कारोबार


के कोरोना संकट स्टार्टअपलाई अवसर बन्ला?

के कोरोना संकट स्टार्टअपलाई अवसर बन्ला?

सन्तोष न्यौपाने
काठमाडौं, बैशाख २९

दुई वर्षअघि सुरु भएको ‘सफा लुगा’ले आफ्नो व्यवसायलाई पोखरामा विस्तार गर्ने योजना बुन्दै थियो। कागजमा योजनाको खाका तयार गर्दागर्दै विश्वव्यापी रुपमा कोरोना भाइरस (कोभिड–१९)को महामारी फैलियो।

त्यो महामारी नेपालमा पनि फैलिनसक्ने स्थितिसँगै लकडाउन सुरु भयो। जसको सबैभन्दा ठूलो मार ‘सफा लुगा’जस्ता नयाँ स्टार्टअपलाई परेको छ।

केही दिनअघि सफा लुगा टिमले ४५ दिनको लकडाउनमा कति घाटा भयो होला भनेर सामान्य हिसाब निकालेछन्।

‘यो अवधिमा २० देखि २२ लाख रुपैयाँ घाटा भएको हाम्रो हिसाब निस्केको छ’, सफा लुगाका म्यानेजिङ डाइरेक्टर अंशु मिश्रले भने, ‘घरभाडा, ११ कर्मचारीको तलब र यसबीचमा हुने व्यवसायको आम्दानी यसमा जोडिएको छ।’

साढे दुई करोड लगानीमा सुरु गरेको व्यवसायमा कोरोना संक्रमणले ठूलो संकट थपेको छ। उनीहरुको व्यवसायमा आधाभन्दा धेरै आम्दानी होटल, रेष्टुरेन्ट र पर्यटन क्षेत्रबाट हुन्थ्यो। त्यस क्षेत्रलाई सबैभन्दा ठूलो असर गरिरहेको बेला सफा लुगालाई वर्षदिनसम्म यसको असर परिरहने उनीहरुको भनाइ छ।

लकडाउनले सबैभन्दा गाह्रो पारेको क्षेत्र भनेकै स्टार्टअप भएको सम्बन्धित क्षेत्रका जानकार बताउँछन्। स्टार्टअप भनेको प्रायः टेक्नोलोजीमा आधारित कम्पनी हुन्। यिनीहरुले उद्योग र उपभोक्ता जोड्ने काम गर्छन्। सम्पूर्ण उद्योग व्यवसाय नै बन्द भएपछि यिनीहरुलाई पनि ठूलो असर गरेको छ।

‘केही इ–कमर्स (अनलाइन व्यापार) गर्नेहरु जसले अत्यावश्यक वस्तुको सेवा दिन्छन्, उनीहरुलाई लकडाउनमा राम्रो भएको छ’, नेपाल आन्ट्रप्रेनर सोसाइटीका अध्यक्ष खगेन्द्र आचार्यले भने, ‘भोलिका दिनमा नयाँ लगानी कहाँबाट ल्याउने भन्ने समस्या छ।’

नेपालमा स्टार्टअप आउन थालेको धेरै भएको छैन। पछिल्ला पाँच/छ वर्षमा नै स्टार्टअपको प्रचलन आएको थियो। यस क्षेत्रमा केही काम पनि भइरहेका थिए।

कुनै पनि व्यवसाय दुई महिना बन्द हुनु भनेको ठूलो असर भएकाले यसको असर लामो समय हुने श्रीयोग स्टार्टअपका फाउन्डर प्रकाश उप्रेतीले बताए। उनको आँकलन छ, ‘त्यो व्यवसायलाई नै अगाडि बढाउन सकिन्छ कि सकिँदैन भन्ने अवस्था सृजना हुन्छ।’

डिजिटल प्लेटफर्ममा आधारित स्टार्टअपहरुलाई भने यस महामारीले थप सहयोग गरेको उप्रेतीको भनाइ छ। ‘कोरोना महामारीले स्टार्टअपको प्रकृतिअनुसार चुनौती र अवसर दुवै ल्याएको छ’, उप्रेतीले नेपालखबरसँग भने।

त्यस्तै, नयाँ स्टार्टअपहरुलाई स्वदेशभित्र लगानी जुटाउन समस्या हुने देखिन्छ। लगानी गर्ने उद्योग तथा कर्पोरेट हाउसहरु पनि एकैपटक यसको मारमा परेका छन्।

त्यस्तै, सरकारको नीतिकै कारण पनि स्टार्टअपमा आउने सानो लगानी रोकिएको छ। मुलुकमा नयाँ आउने स्टार्टअपलाई वैदेशिक लगानी तथा प्रविधि हस्तान्तरण ऐनमा उल्लेख भएको प्रावधानले पनि असर गरेको आचार्यको भनाइ छ।

उक्त ऐनमा प्रत्यक्ष विदेशी लगानी (एफडीआई)को सीमालाई ५ करोड रुपैयाँ पुर्‍याएको छ।

‘एफडीआइको थ्रेसहोल्ड (सीमा) ५ करोड बनेपछि नयाँ स्टार्टअपले विदेशी लगानी ल्याउन नसक्ने अवस्थामा पुगेका छन्’, उनले भने, ‘यो नीतिलाई परिवर्तन गर्नुपर्छ। स्टार्टअपलाई ५ करोड लगानी नै चाहिँदैन। ५० लाखदेखि एक करोडसम्मको लगानीमा धेरै स्टार्टअप सुरु हुन्छन्।’

