नेपाली सिमेन्ट उद्योगले पहिलो पटक ४३ ग्रेडको मान्यता पाएका छन्।
सरकारले केहि महिनाअघि मात्र नेपालका सिमेन्ट उत्पादनलाई ३३ ग्रेडको मान्यता दिन सुरु गरेको थियो।
त्यसभन्दा एक कदम अघि बढ्दै अहिले नयाँ तीन उद्योगलाई ४३ ग्रेडको मान्यता दिएको छ।
उद्योग मन्त्रालय अन्गर्गतको नेपाल गुणस्तर तथा नापतौल विभागले हालै तीन वटा सिमेन्ट उद्योगको ग्रेड तोकेको छ।
विभागका एक अधिकारीका अनुसार शिवम् सिमेन्ट, शुभश्री अग्नी सिमेन्ट र मारुती सिमेन्टले ४३ ग्रेडको मान्यता पाएका हुन्।
‘शिवम् सिमेन्टले करिब १ महिनाअघि नै ४३ ग्रेडको मान्यता पाएको थियो, बाँकी दुईलाई चाहिँ केहि दिनपहिले मात्र दिइएको हो,’ ती अधिकारीले भने।
सरकारले नेपाली सिमेन्ट उद्योगलाई ४३ र ५३ ग्रेड नतोक्दा विदेशी सिमेन्ट उद्योगसँग प्रतिस्पर्धा गर्न नपाएको सिमेन्ट उद्योगीले गुनासो गर्दै आएका थिए।
ठुला सिमेन्ट उद्योगहरुमध्ये अरुले पनि गुणस्तर तथा नापतौल विभागमा ग्रेड वृद्धिको निवेदन दिइसकेका छन्। तीमध्ये विभागले यसपटक तीनवटा उद्योगलाई मात्र ४३ ग्रेडका लागि छनौट गरेको हो।
‘अधिंकाश ठूला उद्योगले ग्रेड वृद्धिको लागि निवेदन दिइसकेका छन्,’ विभागका एक अधिकारीले नेपालखबरसँग भने ‘हालसम्म तीन उद्योगले मात्रै ४३ ग्रेडको मान्यता पाएका छन् अन्यको हकमा उत्पादनको गुणस्तर परीक्षण हुँदैछ।’
विभागले निवेदन दिएका उद्योगको नमूना संकलन गरी ल्याबमा परीक्षण गर्छ। परीक्षणका क्रममा तोकिएको मापदण्ड पुरा गरेको पाइएमा मात्रै सो गे्रड दिइन्छ। त्यसपछि विभागले तोकेको मापदण्ड पुरा गरेका सिमेन्टको प्रस्ताव नेपाल गुणस्तर परिषदमा पठाउँछ। परिषदले पास गरेपछि मात्रै मापदण्ड पुगेको उद्योगले ग्रेड वृद्धिको प्रमाणपत्र पाउँछ।
विभागले ल्याएको प्रस्ताव परिषदलाई उपयुक्त नलागेमा उसले अस्वीकृत पनि गर्नसक्छ।
सामान्य पूर्वाधार निर्माणका लागि ३३ ग्रेडको सिमेन्ट प्रयोग गरिन्छ। ठूला पूर्वाधारका परियोजनामा ४३ ग्रेडको सिमेन्ट प्रयोग हुन्छ।
उद्योगीहरुका अनुसार बढी संवेदनशील प्रकृतिका संरचना निर्माणमा भने अझ ५३ ग्रेडको सिमेन्ट प्रयोग गर्नुपर्ने हुन्छ।
अहिले नेपालमा सञ्चालित उद्योगले ३३ ग्रेडको सिमेन्ट उत्पादन गर्दै आएका छन्। विभागले गत माघमा सबै सिमेन्ट उद्योगलाई ३३ ग्रेडको गुणस्तर कायम गर्नैपर्ने र सोहिअनुसार उनीहरु प्याकेजिङमा स्पष्ट उल्लेख गर्न अनिवार्य गरेको थियो।
करिब १ वर्षअघि नेपाल गुणस्तर परिषद्को बैठकले साधारण पोर्टल्यान्ड सिमेन्ट (ओपीसी)को ग्रेड ४३ र ५३ निर्धारण गर्ने निर्णय गरेको थियो। त्यसपछि प्रक्रिया सुरु भई केहि महिनाअघि नेपाली सिमेन्टले आफ्ना उत्पादनलाई ३३ ग्रेडको मापदण्डअनुसार बनाएका थिए।
त्यसपछि उत्पादनहरुको थप स्तरोन्नति गर्दै तीन सिमेन्टले ४३ ग्रेडको मान्यता पाएका छन्। उनीहरुले सो अनुसार आफ्ना उत्पादन बजारमा ल्याइसकेका छन्। नेपाली उद्योगले अहिलेसम्म ५३ ग्रेडको सिमेन्टको प्रमाणपत्र भने पाएका छैनन्।
नेपाल गुणस्तर तथा नापतौल विभागले ओपीसी सिमेन्टमा ३३ ग्रेडको मात्रै प्रमाणपत्र दिँदा ठूला आयोजनामा समेत नेपाली सिमेन्ट प्रयोग हुन नपाएको उद्योगीले गुनासो गर्दै आएका थिए।
केहि ठुला उद्योगले ४३ ग्रेडको प्रमाणपत्र नपाए पनि आफूहरुले सोहि मापदण्डअनुसारको सिमेन्ट उत्पादन गरिरहेको दाबी गर्ने गरेका छन्।
नेपाली सिमेन्टले ४३ ग्रेडको मान्यता नपाउँदा पोखरा विमानस्थलजस्ता ठूला आयोजनाले विदेशबाटै सिमेन्ट आयात गरी प्रयोग गर्दै आएका छन्।
विमानस्थलले आयोजनामा प्रयोग गर्ने गरेको सिमेन्टको ग्रेडअनुसार नेपाली सिमेन्टको स्तर नपुग्दा लकडाउनको समयमा काम प्रभावित भएको बताएको थियो। परियोजनाले लकडाउनका बेला भारतबाट सिमेन्ट नआउँदा काम नै रोक्नुपरेको जनाएको थियो।
नेपाल सिमेन्ट उद्योग संघका अध्यक्ष ध्रुब थापाले नेपाली सिमेन्टको गुणस्तरमा कुनै कमी नभए पनि आयोजनाले तोकेअनुसारको ग्रेड विभागले नदिएका कारण ती आयोजनामा विदेशी सिमेन्ट खपत हुने गरेको बताए।
‘जुन आयोजनामा बाहिरबाट सिमेन्ट ल्याउँदा करमा छुट पाएका छन् तिनीहरुले बाहिरबाट ल्याएका हुन्,’ संघका अध्यक्ष ध्रुब थापा भन्छन्, ‘कतिपय इन्जिनियरले ग्रेडिङ नलेखेको सिमेन्ट प्रयोग गर्न नमान्दा बाहिरबाट ल्याउनुपरेको हो। गुणस्तरमा हाम्रा उत्पादनमा पनि कुनै कमी छैन।’
पछिल्लो समय अरुण तेस्रोजस्तो ठूला जलविद्युत आयोजनामा समेत नेपाली सिमेन्ट प्रयोग भैरहेको थापाले बताए।
हाल नेपालमा करिब ६० सिमेन्ट उद्योग सञ्चालनमा छन्। यस्तै कारण देखाई सिमेन्टको खपत कम हुँदा नेपाली उद्योगहरुको पूर्ण क्षमताको ५० प्रतिशत मात्रै उत्पादन भइरहेको थापाको उनीहरुको दाबी छ।
नेपालमा उत्पादन भएको सिमेन्टको ग्रेडिङ तोक्दा विदेश निर्यातका लागि समेत राम्रो हुने उद्योगीहरुको भनाइ छ।
उद्योगीका अनुसार ३३ ग्रेडमा उत्पादन भइरहेको सिमेन्टलाई ४३ र ५३ ग्रेडमा स्तरोन्नति गर्दा चुनढुंगा र कोइला राम्रो गुणस्तरको प्रयोग गर्नुपर्छ।
३३ ग्रेडको सिमेन्ट व्यक्तिगत घर बनाउन प्रयोग हुन्छ। ठूला पुल, जलविद्युत, हाउजिङ, विमानस्थललगायतको निर्माण आयोजनामा भने ४३ र ५३ ग्रेडको सिमेन्ट प्रयोग गरिन्छ।
गुणस्तर तथा नापतौल विभागले प्याकेजिङमा ग्रेड उल्लेख गर्दा ग्रेडको अक्षरको आकार कम्तिमा अहिले ओ.पी.सी. लेख्ने गरेको अक्षरको आकारअनुरुप गर्न अनिवार्य गरेको छ।
ओ.पी.सी. ४३ ग्रेडको प्याकेजिङमा एक फन्को रिंग बस्नेगरी मध्य भागमा ५ देखी १० सेमीसम्मको एउटा पट्टी हुनुपर्ने छ।
ओ.पी.सी. ५३ ग्रेडको प्याकेजिङमा एक फन्को रिंग बस्नेगरी दुवै छेउमा पनि ५ देखी १० सेमीको हुनुपर्ने छ। ५३ ग्रेड सिमेन्टका बोराको पृष्ठभागको रंग सेतो हुनुपर्ने समेत विभागले तोकेको छ।

प्रतिक्रिया