कारोबार


कन्ट्री रेटिङमा नेपालले पायो ‘बी प्लस’, दीर्घकालका लागि भने ‘बीबी माइनस’

विज्ञ भन्छन्- वैदेशिक लगानीका लागि मध्यम जोखिमयुक्त
कन्ट्री रेटिङमा नेपालले पायो ‘बी प्लस’, दीर्घकालका लागि भने ‘बीबी माइनस’

सम्झना घिमिरे
मंसिर ६, २०८१ बिहिबार १८:११, काठमाडौँ

नेपालको कन्ट्री रेटिङको नतिजा सार्वजनिक भएको छ।

रेटिङ कम्पनी फिच रेटिङ्सले बिहीबार नेपालको सार्वभौम क्रेडिट रेटिङ (कन्ट्री रेटिङ) बी प्लस र दीर्घकालीन हिसाबले बीबी माइनस रेटिङ प्रदान गरेको हो। 

नेपालको यो पहिलो कन्ट्री रेटिङ हो। यसको अर्थ मध्यमस्तरीय जोखिमलाई बुझाउने विज्ञको भनाइ छ। 

बैंकिङ क्षेत्रका जानकार अनलराज भट्टराईले यसलाई सकारात्मक रेटिङ आएको टिप्पणी गरे। 

‘यसलाई मध्यम जोखिम नै मानिन्छ। हामीले पहिलोपटक रेटिङ गरेका हौँ। अब यसलाई सुधार गर्दै जानुपर्छ। यो रेटिङ त्यति नराम्रो होइन’, उनले भने, ‘यो अहिलेका लागि मात्रै हो। ६ महिनापछि फिचले फेरि पुनर्विचार गर्नेछ। त्यो बेला अवस्थामा हुने सुधारअनुसार रेटिङ घटबढ हुनेछ।’

विदेशी लगानीकर्ताले अहिले नेपालमा लगानी गर्ने आधार खोजिरहेका बेला यो रेटिङले उनीहरुलाई लगानी बढाउने वातावरण सिर्जना गर्ने उनको भनाइ छ।

डबल बी माइनसलाई मध्यम जोखिमयुक्त मानिन्छ। फिचको रेटिङमा बीबीबीमाथिको रेटिङलाई लगानीका लागि जोखिमरहित मानिन्छ भने डबल बीपछिका रेटिङलाई मध्यम जोखिमयुक्त मानिन्छ।

फिचका अनुसार डबल बी माइनसलाई सट्टेबाजीको रेटिङ मानिन्छ। यस प्रकारको रेटिङमा लगानी जोखिमसहित हुन सक्छन् तर पूर्ण जोखिम भने मानिँदैन। सीपछिका रेटिङहरु भने पूर्ण जोखिमयुक्त मानिन्छन्।

फिचले नेपाललाई मध्यमजोखिमयुक्त रेटिङ प्रदान गरेको हो। फिचले नेपाललाई उक्त रेटिङ दिँदै राजनीतिक स्थिरता र विकासे परियोजना कार्यान्वयनमा जोड दिए लगानीको वातावरण थप बन्ने र रेटिङमा सुधार हुने औँल्याएको छ। 

नेपालको कन्ट्री रेटिङ गर्ने निर्णय सरकारले सन् २०१९ मै गरे पनि गत वर्ष फिच रेटिङलाई छनौट गरेको थियो।

कर्जा लगानीको विश्वसनीयता मापन गर्ने आधारका रुपमा लिइने हुनाले नेपाल सरकारले कन्ट्री रेटिङ गर्न फिचलाई जिम्मा दिएको थियो ।

कर्जा असुलीको न्यून जोखिम, व्यवसायिक र आर्थिक क्षेत्रको स्थायित्व, लगानीको न्यून जोखिम, नगद प्रवाहमा स्थिरताजस्ता विषय समेटेर फिचले नेपाललाई बी प्लस रेटिङ प्रदान गरेको हो। 

यो रेटिङका आधारमा विदेशी लगानीकर्ताहरुले लगानीको जोखिम मूल्यांकन गरेर लगानी गर्ने गर्छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad