कारोबार


हप्तामा एउटा नियमित अन्तर्राष्ट्रिय उडान अनुमति दिने तयारी

हप्तामा एउटा नियमित अन्तर्राष्ट्रिय उडान अनुमति दिने तयारी

नेपालखबर
असार ११, २०७७ बिहिबार १०:४३,

नेपालमा हवाइ सेवा सञ्चालन गर्दै आएका अन्तर्राष्ट्रिय विमान कम्पनीहरुलाई सातामा एउटा मात्रै उडान भर्ने गरी नियमित उडान सञ्चालन गर्न दिनेबारे छलफल सुरु भएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले निश्चित शर्तहरु पूरा गरे अन्तर्राष्ट्रिय उडान गर्न पाउने गरी खुकुलो बनाउने विषयमा छलफल सुरु गरेको हो।

तर विमान कम्पनीहरुले बोक्ने यात्रीहरुको अनिवार्य रुपमा पीसीआर परीक्षण गरेको हुनुपर्ने र नेपालको होटलमा १४ दिन क्वारेन्टिनमा राख्ने व्यवस्था गर्ने तयारी गरेको छ।

‘चार्टर्ड विमानमार्फत नेपाल आउने यात्रुले महंगो भएको गुनासो बढेपछि मन्त्रालयले शर्तहरु तोकेर नियमित उडानमा जाने कि भनेर छलफल सुरु गरेको छ’, मन्त्रालय स्रोतले भन्यो, ‘तर कुन–कुन देशमा यसरी खुला गर्ने भन्ने विषय भने त्यस देशमा कोरोनाको महामारी कति छ भन्ने विषयले पनि निर्धारण गर्नेछ।’

तर विदेशबाट नेपाल आएका कुनै पनि विमान कम्पनीको विमानमा पाँच जनाभन्दा बढी यात्रुमा नेपालमा जाँच गर्दा कोरोना संक्रमित भएको पुष्टि भएमा त्यस्तो विमान कम्पनीलाई एक साता उडानमा प्रतिबन्ध लगाइने गरी व्यवस्था गरिनेछ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले विभिन्न एयरलाइन्स कम्पनीहरुले हप्तामा एक उडान गर्न दिने गरी व्यवस्था गर्न माग गरिरहेको बताएको छ।

‘कहिलेबाट नियमित उडान गर्ने भन्ने त अझै तय भएको छैन’, प्राधिकरण स्रोतले भन्यो, ‘चार्टर्ड उडानमा भाडा महंगो तथा विभिन्न एयरलाइन्सले हप्तामा एउटा नियमित उडान गर्न चाहेको अवस्थामा मन्त्रालयले छलफल सुरु गरेको हो।’

सरकारले विदेशमा अप्ठ्यारो परेका नागरिकलाई जेठ ३२ देखि चार्टर्ड उडानमार्फत उद्धार गरेको छ। तर अप्ठ्यारोमा परेका नेपालीसँग चर्को भाडा असुल्ने गरी हवाइ चार्टर्ड भइरहेकाले नियमित उडान गर्न माग भइरहेको छ।

विदेशमा अप्ठ्यारोमा परेर फर्किएकाले अप्ठ्यारो समयमा पनि सरकारले डबल भाडा लिएको भन्दै सरकारको आलोचना गरिरहेका छन्। सर्वोच्च अदालतले टिकट काट्न नसक्नेलाई सरकारी खर्चमा ल्याउन आदेश दिए पनि सरकारले अझै कार्यविधि बनाउनसकेको छैन।
पछिल्लो समयमा विदेशस्थित नेपाली राजदूतहरुले समेत शर्तहरु तोकेर नियमित उडान गर्न आग्रह गर्दै आएका छन्।

असार २१ सम्म चार्टर्ड उडानको तालिका
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सुरुमा असार ११ सम्मको लागि ६७ उडान गर्ने बताएको थियो। जसमा नेपाल वायुसेवा निगमका २४, हिमालय एयरलाइन्स १९ र विदेशी एयरलाइन्सलाई २४ उडान गर्न दिने भनेको थियो।

तर नेपाल वायुसेवा निगमले उडान अनुमति नपाएको तथा नेपाली दूतावासले तयारी गर्न नसकेको भन्दै धेरै उडान रद्द गरेको छ। तर हिमालय एयरलाइन्सले भने धमाधम उडान गरिरहेको छ। नेपाल वायुसेवा निगमले भन्दा हिमालयले करिब दोब्बर उडान भरिसकेको छ।

हिमालयले सुरुमा मन्त्रालयले सार्वजनिक गरेको कोटाभन्दा बढी उडान गरिसकेको छ। हिमालय जहाजको उद्धार उडान कहिलेसम्म हुने निश्चित छैन।

निगमले नेपाली उद्धारको लागि अन्तिम उडान भने असार २१ मा कोरिया रहेको जानकारी दिएको छ।

‘अहिलेसम्मको अन्तिम तालिकामा अनुसार २० गते नेपाल एयरलाइन्सको जहाज कोरिया जानेछ र २१ गते नेपाली लिएर फर्किनेछ’, निगमकी प्रवक्ता अर्चना खड्काले भनिन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad