जेठ १५) गते बिहान मात्र खरिद गरेको अधिकारीले बताए।

‘व्यक्ति त मैले चिनिनँ तर आजै मात्र यहाँ पसलबाट लग्नुभएको हो,’ उनले भने, ‘हाम्रोमा बनिराखेको ब्यागबाट छानेर लग्नुभएको हो।’

होलसेल रकम २५ सयमा बेचिएको उनले दाबी गरे।

‘हाम्रोमा होलसेल र रिटेल प्राइस छ, नेपालीहरूलाई प्रायः २८ सय देखि ३५ सयसम्म लिन्छौँ। टुरिस्टहरूलाई त्यही अनुसार मूल्य राखेका छौँ। आज बेच्दा २५ सय लिएका हौँ।’

अर्थ मन्त्रालयका प्रतिनिधिले झोला किनेर मन्त्रालय लगेका थिए। त्यसबेलासम्म मन्त्रिपरिषद् बैठक बसेकै थिएन।

मन्त्रिपरिषद् बैठकलगत्तै अर्थमन्त्री त्यही झोलामा बजेट वक्तव्य राखेर संसद् भवन पुगेका थिए। मन्त्री पुनले आगामी आवको लागि १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको बजेट संघीय दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गरेका थिए।  

दोस्रो पटक बजेट ल्याएका पुनले नेपाली मौलिकतामा जोड दिएका छन्। पहिलो पटक अर्थमन्त्री भएका बेलामा पुनले ब्रान्डेड झोलामै बजेट वक्तव्य खोलेका थिए।

१०–१२ जनालाई रोजगारी
धादिङका ५० वर्षे अधिकारीले २० वर्षदेखि ठमेलमा व्यापार गरिरहेका थिए।

तर, २०७७ को कोरोना प्रकोपले  लकडाउन हुँदा उनको व्यापार ठप्प भयो। केही समय चुप बसे।

कोभिड सकिएपछि उनले नेपाली झोला उत्पादन थालेका थिए।

उनको दिमागमा आइडियो फुर्‍यो, फरक खालको नेपाली सामान उत्पादन गर्ने। केही समय बजार घुमे।

अल्लोका सामानबारे सुनेका उनले त्यसकै झोला बनाउने योजना बनाए।

त्यसका लागि डिजाइन दिन उनले कटन थपे। 

‘ढाका र अल्लोको कम्बिनेसन मिलाएर डिजाइन दिएँ, अनि त्यसमा रबर राखेर हेर्दा राम्रो देखियो,’ अधिकारी भन्छन्, ‘विस्तारै पर्यटकहरूले मन पराएको देखियो। नेपालीले पनि यो झोलामा चाख दिनुभएपछि बनाउन थाल्यौँ।’

अहिले १०–१२ जना उनको कारखानामा काम गर्छन्। उनी आफैँ भने मार्केटिङमा दौडन्छन्। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .