कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले स्थापना गरेको कोषमा नर्भिक अस्पतालका अध्यक्ष वसन्त चौधरीले एक करोड रुपैया बराबरको सहयोग गर्ने घोषणा गरेका छन्।
कोरोना भाइरस रोकथाममा सहयोग पुगोस् भन्दै चौधरीले ५० लाख बराबरको स्वास्थ्य सामग्री र ५० लाख रुपैया नगद दिने घोषणा गरेका हुन्।
नर्भिक अस्पताल तथा वसन्त चौधरी फाउन्डेसनको तर्फबाट उक्त सहयोग गर्न लागेको उनले बताए।
‘स्वास्थ्य मन्त्रालयलाई ५० लाख रुपैया बराबरको आवश्यक सामाग्रीकाे सूची देऊ भनेको छु,’ चौधरीले नेपालखबरसँग कुरा गर्दै भने, ‘सरकारले पैसा मात्रै भन्दा पनि सामग्री भए हुन्थ्यो भनेकाले मन्त्रालयको लिष्ट मागेको हुँ।’
चौधरीले बाँकी ५० लाख रुपैया कोषमा नगद हस्तान्तरण गर्ने जनाएका छन्।
सरकारी चिकित्सकलाई १७ हजार मास्क
त्यस्तै नर्भिक अस्पतालले सरकारी चिकित्सक तथा स्वास्थयकर्मीको लागि भन्दै १७ हजार मास्क प्रदान गरेको छ।
नर्भिकले डाक्टर तथा अन्य स्वास्थ्यकर्मीले प्रयोग गर्ने १५ हजार ‘थ्रि प्लाइ’ र २ हजार ‘थ्रिएम एन नाइन्टिफाइभ’ मास्क सरकारलाई हस्तान्तरण गरेको चौधरीले बताए।
‘चिकित्सक तथा स्वास्थ्यकर्मीलाई चाहिने मास्क पनि नभएको कुरा आएकाले उक्त मास्क स्वास्थ्य मन्त्रालयमा पठाइसकिएको छ,’ चौधरीले भने, ‘हामीले यो बेला डाक्टर तथा नर्सको स्वास्थ्यको पनि ख्याल गर्नुपर्छ।’
नर्भिकको लागि राखिएका मास्कबाट केही सरकारी चिकित्कसलाई सहयोग गरेको उनले बताए।
फिभर क्लिनिक र आइसोलेसन वार्ड निर्माण
त्यसैगरी, नर्भिक अस्पतालमा फिभर क्लिनिक र आइसोलेसन वार्ड पनि तयार गरिएको छ। चौधरीका अनुसार १५ बेडको नयाँ आइसोलेसन वार्ड बनिसकेको छ।
‘अस्पताल बाहिरको पार्किङ क्षेत्रमा उक्त वार्ड बनाएका छौं,’ चौधरीले भने, ‘अस्पतालभन्दा छुट्टै तरिकाले यो निर्माण गरिएको छ।’
साथै उनले कोरोना भाइरस टेष्ट किट उपलब्ध गराउन प्रयास गरिरहेको बताए।
राष्ट्रलाई नै संकट परेको बेला सबैले एकजुट भएर सहयोग गर्नुपर्नेमा चौधरीले जोड दिए।
‘यो बेला सबै मिलेर सहयोगमा जुटनुपर्छ,’ उनले भने, ‘अहिले निजी क्षेत्र, एनजिओ वा सरकार भन्ने नै होइन।’
यो बेला सरकारी नीतिअनुसार चल्नुपर्ने भएकाले यो वा त्यो भन्ने अवस्था नरहेको उनले बताए।
निजी वा सरकारी जे भए पनि यो बेला एउटै भएकाले सरकारीले चाहेको हुने उनले बताए।
‘संकटका बेला सरकारले चाहेमा म बसेको घर पनि सरकारलाई दिनुपर्छ,’ चौधरीले भने, ‘अहिलेको स्थितीमा तेरो वा मेरो भन्ने अवस्था छैन।’
निजी क्षेत्रसँग भएको जति पनि मानवीय क्षमता, सुविधा छ सबै आवश्यक ठाउँमा सहयोग गर्नुपर्ने उनले बताए।
आफूले व्यक्तिगत र संस्थागत रुपमा दिने सहयोगबाहेक अन्य दाताबाट पनि सहयोग जुटाउन लागिरहेको उनले बताए।
‘सरकारबाट सुरुवात भएको छ,’ चौधरीले भने, ‘अब अन्य साथीहरु पनि यो सहयोगमा जुट्न आउनुहुनेछ।’

प्रतिक्रिया