संकट अवसरमा परिणत होला ?
विश्वमा आएका धेरै संकटहरुले नयाँ–नयाँ अवसर पनि सृजना गरेका हुन्छन्।

आचार्य विश्वमा आएका धेरै डलर अर्बपतिहरु २००८ को आर्थिक मन्दीपछि उदाएको बताउँछन्।

‘उक्त आर्थिक संकटपछि विश्वका चर्चित स्टार्टअपहरु आएका छन्’, उनले भने, ‘५७ प्रतिशत विश्वका बिलेनियर(अर्बपति)हरु २००८ को आर्थिक संकटपछि आएका छन्।’

उक्त समयपछि विश्व चर्चित स्टार्टअप सुरु भएका थिए। कोभिड–१९ ले पनि त्यो अवसर ल्याउन सक्छ।

यसको केही संकेत नेपालमा पनि देखिएको छ। अनलाइन बिजनेस गर्ने बानी परेको छ, अनलाइन कक्षा, अनलाइन कन्फ्रेन्स, अनलाइन खाना ‘अर्डर’ गर्न थालिएको छ।

‘सोसल डिस्ट्यान्स’ले स्टार्टअपहरुलाई सहयोग गरेको छ। कोभिड–१९ कस्तो भयो भने मान्छेहरु घरमै बसे। रेस्टुरेन्ट जाने बस्ने खाने, वा मलमा गएर सपिङ गर्न नसक्ने भए।

‘कोभिड–१९ ले गर्दा मान्छेहरु घरभित्रै छन् तर उनीहरुको आवश्यकता पूरा गर्ने माध्यम अनलाइन र विभिन्न स्टार्टअप बनेका छन्’, आचार्यले भने, ‘इ–कमर्सबाट सामान किन्ने माइन्ड सेटअप गराएको छ।’

नेपालमा पनि ‘जुम’ (भिडियो एप) भन्ने थाहा नपाउनेले अहिले विद्यार्थीदेखि व्यवसायीसम्म जुम प्रयोग गर्न थालेका छन्। सप्लाई चेन (आपूर्ति प्रणाली)मा काम गर्नेलाई मिडिएटर (सहजीकर्ता) चाहिने भएको छ। अनलाइनमा वस्तुहरुको माग बढेको छ। खेतमा रहेको उत्पादन अनलाइनमार्फत बजारमा पुगेको अवस्था छ। यो आउने दिनमा नयाँ स्टार्टअपको लागि शुभसंकेत हो।

सोसल डिस्ट्यान्सले गर्दा पनि स्टार्टअपहरुलाई सपोर्ट गरेको छ। यो संकटलाई स्टार्टअप र इनोभेसनमा आधारित कम्पनीको लागि अवसर हो भन्ने सन्देश दिने आचार्यको भनाइ छ।

अबको चुनौती भनेको आउने दिनमा कसरी स्टार्टअपलाई अगाडि बढाउने भन्ने छ। स्टार्टअपको आइडिया मात्र नहुने त्यसमा लगानी पनि चाहिन्छ।

सरकारले के गर्नुपर्छ?
चलिरहेका स्टार्टअपलाई बचाउन र नयाँ आउनेलाई अवसर सृजना गर्न सरकारको मुख्य भूमिका हुने यस क्षेत्रमा आबद्धहरु बताउँछन्। सरकारले आफैँ लगानी गर्ने नभई यिनीहरुलाई सहजीकरण गर्नुपर्ने सरोकारवालाको भनाइ छ।

‘उनीहरुलाई अनुदान वा सहुलियत दिनसके राम्रो हुन्छ’, आचार्यले भने, ‘भारत सरकारले यस्ता स्टार्टअपलाई विना धितो ऋण उपलब्ध गराइरहेको छ।’

नेपालमा पनि विना धितो दिने त भनेको छ तर यो काम हुनसकेको छैन। कृषिमा जस्तै स्टार्टअपलाई पनि ऋण र अनुदान उपलब्ध गराउनुपर्ने उनीहरुको भनाइ छ।

करलाई अलिकति कम गरिदिने हो भने स्टार्टअपलाई अगाडि बढ्न सजिलो हुनेछ। लगानी गरेको आधारमा करको दायरालाई थपघट गर्दा राम्रो हुने लगानीकर्ताको सुझाव छ।

‘आइडियालाई धितो राखेर ऋण दिने सुविधा गर्नुपर्छ’, आचार्यले भने, ‘सरकारले यससम्बन्धी नीति बनाउनुपर्छ।’

नेपालका स्टार्टअप इकोसिस्टम ‘ग्रुमिङ’ भएका छन्। भोलिका दिनमा स्टार्टअप भविष्य छ तर यसको लागि काम गर्नुपर्छ।

कोभिड–१९ ले गर्दा स्टार्टअपको महत्व बढेको छ। इ–कमर्स, अनलाइन गेटवेका कुरा धेरै आएका छन्।

बैशाख २९, २०७७, साेमबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin: [email protected]
News: [email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
अप्रेसन म्यानेजर
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
सविन पोखरेल
लेखा प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .