कारोबार


लुक्लामा एकैदिन १८४ उडान, झण्डै चार सय विदेशी पर्यटक भित्रिए

लुक्लामा एकैदिन १८४ उडान, झण्डै चार सय विदेशी पर्यटक भित्रिए

नेपालखबर
कात्तिक २२, २०८१ बिहिबार २१:२, सोलुखुम्बु

सोलुखुम्बुको तेञ्जिङ हिल्लारी विमानस्थल लुक्लामा आज एकैदिन एक सय ८४ वटा हवाई उडान भएको छ। उक्त विमानस्थलमा हेलिकप्टर र जहाज गरी एक सय ८४ वटा उडान भएको नेपाल नागरिक उड्डयन प्राधिकरण लुक्लाले जनाएको छ। 

कार्यालयका प्रमुख उमेश पन्थीका अनुसार मौसम खुलेसँगै  आज हेलिकप्टरले एक सय ५२ तथा जहाजले २३ वटा उडान भरेका हुन्। 

जहाजको उडानमा तारा एयरलाइन्स र समिट एयरलाइन्सले १२/१२ उडान तथा सीता एयरलाइन्सले आठ वटा उडान भरेको प्राधिकरण प्रमुख पन्थीले बताए। 

आज हवाई सेवाबाट मात्रै तीन सय ९६ जना विदेशी र एक सय ३६ जना नेपाली गरी कूल पाँच सय ३२ जना पर्यटक लुक्ला भित्रिएका जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेले जानकारी दिए।

उनका अनुसार उक्त सङ्ख्यामा पर्यटक भित्रिँदा तीन सय ३६ जना विदेशी र एक सय २६ जना नेपाली गरी कूल चार सय ६२ जना पर्यटक हवाई सेवामार्फत लुक्लाबाट बाहिरिएका छन्।

नाम्चेबाट आज चार सय ७५ जना विदेशी पर्यटक उकालो लाग्दा तीन सय तीन विदेशी पर्यटक फर्किएको प्रहरीको तथ्यांक छ। 

‘सगरमाथा क्षेत्र आउने पर्यटक अहिले पनि उत्साहजनक नै मान्नुपर्छ तर चिसो मौसम सुरु भएकाले फर्किनेक्रम पनि त्यतिकै रहेको छ’, सगरमाथा प्रदूषण नियन्त्रण समितिका अध्यक्ष लामाकाजी शेर्पाले भने।

चिसो सुरु भएसँगै खुम्बुबाट बाहिरिने पर्यटक बढ्दै गएको छ। मङ्सिर मध्यसम्म मात्रै पर्यटक याम चल्ने भएकाले भित्रिनेसँगै बाहिरिनेको सङ्ख्या पनि उत्तिकै रहेको सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय नाम्चे सोलुखुम्बुले जनाएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad