सन्तोष लम्सालले झण्डै दुई दशक बेलायतमा बिताए। त्यहाँ बस्दा उनले म्याकडोनाल्ड जस्तो प्रतिष्ठित कम्पनीमा पनि काम गरे।
लामो परदेशको बसाइपछि उनलाई आफ्नै मातृभूमिमा व्यवसाय गर्ने रहर पलायो। मनमा तर्कना जाग्नथाल्यो– बेलायतको अनुभवलाई काठमाडौंमा किन प्रयोग नगर्ने?
त्यसको लागि उनीसँग फुड इन्डष्ट्रीमा १८ वर्ष काम गरेको अनुभव छँदै थियो। त्यही अनुभव बोकेर उनी सपरिवार काठमाडौं हानिए।

यता उनका साझेदार थिए मुक्ति दाहाल। उनीसँग पनि हायात होटलमा १० वर्ष काम गरेको अनुभव थियो।
दुवै जनाको मन र लक्ष्य मिल्यो। दुवैले जागिर छोडे र सुरु गरे– बालुवाटार प्यालेस ब्यान्क्वेट एण्ड एभेन्टस्। अर्थात् ‘पार्टी’ गर्ने ‘पार्टी प्लालेस’।
दुई वर्षको तयारीपछि ०७६ मंसिरमा व्यवसाय सुरु भयो।
‘दुई/तीन महिनामा व्यवसाय लयमा आइसकेको थियो’, गएको हप्ता कार्यस्थलमै भेटिएका दुई पार्टनरले आफ्नो व्यवसाय र लकडाउनको अनुभव सुनाए, ‘व्यवसायमा अलिकति ब्रेक लागेको छ। टिकाउने प्रयासमा छौँ।’
मंसिरमा व्यवसाय सुरु गर्दा उनीहरुलाई तीन–तीन महिनासम्म व्यवसाय बन्द गरेर घरमा बस्नुपर्छ भन्ने कल्पनाबाहिरको कुरा थियो।

उनीहरु दुवै व्यवसाय बन्द होइन, बरु रातदिन चलाउन चाहन्थे।
नयाँ व्यवसाय त्यो पनि बालुवाटारमा। प्रतिस्पर्धा निकै थियो। व्यवसायले लय लिँदै थियो। फागुनसम्म आइपुग्दा ग्राहकबाट सन्तुष्ट हुने गरी प्रतिक्रिया पाएका थिए।
‘वैशाखदेखि असारसम्म झन्डै ३५ वटा विवाहका पार्टीका बुक थिए’, लम्सालले भने, ‘धेरैको एड्भान्स रकम समेत फिर्ता गर्नुपरेको छ।’

वैशाखमा मात्र १५ वटा बुकिङ थिए। कोरोना संकटले ती सबै रद्द भए।
एड्भान्समा लिएको २ लाख ४५ हजार रुपैयाँ समेत फिर्ता गर्नुपरेको उनी बताउँछन्।
यो वर्ष खासै विवाहको लगन छैन भन्ने उनीहरुले थाहा पाएका छन्।
‘अब यो वर्षभरि मंसिरमा ४ वटा मात्र लगन छ रे’, दाहालले नेपालखबरसँग भने, ‘२०७७ त्यत्तिकै जाने भयो।’

५ करोडभन्दा धेरै लगानी भएको व्यवसायमा सुरु गर्नासाथ समस्या आयो। भाडा मासिक साढे तीन लाख तिर्नुपर्छ। अन्य प्रशासनिक खर्च त छँदै छ।
‘बैंकबाट फोन आइरहन्छ’, दाहालले सुनाए।
व्यवसाय जसोतसो चलाउनै पर्यो। तर, कसरी?
उनीहरुले अहिले एक आइडिया निकालेका छन्– ड्राइभ थ्रु।
‘ड्राइभ थ्रु’ विदेशमा चलेको चलन हो। जहाँ व्यस्त जीवनशैली छ। घरबाटै सामान अर्डर गर्छन्। गाडी ल्याउँछन् र गाडीबाटै सामान लिएर जान्छन्।
‘हामीले पनि त्यही शैली यहाँ सुरु गरेका छौँ’, उनीहरुले एकैस्वरमा भने, ‘जसोतसो बाँच्नको लागि केही नयाँ उपाय खोजेका छौँ।’

असार २० देखि व्यवसाय पुनः सञ्चालन गरेदेखि पार्टी प्यालेसलाई ‘ड्राइभ थ्रु’मा परिणत गरेका छन्।
गेटको नजिकै अर्डर स्टेसन छ। त्यहाँ ग्राहकले चाहेको खाना अर्डर हुन्छ। त्यसअगाडि रिसेप्सन राखेका छन्। त्यहाँबाट खाना लिन्छन् र लिएर जान्छन्।
यो सबै गाडीबाट नओर्लीकन गर्न सकिन्छ।
‘कतिले गाडीमै बसेर खान्छन् भने धेरैले लिएर जान्छन्’, उनीहरुले भने, ‘कोरोना भाइरसबाट बच्न उपभोक्ताले यो शैली मन पराएका छन्।’
हरेक दिन अर्डरको संख्या वृद्धि हुँदै गएको उनीहरु बताउँछन्।
सामाजिक सञ्जालबाट पनि उपभोक्तालाई यसबारे जानकारी गराएका छन्।
उनीहरुले होम डेलिभरी सेवा पनि सुरु गरेका छन्। २ किलोमिटर वरिपरि निःशुल्क सेवा छ भने त्यसभन्दा पर ठाउँअनुसारको शुल्क छ।
पार्टी प्यालेससँगै उनीहरु यहाँ रेष्टुरेन्ट, होटल तालिमको पनि तयारी गरेका छन्।

आफ्टर स्कुल पनि
उनीहरुले काठमाडौंका व्यस्त अभिभावकलाई लक्षित गरेर ‘आफ्टर स्कुल’ पनि सुरु गरेका थिए। पार्टी प्यालेसमा जस्तै यसमा पनि कोरोना संकट लाग्यो। जुन सञ्चालन हुन नपाउँदै स्कुल बन्द भए।
वैशाख १ देखि सुरु गर्ने भनेर तयारीमा थिए उनीहरु।
‘कार्यालय सबै तयारी आवस्थामा छ’, दाहालले भने, ‘बच्चाहरु ल्याउन नपाउँदै लकडाउन सुरु भयो।’
उनीहरुले स्कुल विदा भएपछि दिउँसो ३ बजेदेखि बेलुका ७ बजेसम्म बच्चा राख्ने, होमवर्क गराउने, खेलकुद, आर्टलगायतका कक्षा पनि उनीहरुले गर्ने तयारीमा छन्।
त्यो पनि उनीहरुले भाडा तिरेर मात्र बसेका छन्।
दुवै व्यवसायमा आशा मारिसकेका छैनन। संकट छिट्टै पार लाग्नेमा विश्वस्त छन् उनीहरु।

प्रतिक्रिया