नेपाल धितोपत्र बोर्डले मार्जिन कारोबारको बाटो खोलिदिएसँगै नेपाल स्टक एकसचेन्ज (नेप्से)ले यसको कार्यप्रक्रिया बनाई लागू गरेको छ।
बिहीबार लागू गरिएको कार्यप्रक्रियाअनुसार अब सेयरबजारमा मार्जिन कारोबार गर्न सकिने भएको हो।
योसँगै नेप्सेको सदस्यता प्राप्त धितोपत्र दलाल र धितोपत्र व्यापारीले नेप्सेबाट अनुमतिपत्र लिएर कार्यप्रक्रियामा भएको व्यवस्थाअनुसार मार्जिन कारोबार सुविधा प्रदान गर्न पाउनेछन्।
मार्जिन कारोबार सुविधा प्रदान गर्न चाहने कारोबार सदस्य (ब्रोकर)का लागि चुक्ता पुँजी न्यूनतम २० करोड भएको, राफसाफ सदस्यता अर्थात् सीडीएससीले राफसाफ तथा फर्छ्योट कार्य गर्न सदस्यता दिएको संस्थामा सूचीकृत संगठित संस्थाको सेयरधनी रहेको वा सहायक सूचीकृत संगठित संस्थाको रुपमा रहेको कारोबार सदस्यको मुख्य सूचीकृत संगठित संस्थाले निक्षेप सदस्यता प्राप्त गरेको हुनुपर्नेछ।
त्यसैगरी कारोबार सदस्यले धितोपत्र बोर्डको अनुमतिपत्र र नेप्सेको सदस्यता लिएको हुनुपर्नेछ। त्यसैगरी मार्जिन कारोबार सुविधा प्रदान गर्ने सम्बन्धमा कारोबार सदस्यको सञ्चालक समितिले गरेको निर्णयलाई निवेदन साथ संलग्न गर्नुपर्नेछ।
यी योग्यता पूरा भएपछि नेप्सेले त्यसको जाँचबुझ गरी अन्ुमति प्रदान गर्न सक्नेछ। कारोबार सदस्यले आर्थिक वर्ष सकिएको ३ महिनाभित्र प्रक्रिया पुर्याई मार्जिन कारोबार सेवा उपलब्ध गराउने अनुमतिपत्र नवीकरण गराउनुपर्ने व्यवस्था गरिएको छ। यसरी नवीकरण नगरे अनुमतिपत्र स्वतः खारेज हुने नेप्सेले जनाएको छ। यसरी खारेज भएको अवस्थामा कारोबार सदस्यले एक वर्ष पूरा नभएसम्म नयाँ अनुमति नपाउने व्यवस्था गरिएको छ।
अनुमतिपत्र स्थगन तथा खारेजीको व्यवस्था पनि कार्यप्रक्रियामा गरिएको छ। कारोबार सदस्यले कार्यप्रक्रिया प्रतिकूल हुने गरी लगानीकर्ताको अहित हुने कार्य गरेको ठहर भए अनुमतिपत्र स्थगन वा खारेज हुनसक्नेछ। यसअनुसार जुन कारणले अनुमतिपत्र स्थगन गरिएको हो सो कारण विद्यमान नरहेमा नेप्सेले स्थगन फुकुवा गर्न सक्नेछ। अनुमतिपत्र खारेज भएमा कारोबार सदस्यले मार्जिन कारोबार सुविधा प्रदान गर्न ग्राहकसँग गरेको सम्झौताबाट सिर्जित दायित्वबाट उन्मुक्ति नपाउने व्यवस्था गरिएको छ।
मार्जिन कारोबारयोग्य सेयर
नेप्सेले कारोबारयोग्य सेयरमा मार्जिन कारोबार सेवा दिनुपर्ने व्यवस्था गरेको छ। यसअनुसार सूचीकृत संगठित संस्थाको सेयर मात्रै कारोबार सदस्यले ग्राहकलाई मार्जिन कारोबार सुविधा दिनुपर्नेछ। जसमा तत्काल कारोबार हुनसक्ने गरी कम्तीमा २५ लाख कित्ता सेयर सर्वसाधारणमा जारी भई नेप्सेमा सूचीकृत भएको, नेटवर्थ चुक्ता पुँजी बराबर वा सोभन्दा बढी भएको, पछिल्लो ३ वर्षमा कम्तीमा २ वर्ष खुद नाफा भएको, प्रारम्भिक सार्वजनिक निष्काशनमार्फत निष्काशन भएको सेयर सूचीकरण भएको कम्तीमा २ वर्ष पूरा भएको हुनुपर्नेछ।
योग्यताबारेका शर्तहरु बोर्डको स्वीकृति लिई नेप्सेले समय–समयमा हेरफेर गर्न सक्नेछ भने योग्य सबै सूचीकृत संगठित संस्थाको सेयरमा मार्जिन कारोबार सुविधा प्रदान गर्न कारोबार सदस्य बाध्य नहुने कार्यप्रक्रियामा उल्लेख छ।
नेप्सेले प्रत्येक आर्थिक वर्षका लागि मार्जिन कारोबारयोग्य सूचीकृत संगठित संस्थाको सूची सार्वजनिक गर्नेछ। यस्तो सूची हरेक आर्थिक वर्ष सकिएको ७ महिनाभित्र नेप्सेले अद्यावधिक गर्नेछ। अद्यावधिक गर्दा कुनै सूचीकृत संगठित संस्था मौजुदा सूचीबाट हटेमा त्यस्तो संस्थाका लागि उपलब्ध मार्जिन सुविधा ३० कारोबार दिनभित्र राफसाफ गर्नुपर्नेछ वा शतप्रतिशत मार्जिन कायम गर्नुपर्ने उल्लेख छ।
लगानीकर्ताले मार्जिन कारोबार खाता खोल्नुपर्ने
लगानीकर्ताले मार्जिन कारोबार सुविधा उपभोग गर्न कारोबार सदस्यबाट मार्जिन कारोबार खाता खोल्नुपर्नेछ। कारोबार सदस्यलाई उनीहरुले ग्राहक परिचय विवरण (केवाईसी) दिनुपर्नेछ भने त्यसपछि ग्राहक र कारोबार सदस्यबीच सम्झौता गरेसँगै मार्जिन कारोबारको अलग्गै खाता खोली यो सुविधा पाउनेछन्।
लगानीकर्ताको कारोबार खाताबाट नै मार्जिन कारोबार सुविधा दिन सकिने अवस्थामा भने छुट्टै खाताको आवश्यकता नपर्ने कार्यप्रक्रियामा उल्लेख गरिएको छ।
लगानीकर्ताले मार्जिन कारोबार सुविधाअन्तर्गत खरिद रकमको न्यूनतम ३० प्रतिशतले हुने रकम कारोबार सदस्यले लगानीकर्तासँग प्रारम्भिक मार्जिनको रुपमा लिनुपर्नेछ भने यो सुविधाअन्तर्गत खरिद गरिएको सेयर, मार्जिन रकम तथा सम्बन्धित ग्राहकको विवरण छुट्टाछुट्टै अभिलेख बनाएर राख्ने व्यवस्था गरिएको छ।
त्यसैगरी खरिद भएको सेयरको मूल्यांकन दैनिक रुपमा मार्क्ड टु मार्केटको आधारमा गर्नुपर्नेछ। तर उक्त सेयरको मूल्यमा भएको वृद्धिका आधारमा थप सुविधा दिन नपाइने कार्यप्रक्रियामा भनिएको छ।
ग्राहकको जोखिम मूल्यांकन, बजारको अवस्था तथा सूचीकृत संगठित संस्थाको सेयरमा निहित जोखिमलाई दृष्टिगत गरी कारोबार सदस्यले प्रारम्भिक माजिृनभन्दा बढी मार्जिन माग गर्न पाउने व्यवस्था गरिएको छ।
सम्भार मार्जिनतर्फ कारोबार सदस्यले यो सुविधा अवधिभर बजारको अवस्था तथा जोखिम हेरी लगानीकर्तासाग न्यूनतम २० प्रतिशतले हुन आउने रकम सम्भार मार्जिन कायम राख्नुपर्नेछ।
सम्भार मार्जिन कायम गर्ने दायित्व लगानीकर्ताको, नगरे के हुन्छ?
कार्यप्रक्रियाअनुसार सेयरको बजार मूल्यमा हुने गिरावटका कारण मार्जिन कारोबार सुविधाअन्तर्गत खरिद गरेको सेयरमा आवश्यक पर्ने सम्भार मार्जिन कायम गर्ने दायित्व लगानीकर्ताको हुनेछ। यदि लगानीकर्ताले सम्भार मार्जिन कायम गर्न नसके कारोबार सदस्यले उक्त मार्जिन कायम गर्न लगानीकर्तालाई सूचना÷जानकारी दिनेछ। जसलाई मार्जिन कल पनि भनिन्छ।
मार्जिन कल गरेको अर्को कारोबार दिन कारोबार सुरु हुनुअगाडि नै लगानीकर्ताले नगद वा मार्जिन कारोबारयोग्य सेयर जम्मा गरी कम्तीमा सम्भार मार्जिन कायम गर्नुपर्नेछ।
यदि दोस्रो कारोबार दिनसम्म पनि सम्भार मार्जिन कायम गर्न नसके कारोबार सदस्यले सम्भार मार्जिन कायमका लागि आवश्यक पर्ने मार्जिन खाताअन्तर्गतका कुनै पनि सेयर बिक्री गर्न सक्नेछ। यद्यपि मार्जिन कलपछि कुनै पनि समयमा मार्जिन खातामा लगानीकर्ताको मार्जिन १५ प्रतिशत वा सोभन्दा कम भएमा कारोबार सदस्यले लगानीकर्ताको मार्जिन कारोबार खातामा सम्भार मार्जिन कायम गर्न आवश्यक पर्ने सेयर बेच्न पाउनेछ। यसरी बिक्री गर्दा कारोबार सदस्यलाई लगानीकर्ताको अनुमति समेत आवश्यक नपर्ने भनिएको छ।
यो अवस्था र मार्जिन कर्जाको भाखा सकिई नवीकरण नभएको वा नगद भुक्तानी गरी मार्जिन कर्जा चुक्ता नगरेको अवस्थामा बाहेक कारोबार सदस्यले अन्य कुनै कारणले मार्जिन खातामा रहेका सेयर बिक्री गर्न नपाउने व्यवस्था गरिएको छ।
लगानीकर्ताले सम्भार मार्जिन कायम गर्न नसकेमा कारोबार सदस्यले लगानीकर्तासाग उक्त मार्जिन कायम गर्न आवश्यक रकमबराबरको धितोपत्र बजारमा सूचीकृत ए, बी र जी वर्गमा रहेका संगठित संस्थाको सेयर धितोको रुपमा लिन सक्नेछ। उक्त सेयरको मूल्य गणना गर्दा बजार मूल्यको ६० प्रतिशतले हुन आउने मूल्यलाई मात्र गणना गर्नुपर्ने कार्यप्रक्रियामा उल्लेख छ।
मार्जिन खाताअन्तर्गतका सेयरमा सूचीकृत संगठित संस्थाहरुले बोनस सेयर जारी गर्ने भएमा दाखिल खारेज बन्द (बुक क्लोज) पछि मार्जिन खाताको वास्तविक मार्जिन गणना गर्दा उक्त सेयरले पाउने बोनस सेयरलाई बजार मूल्यको आधारमा गणना गर्नुपर्नेछ। यसअनुसार प्राप्त हुने बोनस सेयर स्वतः धितो बन्धकमा जानेछ।
हकप्रद सेयरबारे भने मार्जिन खाताअन्तर्गत रहेका सेयरमा सूचीकृत संगठित संस्थाको विशेष वा साधारणसभाले हकप्रद सेयर जारी गर्ने भएमा कारोबार सदस्यले हकप्रदको अनुपात हेरी ती सेयरको छुट्टै सम्भार मार्जिन तोक्नुपर्नेछ। यसअनुसार सम्भार मार्जिन नपुग हुन आएमा सात कारोबार दिनको समय दिई सम्भार मार्जिन कायम गर्न कारोबार सदस्यले मार्जिन कल गर्न सक्नेछ। ७ कारोबार दिनमा कारोबार सदस्यले तोकेको सम्भार मार्जिन कायम गर्न नसके आठौँ कारोबार दिनपछि वा दाखिल खारेज बन्द हुनु ५ दिनअगावै सम्भार मार्जिन कायम गर्न आवश्यक पर्ने मार्जिन खाताअन्तर्गतका कुनै पनि सेयर बिक्री गर्न सक्नेछ।
मार्जिन खातामा रहेका सेयरको कारोबार मर्जर, एक्विजिसन वा अन्य कुनै कारणले बन्द भएमा आवश्यकताअनुसार जोखिम हेरी कारोबार सदस्यले थप सुरक्षण माग गर्न सक्नेछ। यससम्बन्धी व्यवस्था कारोबार सदस्यको कार्यप्रक्रियामा उल्लेख गर्नुपर्नेछ।
मार्जिन कलपछि नगद वा थप सेयर जममा गरिएको मार्जिन खातामा रहेको सेयरको बजारमूल्य बढेर प्रारम्भिक मार्जिनभन्दा बढी हुन गएमा सम्बन्धित लगानीकर्ताले प्रारम्भिक मार्जिनभन्दा कम नहुने गरी थपिएको नगद वा सेयर फिर्ता लिन वा बिक्री गर्न सक्नेछ।
सम्भार मार्जिन कायम गर्न लगानीकर्ताको नियमित हितग्राही खाताबाट मार्जिन कारोबार हितग्राहीखातामा सेयर स्थानान्तरण गर्दा नियमानुसार शुल्क लाग्ने व्यवस्था गरिएको छ। कारोबार सदस्यले सेयर बिक्रीपछि सम्बन्धित लगानीकर्तासँग हिसाब फर्छ्योट गरी सोको जानकारी नेप्सेलाई गराउनुपर्नेछ।
मार्जिन कारोबारका लागि कहाँबाट आउँछ पैसा?
कारोबार सदस्यले आफ्नै स्रोतबाट, बैंक तथा वित्तीय संस्थासँग ऋण लिएर र आफ्नो सेयरधनी वा सञ्चालकसँग सुरक्षणविनाको ऋण लिएर मार्जिन कारोबार स्ुविधा प्रदान गर्न सक्ने व्यवस्था गरिएको छ।
कार्यप्रक्रियामा भनिएको छ, ‘तर कारोबार सदस्यले सेयरधनी वा सञ्चालकसँग सुरक्षणविनाको ऋण लिँदा प्रचलित सूचीकृत संगठित संस्थासम्बन्धी कानुनमा भएको व्यवस्था पालना गर्नुपर्नेछ।’
यो सुविधा प्रदान गर्न बैंक तथा वित्तीय संस्थासाग लिएको ऋण र आफ्नो सेयरधनी वा सञ्चालकसँग लिएको सुरक्षणविनाको ऋण कारोबार सदस्यको नेटवर्थको ४.५ गुणाभन्दा बढी हुन नहुने उल्लेख छ। त्यसैगरी कारोबार सदस्यले कुनै एक ग्राहकको नगद तथा सेयरलाई अन्य ग्राहकलाई मार्जिन कारोबार दिनमा प्रयोग गर्न समेत रोकिएको छ। उसले आफ्नो प्रमाणित नेटवर्थको ५ गुणासम्म मार्जिन कारोबार सुविधा गराउन सक्नेछ।
त्यस्तै कारोबार सदस्यले कुनै एक ग्राहक तथा निजको एकाघरका सदस्य वा सम्बद्ध संस्थालाई मार्जिन सुविधा प्रदान गर्दा कारोबार सदस्यले प्रदान गर्नसक्ने कुल मार्जिन सुविधाको बढीमा १० प्रतिशतभन्दा बढी मार्जिन कारोबार सुविधा उपलब्ध गराउन नपाउने व्यवस्था गरिएको छ। कारोबार सदस्यले मार्जिन कारोबार सुविधा प्रदान गर्दा धितोपत्रअनुसार लगानी विविधीकरणलाई समेत ध्यान दिनुपर्नेछ। लगानीकर्तालाई आफ्नो कुल मार्जिन कारोबार सुविधा दिँदा कुनै एक धितोपत्रमा १० प्रतिशतको सीमा नबढ्ने गरी मार्जिन कारोबार सेवा उपलब्ध गराउनुपर्ने उल्लेख गरिएको छ।
हेर्नुहोस् कार्यप्रक्रिया
Shares

प्रतिक्रिया