अघिल्लो दिन अर्थात् सोमबार कीर्तिमानी कारोबार गरेको सेयरबजारमा आज चार अर्ब कम रुपैयाँको सेयर खरिदबिक्री भएको छ।
नेपाल स्टक एक्सचेन्जका अनुसार आज ६ अर्ब ३ करोड रुपैयाँको कारोबार भएको हो। सोमबार अहिलेसम्मकै उच्च अर्थात् १० अर्ब ६१ करोडको सेयर किनबेच भएको थियो।
कारोबार मापन गर्ने नेप्से ३१.९० अंकले र क वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सिटिभ ५.२३ अंकले रातो भएका छन्। मंगलबार कारोबारमा सामेल १२ मध्ये दुईवटा समूहको सूचक मात्रै हरियो छ। बाँकी १० समूहको सूचक ओर्लिएको छ। आज विकास बैंक र फाइनान्सको मात्रै कारोबार सूचक हरियो भएको हो।
बजारमा आज १ सय ९२ कम्पनीको १ करोड २० लाख कित्ता सेयर बिक्री भएको हो। खुलेदेखि नै ओरालो लागेको बजारमा दिनभरिमा ५३ हजार ५ सय ३७ पटक खरिदबिक्री भएका छन्।
आज सेयर कारोबार गर्ने ब्रोकरहरुको अनलाइन प्रणालीमा समस्या भएपछि नेप्सेले ३ बजेर ३५ मिनेटसम्म लम्ब्याइएको थियो।
आज सेयरबजारमा ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाको सर्वाधिक कारोबार भएको नेप्सेले जनाएको छ। कम्पनीको २८ करोडको सेयर किनबेच भएको हो।
त्यसपछि प्रभु बैंक र ग्लोबल आईएमईको उच्च कारोबार भएको छ। आज कमाउने कम्पनीका लगानीकर्ताले ९.९२ प्रतिशतसम्म कमाएका छन् भने गुमाउने लगानीकर्ताले ५.८२ प्रतिशतसम्म गुमाएका छन्।
Shares

प्रतिक्रिया