ad ad

कारोबार


१ वर्षमा कुन कम्पनीले कति रुपैयाँको गर्छन् गाडी बिक्री?

यस्तो छ ११ कम्पनीको आम्दानी र व्यापारको अवस्था
१ वर्षमा कुन कम्पनीले कति रुपैयाँको गर्छन् गाडी बिक्री?

वसन्त अर्याल
साउन २७, २०७९ शुक्रबार १२:४६, काठमाडौँ

कोभिड महामारीपछि अटो बजारमा उछाल आएको तथ्यांकले देखाएको छ। 

आर्थिक वर्ष २०७६/०७७ मा व्यवसाय घटे पनि आव २०७७/०७८ पछि बढ्दै गएको देखिएको हो। गत आर्थिक वर्षमा अधिकांश कम्पनीको व्यापार बढेको छ। 

कम्पनीहरुको मुख्य आम्दानी सवारीसाधन बिक्रीबाट हुन्छ भने स्पेयर पार्ट्स र सर्भिसबाट पनि आम्दानी गर्दै आएका छन्। गत चैतसम्म राम्रो व्यवसाय भएको देखिए पनि सरकारले गत वैशाखदेखि डिजेल पेट्रोलका गाडी र २५० सीसीमाथिका मोटसाइल आयातमा पूर्णतया बन्देज लगाउँदा व्यापार घट्ने देखिएको छ। 

सरकारले भदौ १४ सम्मको लागि १५० सीसीमाथिका मोटरसाइकलको आयातमा समेत पूर्ण बन्देज लगाएको छ। विगतका वर्षमा राम्रै आम्दानी गरेका कम्पनीहरुले भने यो आयात बन्देजले आम्दानी घट्ने बताएका छन्। 

अटो व्यवसायीका अनुसार करिब ४० प्रतिशत व्यापार दशैं तिहारजस्ता चाडपर्वको समयमा हुने गरेको छ। भदौसम्मको आयात प्रतिबन्धले चाडपर्वमा समेत व्यापारमा असर पर्ने बताउँछन्।   
 

कुन कम्पनीको कस्तो छ व्यापार ?


आईएमई मोटर्स

आईएमई मोटर्स प्राइभेट लिमिटेडले गत आवको नौ महिनामा २ अर्ब ६७ करोड ५० लाख रुपैयाँको कारोबार गरेको छ। कम्पनीले गत चैतसम्म उक्त परिमाणको सञ्चालन आम्दानी हो। 

कम्पनीको आम्दानीमा ट्रक सेगमेन्टको सबैभन्दा धेरै छ। आम्दानीको ३७ प्रतिशत ट्रक, टिप्परको २७ प्रतिशत, बसको १९ प्रतिशत र हलुका सवारीको १७ प्रतिशत व्यवसाय गरेको छ। 

आईएमई मोटर्सले आर्थिक वर्ष २०७७/०७८ मा २ अर्ब ६३ करोड १० लाख, आव २०७६/०७७ मा २ अर्ब ८ करोड, २०७५/०७६ मा ३ अर्ब २१ करोड  रुपैयाँको सञ्चालन आम्दानी गरेको थियो। पछिल्ला २ वर्षमा घटेको व्यापार गत आर्थिक वर्षमा अशोक लेल्यान्डका ट्रक बिक्रीले व्यापार बढाएको छ। 

सन् २०१० मा स्थापना भएको आईएमई मोटर्स अशोक लेल्यान्डको एकमात्र अधिकृत बिक्रेता हो। कम्पनीले अशोक लेल्यान्डको पूरै सीभी सेग्मेन्टका बस, इन्टरमिडिएट कमर्सियल भेहिकल (आईसीभी), लाइट कमर्सियल भेहिकल (एलसीभी), मिडियम कमर्सियल भेहिकल (एमसीभी) ट्रकहरु र टिपरको बिक्री गर्छ। 

आईएमई मोटर्समा आईएमई ग्रुपका अध्यक्ष चन्द्र ढकालको ४७.५ प्रतिशत र आईएमई ग्रुप प्रालिको ३२.५ प्रतिशत सेयर स्वामित्व छ। बाँकी २० प्रतिशत सेयर सन्दीप अग्रवालको छ। 

किया 
नेपालमा किया गाडीको आधिकारिक बिक्रेता कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेस प्रालिले गत आर्थिक वर्षको ६ महिना मै ६ अर्ब बढी आम्दानी गरेको छ। गत साउनदेखि पुससम्म ६ अर्ब ६ करोड सञ्चालन आम्दानी गरेको छ। 

आर्थिक वर्ष २०७७/०७८ मा कम्पनीले १० अर्ब ९६ करोड आम्दानी गरेको थियो। २०७६/०७७ मा कम्पनीले ४ अर्ब ८९ करोड र २०७५/०७६ मा ५ अर्ब १६ करोड सञ्चालन आम्दानी गरेको छ। 

कम्पनीको आम्दानी ७७ प्रतिशत कियाका प्यासेन्जर भेहिकलबाट हुँदै आएको छ। त्यसमा कियाको सेल्टसको ५३ प्रतिशत हिस्सा रहेको छ भने सोनेटको २० प्रतिशत रहेको छ।   

कन्टिनेन्टल ट्रेडिङ इसुजु ब्रान्डका गाडीको पनि आधिकारिक बिक्रेता हो। यसबाहेक कोमात्सु र ओकादा ब्रान्डको निर्माण सामग्री र ओटिस ब्रान्ड एलिभेटरको पनि कम्पनीले बिक्रेताको काम गर्दै आएको छ। 

निसान र ड्याटसन 
नेपालमा निसान र ड्याट्सन गाडीको बिक्रेता पायोनियर मोटोकर्पको सञ्चालन आय १ अर्ब १४ करोड बढेको छ। आर्थिक वर्ष २०७७/०७८ मा  कम्पनीले ३ अर्ब ७४ करोड आम्दानी गरेको छ। २०७६/०७७ मा पायोनियरले २ अर्ब ५९ करोड र २०७५/०७६ मा ३ अर्ब २३ करोड रुपैयाँ आम्दानी गरेको थियो। 

सन् २०१४ को अगस्टमा स्थापना भएको पायोनियर मोटो कर्प निसान र ड्याट्सनको आधिकाारिक बिक्रेता हो। कम्पनीमा सन्दीप कुमार सारडाको शतप्रतिशत सेयर रहेको छ। उनी नै यसका प्रबन्धनिर्देशक हुन्। पायोनियर मोटोकर्पले निशान ब्रान्डबाट ८० प्रतिशत आम्दानी गरेको छ। जसमा निशान किक्स र म्याग्नाइटको हिस्सा बढी छ। 

कम्पनीले स्पेयर र एसेसरिज तथा दुवै ब्रान्डको सर्भिसिङ उपलब्ध गराउँदै आएको छ। यसका तीन शोरुम र सेल्स आउटलेट छन्। दुईवटा काठमाडौंमा र एउटा विराटनगरमा रहेका छन् भने १० वटा क्षेत्रीय डिलरसिप आउटलेट मुख्य सहरहरुमा रहेका छन्।  

महिन्द्राको बिक्री २१ प्रतिशतले बढ्यो
महिन्द्राको आधिकारिक बिक्रेता अग्नी इन्कर्पोरेटेडको २१ प्रतिशतले बिक्री बढेको छ। कोभिड महामारीको कारण आर्थिक वर्ष २०७६/०७७ मा ४२ प्रतिशतले व्यापार घटेको थियो। कम्पनीको आम्दानी मुख्य कमर्सियल भेहिकलबाट गर्दै आएको छ। 

आर्थिक वर्ष २०७७/०७८ मा पिकअप र ट्राक्टरको ५६ प्रतिशतले बढ्दा प्यासेन्जरको २१ प्रतिशतले घटेको छ। २०७६/०७७ मा ९ अर्ब ४९ करोड रुपैयाँको आम्दानी हुँदा २०७७/०७८ मा १२ अर्ब १ करोडको आम्दानी गरेको छ। कोभिडअघि अग्नीको व्यापार वार्षिक १६ अर्ब ३५ करोड रुपैयाँ रहेको थियो। कमर्सियल भेहिकलमा ७६ प्रतिशत र प्यासेन्जर भेहिकलमो २४ प्रतिशत बजार हिस्सा छ। अग्नी इन्कर्पोरेटमा क्याबिनेट श्रेष्ठ, सुसन बैद्य श्रेष्ठ र अर्जुन प्रसाद शर्माको सेयर छ।

भारतबेञ्ज
ओम्नी मोटर्स प्रा.लिले १ वर्षमा २ अर्ब १ करोड रुपैयाँ आम्दानी गरेको छ। भारतबेन्जको आधिकारिक बिक्रेता ओम्नी मोटर्सले २०७७/०७८ मा २ अर्ब १ करोडको आम्दानी गर्दा २०७६/०७७ मा १ अर्ब ४१ करोड रुपैयाँको आम्दानी गरेको थियोे। 

महामारीको समयमा घटेको व्यापार २०७७/०७८ मा ४२ प्रतिशतले बढेको छ। राजेन्द्र काब्रा अध्यक्ष रहेको कम्पनीले वीरगन्जबाट सञ्चालन गरिरहेको छ। कम्पनीले नेपालमा मुख्यतः ट्रकहरुको बिक्रीवितरण गर्दै आएको छ। 

टोयोटा 
टोयोटाको आधिकारिक बिक्रेता युनाइटेड ट्रेडर्स सिन्डिकेट प्रा.लिले पछिल्लो ६ महिनामा ४ अर्ब ४४ करोड रुपैयाँका सवारी बिक्री गरेको छ। कम्पनीले गत साउनदेखि पुस मसान्तसम्म मात्रै अघिल्लो १ वर्षमा बिक्री गर्ने बराबारका सवारीसाधन बिक्री गरेको छ। 

कम्पनीले २०७७/०७८ मा ४ अर्ब ८४ करोड कारोबार गरेकोमा २०७८/०७९ को ६ महिनामा ४ अर्ब ४४ करोड रुपैयाँका सवारीसाधन बिक्री गरेको छ। आर्थिक वर्ष २०७६/०७७ मा कम्पनीको सञ्चालन आम्दानी ३ अर्ब ३० करोड रुपैयाँ थियो। 

सन् १९७१ मा विजय वैद्यले स्थापना गरेको कम्पनीले १९६७ देखि नै टोयोटाको गाडी, पार्ट्स र सर्भिस दिइरहेको छ। कम्पनीमा सुरज वैद्यको ६०, ऋतु वैद्यको ३० प्रतिशत र सुसान वैद्यको १० प्रतिशत सेयर छ। 

कम्पनीले आर्थिक वर्ष २०७६/०७७ मा ३१० युनिट गाडी बिक्री गरेकोमा ०७७/०७८ मा ५२६ वटा गाडी बिक्री गरेको छ। साउनदेखि गत पुससम्म कम्पनीले ३०५ वटा गाडी बिक्री गरेको छ। 

दुगड ब्रदर्स
दुगर्ड ब्रदर्स एन्ड सन्सले १ वर्षमा अटो मोबाइल्स व्यवसायबाट ४ अर्ब ६५ करोड रुपैयाँ सञ्चालन आम्दानी गरेको छ। कम्पनीले आव २०७६/०७७ को तुलनामा झण्डै दोब्बरले आम्दानी बढाएको हो। कम्पनीले ०७६/०७७ मा २ अर्ब ९६ करोड रुपैयाँको सञ्चालन आम्दानी गरेकोमा ०७७/०७८ मा ४ अर्ब ६५ करोड रुपैयाँ सञ्चालन आम्दानी रहेको छ। 

आव २०७५/०७६ मा ३ अर्ब ९१ करोड रुपैयाँको सञ्चालन आम्दानी गरेको थियो। दुगड ब्रदर्सले १ वर्षमा १० हजार ५८ वटा युनिट साधन बिक्री गरेको छ। अघिल्लो वर्ष ५ हजार ६८८ युनिट बिक्री गरेको थियो। 

कम्पनीले पछिल्लो गत साउनदेखि पुस महिनामा २ अर्ब ५० करोड आम्दानी गरेको छ। ६ हजार १०७ युनिट बिक्रीबाट कम्पनीले उक्त आम्दानी गरेको हो। 

कम्पनीले नेपालमा महिन्द्रा हलुका तथा ठूला ढुवानीका गाडी बिक्री गर्छ। त्यसबाहेक प्रिमियम स्कुटर भेस्पा र अप्रिलाका दुईपांग्रे बिक्री गरिरहेको छ। 


 
रेनो 
एडभान्स अटो मोबाइल्सले ८२.२६ प्रतिशतले व्यापार वृद्धि गरेको छ। रेनो मोटर्सको आधिकारिक बिक्रेता एडभान्स अटो मोबाइल्सले व्यापार बढाएको हो। 

एडभान्स अटो मोबाइल्सले आर्थिक वर्ष २०७६/०७७ को तुलनामा आव २०७८/०७९ मा ८२.२६ प्रतिशतले व्यापार वृद्धि गरेको छ। कम्पनीले उक्त वर्ष १ अर्ब ६६ करोड रुपैयाँको व्यापार गरेको छ। सन् २०२२ मा उसले २ अर्ब २८ करोड रुपैयाँ आम्दानी गरेको छ। 
 
विशाल ग्रुपअन्तर्गतको रहेको एडभान्स अटो मोबाइल्सले फ्रेन्च ब्रान्ड रेनो बिक्रीवितरण गर्दै आएको छ। २०७६/०७७ मा कोभिडको कारण ५१.३७ प्रतिशतले घटेको व्यापार २०७७/०७८ मा बढेको देखिएको छ। कम्पनीले करअघिको नाफा ८.७३ प्रतिशत सुधार गरेको छ।  

कम्पनीले आर्थिक वर्ष २०७६/०७७ मा ३११ गाडी बिक्री गरेकोमा २०७७/०७८ मा ६१८ युनिट गाडी बिक्री गरेको छ। साउनदेखि चैत मसान्तसम्म ८३४ युनिट गाडी बिक्री गरेको छ। कम्पनीले यो अवधिमा कम्पनीले २ अर्ब २८ करोड रुपैयाँ आम्दानी हुने भएको छ। 

एडभान्स अटोमोबाइल्स प्रालि २०१३ सालमा स्थापना भई २०१६ मा रेनोको आधिकारिक बिक्रेता बनेको थियो। कम्पनीले नेपालमा रेनोका प्यासेन्जर भेहिकलसँगै सर्भिस र पाट्र्सको व्यापार गरिरहेको छ।

होन्डाको मार्केट सेयर २७ प्रतिशत
होन्डाको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ कम्पनी प्रालिले एक वर्षमा १३ अर्ब ४२ करोड रुपैयाँका सवारीसाधन तथा तिनका पार्ट्स बिक्री गरेको छ। कोभिड महामारीको समयमा समेत होन्डाले आम्दानी बढाएको छ। कम्पनीले आव २०७६/०७७ मा ११ अर्ब ४६ करोड रुपैयाँका सवारीसाधन बिक्री गरेको छ भने २०७५/०७६ मा १४ अर्ब १८ करोड रुपैयाँ सञ्चालन आम्दानी थियो। 

कम्पनीले २०७७/०७८ मा व्यापार १७ प्रतिशतले बढेको छ। २०७८/०७९ को ४७ प्रतिशतले बढेको छ। २०७६/०७७ मा २० प्रतिशतले व्यापार घटेको थियो। हाल कम्पनीको व्यापार बढ्नुमा दुईपांग्रे सवारीको ९२ प्रतिशत, स्पेयर पार्ट्स र सर्भिसको ७ प्रतिशत रहँदा १ प्रतिशत मात्रै कार बिक्रीबाट आम्दानी गर्दै आएको छ। 

२०७८ मा होन्डा दुईपांग्रेकोको मार्केट सेयर २८ प्रतिशत छ। सन् १९७६ मा स्थापना भएको कम्पनीमा सौरभ ज्योती अध्यक्ष छन्। कम्पनी नेपालमा होन्डा दुईपांग्रे, होन्डा कार र होन्डा पावर प्रोडक्ट बिक्री गर्दै आएको छ। 

रोयल इन्फिल्डका ८ हजार ७६३ मोटरसाइल बिक्री
हाल आधिकारिक बिक्रेता खोसिएको विवेक अटो मोबाइल्सले १ वर्षमा ८ हजार ७६३ वटा बिक्री गरेको थियो। कम्पनीले २०७७/०७८ मा ५६.८७ प्रतिशतले आफ्नो कारोबार वृद्धि गरेको थियो। 

आर्थिक वर्ष २०७७/०७८ मा ६ अर्ब ५७ करोड रुपैयाँको सञ्चालन आम्दानी गरेको छ। २०७६/०७७ मा ४ अर्ब १८ करोड रुपैयाँको आम्दानी गरेको थियो। कम्पनीले २०७७/०७८ मा ८ हजार ७६३ वटा साधन बिक्री गर्दा अघिल्लो वर्ष ६ हजार १३३ वटा बिक्री गरेको थियो। 

गत साउनदेखि पुस मसान्तसम्म कम्पनीले ५ हजार ५८५ युनिट साधन बिक्री गरेको छ। ६ महिनामा कम्पनीले ३ अर्ब ३२ करोड रुपैयाँ सञ्चालन आम्दानी गरेको छ। 

सुजुकी मोटरसाइकल 
सुजुकीको दुईपांग्रे भीजी अटोमोबाइल्स प्रालिले १ वर्षमा १ अर्ब २५ रुपैयाँको कारोबार गरेको छ। कम्पनीले आर्थिक वर्ष २०७७/०७८ १ अर्ब २५ आम्दानी गर्दा २०७६/०७७ मा १ अर्ब २१ करोड रुपैयाँको आम्दानी गरेको छ। 

विशाल ग्रुपअन्तर्गतको कम्पनीले २०७७/०७८ मा ४ हजार ४५६ युनिट बिक्री गरेको छ। २०७६/०७७ मा ४ हजार २४० युनिट मोटरसाइकल तथा स्कुटर बिक्री गरेको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .