कारोबार


उखुको समर्थन मूल्य छिटो तोक्न र मलको कोटा बढाउन सांसद विनोद चौधरीको माग

उखुको समर्थन मूल्य छिटो तोक्न र मलको कोटा बढाउन सांसद विनोद चौधरीको माग

नेपालखबर
असोज २२, २०८१ मंगलबार ९:४२, काठमाडौँ

नेपाली कांग्रेसका केन्द्रीय सदस्य  एवं प्रतिनिधिसभा सदस्य विनोद चौधरीले उखुको समर्थन मूल्य तोक्न सरकारसँग माग गरेका छन्। समयमै उखुको समर्थन मूल्य नतोक्दा किसान निराश भएको उल्लेख गर्दै सांसद चौधरीले सरकारलाई छिटो मूल्य तोक्न र अघिल्लो वर्षभन्दा मूल्य बढाउन भनेका हुन्।

नवलपरासी १ बाट निर्वाचित सांसद चौधरीले उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेल र कृषिमन्त्री रामनाथ अधिकारीलाई भेटेर उखु किसानका समस्याबारे ध्यानाकर्षण गराएका हुन्।

सांसद चौधरीको निर्वाचन क्षेत्र उखु खेतिका लागि पकेट क्षेत्र मानिन्छ। गत वर्ष सरकारले तोकेको अनुदानबापतको रकम किसानले अहिलेसम्म नपाएको र केही चिनी मिलले पनि किसानलाई अझै भुक्तानी नदिएको सांसद चौधरीले बताए।

उनले बजारमा बढेको महँगीलाई ध्यान दिएर उखुको समर्थन मूल्य र अनुदान रकम पनि बढाउन माग गरेका छन्।

 उखुको न्यूनतम मूल्य प्रतिक्विन्टल ७३५ रुपैयाँ र ढुवानीबापतको नेपाल सरकारले प्रदान गर्ने अनुदान रकम प्रतिक्विन्टल १०० रुपैयाँ गरी ८३५ रुपैयाँ कायम गर्न प्रस्ताव गरेका  छन्।

‘समयमै मूल्य नतोकिदिँदा यस क्षेत्रका किसानहरू अन्योल र साह्रै मर्कामा परिरहेका छन्। समयमै मूल्य नतोकिँदा उद्योगहरूले पनि उखु खरिद नगरिदिने वा अघिल्लो वर्षकै मूल्यमा मात्र खरिद गर्ने छन्’, सांसद चौधरीले अर्थमन्त्री पौडेलसँग भने, ‘आर्थिक वर्ष २०८१/८२ का लागि उपर्युक्तबमोजिम यथाशीघ्र समर्थन मूल्य निर्धारण गरिदिनु भई अनुदानबापतको रकम समयमै भुक्तानी हुने व्यवस्थासमेत गरी दिनहुन आग्रह गर्दछु।’

साथै सांसद चौधरीले नवलपरासी जिल्ला केरा तथा उखुको पकेट एरिया भएको हुँदा अन्य बालीभन्दा केरा तथा उखुलाई बढी मलको आवश्यकता पर्ने भएको र हाल प्राप्त मलको कोटा अपुग भएको हुँदा सो क्षेत्रका लागि मलको कोटा वृद्धि र्न पनि सरकारसँग माग गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad