ad ad

कारोबार


भवानी राणा भन्छिन् : निजी क्षेत्र कोमामा जानै लाग्यो, बचाउनुस्

भवानी राणा भन्छिन् : निजी क्षेत्र कोमामा जानै लाग्यो, बचाउनुस्

नेपालखबर
जेठ ५, २०७७ सोमबार १०:११,

पछिल्लो दुई महिनादेखि मुलुक लकडाउनमा गएका कारण आर्थिक गतिविधि ठप्प हुँदा निजी क्षेत्र कोमामा जाने अवस्था पुगेको नेपाल उद्योग वाणिव्य महासंघ अध्यक्ष भवानी राणाले बताएकी छिन्।

सोमबार भिडियो कन्फ्रेन्समार्फत पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष भवानी राणाले दुई महिनादेखि लकडाउन हुँदा मुलुकको अर्थतन्त्रका चक्रिय आर्थिक संकट आइपरेको बताइन्।

‘उद्योग व्यवसया बचाउन सकेनौं भने लकडाउनपछिको अवस्था झन कठिन हुने निश्चित छ’, राणाले भनिन्।

निजी क्षेत्रलाई कोमाबाट बचाउने गरी नीति तथा कार्यक्रममा व्यवसायीले दिएको सुझावलाई नसमेटिएको उनले बताइन्। निजी क्षेत्रको सुझावलाई सरकारले ध्यान नदिनु भनेको मुलुकको ६५ देखि ७० प्रतिशत योगदान रहेको निजी क्षेत्रलाई प्राथमिकतामा नराखेको उनले बताइन्।

‘करिब ३५ लाख रोजगारी दिएको निजी क्षेत्रलाई कोमाबाट बचाउन कुनै ठोस कार्यक्रम नआउँदा अत्यन्तै दुःखित भएका छौं’, राणाले भनिन्।

पछिल्ला केही दिनदेखि जिल्ला नगर उद्योग वाणिज्य संघ र प्रदेशका उद्योग वाणिज्य संघसँगका छलफलमा मुलुकभरका व्यवसायीहरुको अवस्था निकै डरलाग्दो अवस्थामा पुगेको उनले बताइन्।

‘अहिले व्यवसायीले जति पनि समस्या ल्याएका छन्। तिनीहरुको सम्बोधन नगर्ने हो भने उद्योगीहरु गर वा मरको अवस्थामा पुगेका छन्’, राणाले भनिन्, ‘समस्या धेरै छन्। त्यसमा राज्यले सहयोग गर्नुपर्छ।’

कच्चा पदार्थको अभाव, कामदारको अभाव, बजार अभाव भएकाले उद्योग चल्न सकेका छैनन्। चलेका केही उद्योग पनि ४० प्रतिशतभन्दा कम क्षमतामा चलिरहेका छन्। स्वदेश र विदेशमा गरेर करिब १० लाख मानिस बेरोजगार भइसकेका छन्। अझ थपिने अवस्था छ।

उत्पादित वस्तु बजारसम्म लान नसकिएको, तीनै तहका सरकारबीच समन्वय नभएको कारण गोदाममै वस्तुहरु नष्ट गर्नुपर्ने अवस्था आएको उनको भनाइ छ।

उनले भनिन्, ‘वस्तुहरुको म्याद गुज्रिँदै गएको छ। बैंक ब्याज, घरभाडाको समस्या धेरै छन्।’ यसतर्फ जोडिएका उद्योगलाई सम्बोधन गर्ने गरी कुनै पनि कार्यक्रम नल्याइएकोमा उनले दुःख व्यक्त गरिन्।

छिमेकी देशले राहतका प्याकेज ल्याइसकेको बताउँदै राणाले आर्थिक पुनरुत्थान कार्यक्रम तत्काल घोषणा गर्न आग्रह गरिन्।

निजी क्षेत्रले राहत मागेको भन्दा पनि सहयोग मागेको उनको भनाइ छ। निजी क्षेत्रले सरकारलाई सुझाव दिइसकेको र आगामी बजेटमा उक्त विषयहरुलाई सम्बोधन गर्न उनले आग्रह गरिन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .