कारोबार


आईएमई पे र खल्तीको एकीकृत सेवा सुरु

आईएमई पे र खल्तीको एकीकृत सेवा सुरु

नेपालखबर
साउन १, २०८२ बिहिबार ८:२०, काठमाडौँ

आईएमई पे र खल्ती वालेट मर्ज भएर आज (साउन १ गते) बाट ‘खल्ती बाइ आईएमई’ नाममा एकीकृत कारोबार सुरु भएको छ। यसरी एउटै एपमा समेटिएपछि साविकका १ करोड २७ लाख सेवाग्राही याे कारोबारमा जोडिएका कम्पनीले जनाएकाे छ। 

यो मर्जरसँगै बनेको नयाँ कम्पनी ‘आईएमई खल्ती लिमिटेड’ को चुक्ता पुँजी ५४ करोड रुपैयाँभन्दा बढी पुगेको छ । सेवाग्राही र पुँजीले ‘खल्ती बाइ आइएमई’लाई देशकै सबैभन्दा ठूलो डिजिटल वालेट बनाएको छ। यस मर्जरले नेपाली डिजिटल अर्थतन्त्रमा नयाँ आयाम थप्ने विश्वास लिइएकाे छ।

यी दुई वालेटले आपसी मर्जरमा जानुअघि झन्डै एक दशकयता विभिन्न डिजिटल भुक्तानी सेवा प्रदान गर्दै आएका थिए।

ब्याज दिने एक मात्र वालेट को रूपमा चिनिएको आईएमई पे रेमिटेन्स, इनड्राइभ भुक्तानीजस्ता सेवामा लोकप्रिय थियो भने खल्ती मुभी बुकिङ, इभेन्ट टिकटिङ र आफ्ना इनोभेटिभ फिचरहरूका कारण युवापुस्तामा रुचाइएको थियो।

अब यी दुवै वालेट मर्ज भएर आ–आफ्ना उत्कृष्ट सेवाहरूलाई अझ परिष्कृत, सहज, सरल र सुरक्षित रूपमा प्रदान गर्नेछन्।

साबिक आईएमई पे प्रयोगकर्ताहरूका लागि ‘खल्ती बाइ आईएमई’ मा माइग्रेट हुने सुविधा उपलब्ध छ। यस प्रक्रिया मार्फत आइएमई पे वालेटमा रहेको रकम, ब्याज, रिवार्ड प्वाइन्ट तथा सम्पूर्ण विवरणहरू नयाँ एपमा स्थानान्तरण हुनेछन्। खल्ती प्रयोगकर्ताहरूले चाहिँ आफ्नो एप अपडेट गरी नयाँ अनुभव लिन सक्ने छन्।

आइएमई पे-आईएमई ग्रुप अन्तर्गत सञ्चालन हुँदै आएको थियो। अर्कोतर्फ, चार जना सह–संस्थापकद्वारा स्थापना गरिएको खल्तीमा पछि वल्डलिंक, त्रिवेणी ग्रुप जस्ता कर्पोरेट लगानीकर्ताहरू आबद्ध भएका थिए।

आईएमई डिजिटल सोलुसन्सका अध्यक्ष कृष्ण प्रसाद शर्माले आइएमई पे र खल्ती बीचको मर्जरबाट बनेको आइएमई खल्ती लिमिटेडले डिजिटल नेपालको सम्भावनालाई नयाँ उचाइमा पुर्याउने विश्वास व्यक्त गरेका छन्।

खल्त का अध्यक्ष मनोज कुमार अग्रवालले नेपाली डिजिटल वित्तीय क्षेत्रको दीर्घकालीन समृद्धिका लागि यो मर्जर ऐतिहासिक कदम भएको बताए। उनले आईएमई खल्ती लिमिटेडले देशभर वित्तीय पहुँचको नयाँ युग सुरु गर्ने विश्वास व्यक्त गरे।

आईएमई खल्ती लिमिटेडका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले डिजिटल पहुँच विस्तार, डिजिटल साक्षरता तथा समावेशीकरणका लागि थप योजनाहरू अघि बढाइने जानकारी दिए

दुवै कम्पनीले आज विशेष कार्यक्रम आयोजना गरि मर्जरको औपचारिक घोषणा समेत गर्ने तयारी छ।

आईएमई पेले डिजिटल सर्भिसेज आईसीटी अवार्ड २०२४, फिनटेक क्याटेगोरीमा कर्पोरेट एक्सिलेन्सी एचआरएम अवार्ड र भिसा लिडरसिप कन्क्लेभ नेपाल २०२३ मा एक्सिलेन्सी फिनटेक पार्टनरसिप अवार्ड प्राप्त गरेको छ। 

यता खल्तीले पनि डब्लुआईटीएसए ग्लोबल इन्नोभेसन एन्ड टेक एक्सिलेन्स अवार्ड २०२२, २०२३ र २०२४ मा सबैभन्दा बढी डिजिटल भुक्तानी कारोबार गर्ने सेवा प्रदायकको रुपमा एनसीएचएलबाट लगातार दुईपटक तथा नेपाल राष्ट्र बैंकबाट डिजिटल कारोबारमा पु¥याएको योगदानस्वरुप उच्च कदरस्वरुप सम्मान प्राप्त गरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad