कारोबार


कोरोना कोषमा रकम जम्मा गर्नेहरु भन्छन्– त्यो पैसाको खर्च विवरण पनि सार्वजनिक गर्नुपर्‍याे

कोरोना कोषमा रकम जम्मा गर्नेहरु भन्छन्– त्यो पैसाको खर्च विवरण पनि सार्वजनिक गर्नुपर्‍याे

सन्तोष न्यौपाने
जेठ १०, २०७७ शनिबार १४:३८,

कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा रकम जम्मा गरेका सहयोगीहरुले खर्चको विवरण पनि सार्वजनिक गर्न माग गरेका छन्।

कोष स्थापना भएको लामो समय भएको र ठूलो रकम जम्मा भएको अवस्थामा जसरी जम्मा गर्नेहरुको विवरण सर्वाजनिक गरिन्छ, त्यसरी नै खर्चको विवरण पनि सर्वसाधरणलाई जानकारी गराउन माग गरेका हुन्।

प्रधानमन्त्री तथा मन्त्रपरिषदको कार्यालयका अनुसार जेठ ७ गतेसम्म यस कोषमा २ अर्ब २७ करोड ९९ लाख ४५ हजारभन्दा धेरै रकम जम्मा भइसकेको छ। उक्त रकममध्ये कति कहाँ खर्च भयो भन्ने बारेमा भने सरकारले जानकारी गराएको छैन।

कोषमा निजी क्षेत्रबाट सबैभन्दा पहिला १ करोड रुपैया रकम जम्मा गर्ने घोषणा गरेको नर्भिक इन्टरनेसनल हस्पिटलका अध्यक्ष वसन्त चौधरीले कोषमा जम्मा भएको रकम कहाँ, कति र कसरी खर्च भइरहेको छ भन्ने जानकारी सार्वजनिक गर्नुपर्ने बताए।

‘कोषमा जम्मा भएको रकम कसरी प्रयोग भइरहेको छ भन्ने जनताले थाहा पाएमा अझ राम्रो हुन्थ्यो,’ चौधरीले भने, ‘जम्मा भएको थाहा हुन्छ तर खर्चबारे केहि थाहा हुदैन।’

खर्च विवरण सार्वजनिक नहुने र पारदर्शितामा शंका हुने भएकाले धेरै साथीहरुले नगदभन्दा आवश्यक सामग्री नै उपलब्ध गराउन सुझाएको चौधरी बताउँछन्।

उनले उक्त कोषमा १ करोड रुपैया दिने घोषणा गरेका थिए। जसमध्ये ५० लाख रुपैया नगद र ५० लाख रुपैया बराबरको स्वास्थ्य र अन्य सामग्री थिए।

‘त्यसरी सहयोग घोषणा गर्ने पहिलो व्यक्ति म नै हुँ,’ चौधरीले नेपालखबरसँग कुरा गर्दै भने, ‘त्यसरी घोषणा गर्दाको राम्रो पक्ष के भयो भने अन्य व्यवसायीले पनि सहयोग रकम घोषणा गर्न थाले।’

व्यवसायीहरु बीचमा पनि यस्तो सहयोग घोषणा गर्ने प्रतिस्पर्धा हुने भएकाले सुरुवात गर्नु महत्वपूर्ण हुने उनको भनाइ छ।

यसैबीच, कोष सञ्चालक समितिको बिहीबारको बैठकले ६ वटा अस्पताल र २० जिल्लामा केही रकम निकासा गर्ने निर्णय गरेको छ।

‘अस्तिको निर्णयअनुसार ६ वटा अस्पताललाई एक–एक करोड रुपैया निकासा दिने निर्णय भएको छ,’ कोष सञ्चालक समितिका सदस्य महालेखा नियन्त्रक गोपीनाथ मैनालीले नेपालखबरसँग भने, ‘अब कुन ठाउँमा कति रकम चाहिएको हो त्यो हेरेर ठूलो रकम निकासा गर्ने पनि निर्णय भएको छ।’

कोष सञ्चालक समितिले कोशी अस्पताल, गजेन्द्रनारायण अस्पताल, डडेल्धुरा अस्पताल, स्वास्थ्य अनुसन्धान परिषद लगायत ६ वटा अस्पताललाई एक–एक करोडका दरले निकासा दिने निर्णय गरेको थियो।

त्यसबाहेक कोरोना संक्रमण धेरै देखिएका २० जिल्लामा पनि केही रकम निकासा गर्ने निर्णय गरेको छ। अहिलेको समस्या पैसा अभाव भन्दा पनि अन्य रहेको मैनालीले बताए। स्थानीय तहमा अनुदानबाट पनि खर्च गर्न पाउने भएकाले रकम अभाव नभएको उनको भनाइ छ।

अबका दिनमा कुन ठाउँमा कति रकम चाहिएको हो त्यो मूल्याङकन गरेर रकम निकास गर्ने प्रकृया सुरु भइसकेको मैनालीले बताए। अर्को बैठकबाट ठूलो रकम दिन सुरु गरिनेछ।

अहिले दोहोरो रकम पर्न सक्ने र कहाँ कति आवश्यक छ भनेर थाहा नहुदा पनि निकासा नभएको समितिको भनाइ छ। रकम मागबारे स्वास्थ्य मन्त्रालयले अर्थ मन्त्रालयमा पेश गर्ने र अर्थले निकासा गर्ने प्रकृया छ।

संक्रमण बढ्दै जाँदा रकम आवश्यक पर्नेछ। अहिले कै रफ्तारमा संक्रमण बढ्ने हो भने ठूलो रकम आवश्यक पर्ने उनको भनाइ छ।

‘अहिलेसम्म जम्मा भएको २ अर्ब २८ करोड ठीकै रकम हो,’ मैनालीले भने, ‘यही रुपमा संक्रमण बढ्यो भने रकमको आवश्यक अझ बढी हुनसक्छ।’

त्यसरी हेर्दा अहिलेसम्म जम्मा भएको रकमलाई धेरै मान्न नसकिने उनको भनाई छ।

कोरोना रोकथाम तथा उपचारको लागि कोषमा रकम जम्मा भएकाले उद्देश्य अनुरुप रकम खर्च गर्दैजाने समितिको निर्णय छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .