कारोबार


खेती सिन्धुलीमा, किसानको बास काठमाडौंः जुनार उत्पादन घट्यो

खेती सिन्धुलीमा, किसानको बास काठमाडौंः जुनार उत्पादन घट्यो

नेपालखबर
असार २५, २०७७ बिहिबार १०:४६,

सिन्धुलीका जुनार खेती गर्ने किसान काठमाडौंमा बस्दा जुनारको उत्पादनमा वृद्धि हुन नसकेको जुनार सुपरजोन परियोजना कार्यान्वयन शाखा सिन्धुलीले जनाएको छ।

परियोजनाका वरिष्ठ कृषि अधिकृत देवराज अधिकारीले केही ठूला किसानहरुको घर काठमाडौंमा भएको र गाउँमा जुनारको बगैचा भएकाले हेरचाह नहुँदा उत्पादन बढाउन नसकिएको बताए। अहिले सिन्धुलीमा २ हजार ५१ किसान परिवारले जुनार खेती गरेका छन्। तर त्यस मध्ये केही ठूला किसानहरुको घर काठमाडौंमा भएको र बगैंचामा हेरचाह गर्न नआउँदा किराले नष्ट पारेकाले जुनारको उत्पादन बढाउन नसकिएको अधिकारीले बताए।

उनले साना किसानहरुले किराका लागि प्रयोग गरिने विषादी खरिद गर्न रकम जुटाउन नसक्दा पनि उत्पादनमा वृद्धि गर्न नसकिएको बताए। परियोजनाले दिने सहयोग लिनका लागि पनि किसानले गर्नुपर्ने लगानी जुटाउन नसक्दा सहयोग परिचालन हुन नसकेको उनले बताए।

सिन्धुली जुनार खेतीका लागि सुपरजोन क्षेत्र हो। प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना अन्तर्गत जुनार सुपरजोनको रुपमा सिन्धुलीमा कार्यक्रम लागू गरिएको छ। व्यवसायिक जुनार खेतीको उत्पादन र उत्पादकत्व वृद्धि गरी उद्योगसम्म जोड्ने उद्देश्यले जुनार सुपरजोन कार्यक्रम कार्यान्वयनमा ल्याइएको अधिकारीले बताए।

यस्तै परियोजनाले जाली घर प्रविधिको प्रयोगबाट गुणस्तरीय विरुवा उत्पादन गर्ने कार्यक्रमलाई पनि अगाडि बढाएको छ। अहिले सिन्धुलीमा २०/२१ वटा नर्सरीबाट गुणस्तरीय विरुवाको उत्पादन भइराखेको छ। यस्तै जुनारमा लाग्ने किराको नियन्त्रणका लागि पनि परियोजनाले काम गरिराखेको छ। २०७०/०७१ मा यस क्षेत्रमा फल कुहाउने झिंगाले कुल उत्पादनको ६० प्रतिशत फल विगारेकोमा अहिले नियन्त्रणमा आई १५ प्रतिशतमा झरेको बताए।

जुनारको उत्पादन बढाउन र जुनार खेतीको अवस्थाको जानकारी लिन जुनार किसान परिचयपत्र कार्यान्वयनमा ल्याइएको छ। परिचयपत्र वितरण गरिएपछि जुनार खेतीको समग्र अवस्थाको विवरण लिन, किसानहरुको अवस्था जानकारी पाउन सहज भएको उनले बताए।

पछिल्लो समय जुनारको माग नेपाली बजारमा मात्र नभई अन्तर्राष्ट्रिय बजारबाट समेत हुने गरेकाले लगानी बढाई सिन्धुली जिल्लालाई जुनार स्टेटको रुपमा विकास गर्नुपर्ने अधिकारीले बताए।

सिन्धुलीको महाभारत क्षेत्र खासगरी सुनकोसी गाउँपालिकाको वडा नं ७ मजुवा, कमलामाई नगरपालिकाको वडा नं ३ जलकन्या, तीनपाटन गाउँपालिकाको वडा नं ७ श्यामखोला र गोलन्जोर गाउँपालिकाको वडा नं १ देखि ६ सम्मका क्षेत्र जुनारका लागि सुपरजोन क्षेत्र हुन्। सिन्धुलीमा वार्षिक करिब ९ हजार मेट्रिकटन जुनार उन्पादन हुँदै आएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad