करोडौ लाभ लिई त्रिभुवन अन्तराष्ट्रिय भन्सार कार्यालयबाट सुन तस्करलाई सहयोग पुर्याएको आरोपमा पूर्व सभामुख कृष्णबहादुर महरासहित २८ जनाविरुद्ध भ्रष्टाचारको आरोप दायर भएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार महारा र उनका छोरा राहुल महरासहितलाई प्रतिवादी बनाउँदै मुद्दा दायर गरेको हो।
विमानस्थल कार्यालयका कर्मचारीहरूसँग साँठगाठ गरी निरन्तर सुन तस्करलाई सहयोग पुर्याई अरबौँ राजस्व चुहावट गरी अकुत सम्पत्ति आर्जन गरेको अख्तियारको आरोप छ।
सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोग २०८० को प्रतिवेदन, भन्सार विभागका निर्देशकसमेतले पेस गरेको २०८० साउन २३ गतेको छानविन प्रतिवेदनका आधारमा अख्तियारले थप अनुसन्धान गरेको हो। प्रतिवेदनमा इलेक्ट्रिक सिगरेट (भेप) को एक्स–रे गर्ने, चेकजाँच गर्ने, जफत गर्ने, डिपोजिट गर्ने र कार्यालय प्रमुख समेतका कर्मचारीहरूले जिम्मेवारीपूर्वक काम गरेको नदेखिएको निस्कर्ष थियो।
२०७९ पुस १० गते चिनियाँ नागरिक लि हाङसङले ल्याएको २ वटा सुटकेशभित्र ७३ बट्टामा रहेको ७३० थान भेपभित्र सुन रहेको पुष्टि भएको थियो।
यसअघि उनीहरु मध्ये केहीलाई अपराधिक विश्वासघात र भन्सार चोरी पैठारी कसुरमा सजाय गरेको, सम्पत्ति शुद्धिकरण सम्बन्धी कसुरमा मुद्दा दायर भएको थियो।
यो मुद्दा हाल काठमाडौँ जिल्ला अदालतमा विचाराधिन छ। विमानस्थल भन्सार कार्यालयका कर्मचारीहरुले त्यतिबेला उक्त सुनसहितभेप जफत गर्ने भन्दै राखे पनि पछि सट्टा पट्टा गरेको खुलेको थियो। यसरी कर्मचारीले नै भेपको सुन गायब गरेको पुष्टि भएको छ।
विमानस्थल भन्सारमा भेप रोकिएपछि चिनियाँ नागरिकसँग रकम लिएर छुटाउन महराका बाबुछोरा लागेको आरोप छ। विमानस्थलबाट जफत गरिएको भेप तोकिएको गोदाममा बन्द गरी सुरक्षित राख्नुपर्नेमा सो नगरी लामो समयसम्म प्रमुख भन्सार अधिकृत मुक्ति प्रसाद श्रेष्ठकै कार्यकक्षमा राखेको खुलेको थियो।
अधिकृत श्रेष्ठले माघ २९ गते मात्र मुद्दा तथा लिलामी शाखामा पठाएका थिए। त्यहाँ कर्मचारीको मिलेमतोमा भेपबाट सुन निकालेको समेत खुलेको थियो।
पुस १० गते बाटनै प्रतिनिधि सभाका पूर्व सभामुख कृष्ण बहादुर महरा र उनका छोरा राहुलले सुन तस्करसँग मिलेमतो गरी अस्वाभाविक चलखेल गरी भन्सार विभागका प्रमुख भन्सार प्रशासक अरूण पोखरेल लगायतलाई समेत प्रभावमा पारेको अख्तियारको आरोप छ।
सुनसमेतका सामाग्रीहरू गैरकानुनी तवरबाट भन्सार कार्यालयबाट लैजान पटक पटक भेटघाट तथा फोन सम्पर्क गरेको तथ्य फेला परेको छ। तर कर्मचारीले उक्त भेपबाट सुन निकालेर लगिसकेको र कतिपय सामान नै साटेको पाइएको थियो।
भन्सारकै लिलामी शाखाका नासु रेवन्त खड्का, व्यापारी दिनेश बस्नेतसमेतले व्यापारी वेदप्रकाश अग्रवाल समेतसँग मिलेमतोमा भेपको सुन विक्रि गरेका थिए।
काठमाडौँको भद्रकालीमा पशुपति सुन चाँदी पसल संचालन गरी बस्ने भारतीय नागरिक साहेवराव पाण्डुरङ मरगले र अन्य भारतीय नागरिकहरूलाई उक्त सुन बिक्री बितरण गरेको पाइएको छ।
सुन बेचेर आएको रकम प्रतिवादीहरू दिपिका थापा, प्रेरणा थापा, ललिता थापा, डेक्सटर ट्राभल्स एण्ड टूर कम्पनीको खातामा जम्मा गरेका थिए।
प्रतिवादी राम केशव थापा क्षेत्री तथा अमृत कार्कीको नाममा जग्गा खरिद लगायतका आर्थिक कारोबारहरू गरेको समेत पाइएको छ। यसरी उनीहरुले ७ करोड ७८ लाख ६८ हजार ९५ रुपैयाँ बराबरको सम्पत्ति हिनामिना हानिनोक्सानी गरे गराएको अख्तियारको दाबी छ।
अख्तियारले यो मुद्दामा एक कम्पनी र २८ जनालाई प्रतिवादी बनाएको छ। जसमा त्रिभुवन विमानस्थल भन्सार कार्यालयका तत्कालीन प्रमुख भन्सार प्रशासक अरुण पोखरेल, प्रमुख भन्सार अधिकृत मुक्ति प्रसाद श्रेष्ठ, प्रमुख भन्सार अधिकृत अम्बिका प्रसाद खनाल, भन्सार अधिकृत रमेश कुमार खतिवडा, भन्सार अधिकृत सुबेन्द्र श्रेष्ठ, नायब सुब्बा सुवर्णाप्रभा केसी, नायब सुब्बा भुवनराज घिमिरे, नायब सुब्बा उमेश प्रसाद कोईराला, नायब सुब्बा रेवन्त खड्का र नायब सुब्बा मधुसुदन पोख्रेल छन्।
यस्तै महरा बाबुछोरा, निर्मल कुमार विक, लोकेन्द्र कुमार पौडेल, दिपेश बस्नेत, गोपाल सुवेदी, दिनेश बस्नेत, वेदप्रकाश अग्रवाल, राम केशव थापा क्षेत्री, अमृत कार्की, निमा गुरुङ, प्रेरणा थापा, ललिता थापा, दिपिका थापा, चिनियाँ नागरिक लि हाङ सङ, दाओजिङ वाङ, बेल्जियम नागरिक दावा छिरिङ, भारतीय नागरिक साहेव राव पाण्डुरङ मरगले र डेक्सटर ट्राभल्स एण्ड टूर कम्पनीलाई प्रतिवादी बनाइएको छ।
Shares

प्रतिक्रिया