ad ad

कारोबार


३० प्रतिशत आन्तरिक, २५ प्रतिशत अन्तर्राष्ट्रिय उडान गर्ने तयारी, ४–५ दिनमै कार्यविधि

३० प्रतिशत आन्तरिक, २५ प्रतिशत अन्तर्राष्ट्रिय उडान गर्ने तयारी, ४–५ दिनमै कार्यविधि

नेपालखबर
साउन १९, २०७७ सोमबार ११:५३,

नियमित उडान खोल्ने मिति नजिकिए पनि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले उडान कार्यविधि अझै बनाउनसकेको छैन।

साउन ५ गते बसेको मन्त्रिपरिषद् बैठकले भदौ १ गतेदेखि अन्तर्राष्ट्रिय र आन्तरिक उडान गर्ने निर्णय गरेको थियो। तर मन्त्रालयले साउन १९ गतेसम्म कार्यविधि अझै तयार नभएको बताएको छ।

‘मन्त्रालय कार्यविधि बनाउने तयारीमै जुटेको छ’, मन्त्रालयका प्रवक्ता कमल प्रसाद भट्टराईले भने, ‘४–५ दिनमा कार्यविधि बनिसक्ला।’

उनले आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान करिब एक चौथाइ मात्रै हुने गरी छलफल भइरहेको जानकारी दिए।

‘अन्तर्राष्ट्रिय उडान २५ प्रतिशत र आन्तरिक उडान ३० प्रतिशतसम्म गर्ने तयारी भइरहेको छ’, उनले भने।

मन्त्रालयले कार्यविधि बनाउने जिम्मा मन्त्रालयका सहसचिव बुद्धि सागर लामिछानेलाई दिएको छ।

यो पनि :
अन्तर्राष्ट्रिय उडानका लागि १२ एयरलाइन्सको प्रस्ताव

‘हामीले कार्यविधिको विषयमा छलफल गरिरहेका छौँ। कसरी कति उडान गर्ने टुगिएको छैन’, लामिछानेले नेपालखबरसँग भने।

मन्त्रालयले कार्यविधि नबनाउँदा एयरलाइन्स कम्पनीमा अझै अन्योल रहेका छन्।

‘कति उडान गर्न दिने, कुन गन्तव्यमा उडान गर्ने भन्ने स्पष्ट कार्यविधि नहुँदा राम्रो योजना बनाउनसकेका छैनौँ’, श्री एयरलाइन्सका प्रवक्ता अनिल मानन्धरले भने।

जहाज पूर्ण क्षमतामा उडान गर्ने कि ५० प्रतिशत मात्रै?
नेपाल नागरिक उड्डयन प्राधिकरण र हवाइ उड्डयन व्यवसायीबीच उडान संख्या कम भए पनि पूर्ण क्षमतामा उडान गर्ने सहमति भएको छ। प्राधिकरणले त्यहीअनुसार कार्यविधि बनाउन पहल गर्ने गरी ५ बुँदे सहमति भएको थियो।

तर मन्त्रालयका प्रवक्ता भट्टराईले मन्त्रालयले कार्यविधि नबनाएसम्म कति क्षमतामा उडान गर्ने निश्चिन नभएको बताउँछन्।

‘फुल क्षमतामा उडान गर्न अप्ठ्यारो पर्ने देखिन्छ। सार्वजनिक यातायातमा जस्तो ५० प्रतिशत क्षमतामा उडान गर्न पनि सकिन्छ’, उनले भने, ‘कोभिड १९ को जोखिम कम, यात्रुलाई बढी भार नपर्ने गरी कार्यविधि बन्छ।’

बुद्ध एयरका प्रवक्ता रुपेश जोशीले प्राधिकरणसँग फुल क्षमतामा उडान गर्न सकिने सहमतिअनुसार टिकट बुकिङ र प्याकेज ल्याएको बताएका छन्। बुद्धले दैनिक २१ उडान गर्ने तालिका सार्वजनिक गरेको छ। उसले देशका १३ गन्तव्यमा उडान गर्ने योजना सार्वजनिक गरिसकेको हो।

प्रवक्ता भट्टराईले हवाइ कम्पनीले फुल क्षमतामा टिकट बुकिङ गरेपनि मन्त्रालकले आधा क्षमता मात्रै बोक्न पाउने कार्यविधिअनुसार मात्रै बोक्न पाउने बताए।

यति एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले विश्वभर नै फुल क्षमतामा उडान भइरहेकाले नेपालले पनि सुरक्षा विधि अपनाई फुल क्षमतामा नै उडान गर्नुपर्ने बताए।

‘कार्यविधि पालना नगरे ५० प्रतिशत क्षमतामा उडान गर्दा मात्रै पनि जोखिम हुन्छ। कार्यविधि पूर्ण पालना गरे फुल क्षमतामा उडान गर्दा पनि जोखिम न्यूनीकरण गर्न सकिन्छ’, बर्तौलाले भने।

प्राधिकरणले अनौपचारिक रुपमा बुद्ध एयरले २१, यति एयरलाइन्सले १५, श्री एयरलान्सले ८, समिटले ३ उडान गर्न पाउने बताएको बताए। तर उडान कति हुने भन्ने कार्यविधिले तय गर्न मन्त्रालयले जनाएको छ।

हवाइ व्यवसायी र प्राधिकरणबीच बिहान ६ देखि साँझ ६ बजेसम्म उडान गर्ने, भदौको पहिलो हप्ता आन्तरिक टर्मिनल भवनमा प्रतिघण्टा ३ सय जना यात्रुहरुलाई सेवा दिने र सुरुको ५ दिन उडानको आधार हेरी उडान थप गर्ने वा कम गर्ने भन्नेमा पुनः निर्णय गर्ने सहमति भएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .