चाडपर्व नजिकिएसँगै दुईपांग्रे बिक्रेताले आकर्षक अफर सार्वजनिक गरेका छन्। अधिकांश कम्पनीले दशैँ र तिहारलाई लक्षित गर्दै अफर सार्वजनिक गरेका हुन्।
कोभिड महामारीपछि दुईपांग्रे सवारीसाधनको बिक्री एकदमै उच्च रहेकोमा हाल व्यापार सुस्त छ। चाडपर्व लक्षित अफरले पछिल्लो समय सुस्ताएको अटो बजारलाई चहलपहल गराउने व्यवसायीले विश्वास गरेका छन्।
सरकारले हाल १५० सीसीमाथिका मोटरसाइकल आयातमा प्रतिबन्ध लगाएको छ। तयारी अवस्थाका मोटरसाइकल आउनसक्ने अवस्था छैन। एसेम्बल गर्ने कम्पनीले भने आयात गर्न पाउँछन्।
अटो व्यवसायीका अनुसार नेपालमा एसेम्बलिङ गर्ने बजाज र टीभीएसका १५० सीसीमाथिका मोटरसाइकल बजारमा उपलब्ध छन्। अरु कम्पनीसँग १५० सीसीका मोटरसाइकल सीमित छन्।
२०७९ को दशैँ तिहारमा अधिकांश १५० सीसीभन्दा कमका मोटरसाइकल तथा स्कुटर बिक्री हुनेछन्। अटो कम्पनीले मोटरसाइकल तथा स्कुटर खरिदमा ५० लाख रुपैयाँसम्म बम्पर अफर ल्याएका छन्। कम्पनीहरुले २५ प्रतिशतसम्म डाउन पेमेन्ट, १ प्रतिशत ब्याज, २५ हजारसम्म छुट अफर गरेका छन्।
कुन कम्पनीको कस्तो अफर?

यामाहा फेस्टिभ ह्याट्रिक
यामाहाको आधिकारिक बिक्रेता एमएडब्लु इन्टरप्राइजेजले ‘यामाहा फेस्टिभ ह्याट्रिक’ अफर ल्याएको छ।
वर्ल्डकप २०२२ लाई लक्षित गर्दै अफर सार्वजनिक गरेको हो। यामाहाका मोटरसाइकल तथा स्कुटर खरिद गर्नेले दैनिक ३ जना भाग्यमानीले ५० इन्चको हाईसेन्स स्मार्ट टिभी पाउनेछन्।
हरेक सवारीसाधन खरिदमा ६ हजार नगद छुट छ। कम्पनीले सजिलो प्रक्रियाबाट आधा घण्टामै फाइनान्सको व्यवस्था गर्ने उल्लेख गरेको छ। यामाहाले दशैँ तिहार लक्षित गर्दै शनिबार पनि शोरुम खुल्ला राख्ने जनाएको छ।

होण्डाको दशैँको शुभलाभ
होण्डा टू ह्विलर्सको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ कम्पनीले ‘होण्डाको दशैँको शुभलाभ’ नामक आकर्षक ग्राहकमुखी उपहार योजना ल्याएको छ।
योजनाअन्तर्गत ग्राहकहरूले स्क्राच कुपनमार्फत ७ लाखसम्मको क्यासब्याक र अन्य आकर्षक उपहारहरु पाउनेछन्।
७ प्रदेशबाट एक–एक जना गरी ७ जनाले ७ लाख पाउनसक्ने कम्पनीले जनाएको छ। त्यस्तै बम्परमा लक्की ड्रमार्फत १५ लाख नगद उपहार जित्न सकिनेछ। साथै इजी फाइनान्सको पनि सुविधा छ।

बजाजको आधाको आधामै मोटरसाइकल
नेपालमा बढी बिक्री हुने मोटरसाइकल बजाजले ‘अब आधाको आधा नै काफी छ’ अफर सार्वजनिक गरेको छ। कम्पनीले दशैँ, तिहारको अवसरमा बजाज बाइक आधाको आधा मूल्यमै चढ्न सकिने योजना ल्याएको हो।
बजाजले २५ प्रतिशत, ३५ प्रतिशत र ५० प्रतिशत डाउन पेमेन्टमा मोटरसाइकल उपलब्ध गराउने भएको छ। त्यस्तै हरेक बाइक खरिदमा ७ हजार रुपैयाँ नगद छुट र ५ वर्षको वारेन्टी दिएको छ। बजाजका हरेक मोडल खरिदमा अफर पाइनेछ।

सुजुकी धनराशी
सुजुकीले दशैँको राशि धनराशि अफर ल्याएको छ। सुजुकीको कुनै पनि मोटरसाइकल तथा स्कुटर खरिदमा १० हजारसम्म पक्का नगद छुट, १ वर्षसम्म फ्रि सडक दस्तुर, पुरानो मोटरसाइकल ल्याई नयाँ खरिद गर्न सक्ने र फाइनान्सको सुविधा छ।
सुजुकीले प्रिमियम स्कुटरको रुपमा एभिनिस हालै सार्वजनिक गरेको छ। सुजुकीको जिक्सर मोटरसाइकल, सुजुकी बर्गमेन, सुजुकी एसिस मोडलमा साधन बिक्रीवितरण भइरहेका छन्।

टीभीएसको कायापलट
नेपालका लागि टीभीएसको आधिकारिक वितरक कम्पनी जगदम्बा मोटर्सले ‘कायापलट’ नामको विशेष योजना सार्वजनिक गरेको छ। जसमा ग्राहकले टीभीएसको मोटरसाइकल र स्कुटर खरिद गर्दा पाँच पटकसम्म आकर्षक उपहार प्राप्त गर्न सक्छन्।
अफरअन्तर्गत बाइक नकिन्दै कम्पनीको लिंकमा गएर फर्म भर्दा एक लाख जित्ने मौका र खरिद गरेपछि १० लाखसम्म जित्ने मौका छ।
योजनाबारे सोधपुछ गर्ने एक भाग्यशाली विजेतालाई ‘रियलमी सी३० स्मार्ट फोन’ प्रदान गरिनेछ।
साथै हरेक हप्ता एक खरिदकर्तालाई सम्पूर्ण नगद फिर्ता गर्ने र एक भाग्यशाली विजेतालाई बम्पर उपहार ५० लाखको नगद पुरस्कार उपलब्ध गराउने भएको छ।
योजनामा बबाल फाइनान्स अफर पनि समावेश छ। जसअन्तर्गत २० प्रतिशत डाउनपेमेन्ट वा ४ हजार २ सय रुपैयाँको मासिक ईएमआईमा बाइक तथा स्कुटर किन्न सकिनेछ।

टारोको ४ को चमत्कार
ओम मोटोकर्प प्रालिमार्फत नेपालमा बिक्रीवितरण हुँदै आएको इटालियन ब्राण्ड टारोले दशैँ अफर ल्याएको छ।
अफरअन्तर्गत बाइकहरुमा ३० हजार रुपैयाँसम्म नगद छुट तथा स्कुटरको खरिदमा १५ हजार रुपैयाँ छुट सुविधा छ।
कम्पनीले बम्पर अफरमा गोलाप्रथाद्वारा १ जना भाग्यशाली खरिदकर्ताले ५ वर्षको कर छुटको अफर पनि ल्याएको छ।
ग्राहकहरुले कम्पनीको शोरुममा गई टेस्ट राइड तथा पोज एन्ड पोस्ट क्याम्पेनअन्तर्गत फोटो खिची लाइक र सेयर गर्दा हात खाली नहुने उपहार समेत जित्न सक्नेछन्।

मोटरहेडका बाइक खरिदमा १ लाख जित्न सकिने
नेपालका लागि मोटरहेड ब्राण्डका आधिकारिक वितरक एसएलआर टेक्नो एण्ड ट्रेड प्रालिले १ जना भाग्यशाली विजेताले १ लाख रुपैयाँ जित्नसक्ने अफर ल्याएको छ।
कम्पनीले ‘४ को चमत्कार, बाइक पनि बचत पनि’ अफर सार्वजनिक गरेको छ।
मोटरहेड ब्रान्डका बाइक खरिद गर्ने ग्राहकहरुलाई स्क्रयाच कार्डमार्फत ७ हजार ९ सय रुपैयाँदेखि १ लाख रुपैयाँसम्म जित्न सकिने, टेकन २५० पुरानो मोडलको खरिद जुनै पनि माध्यमबाट खरिद गर्दा सिधै २५ हजार रुपैयाँ छुट पाइने भएको छ।

हिरोको पक्का डिस्काउन्ट ७ हजार ५००
हिरोको आधिकारिक बिक्रेता नेपाल जनरल मोटर्सले आहा दशैँ अफर ल्याएको छ। चाडपर्वको उमङ्ग हिरो चढी दङ्ग अफर रहेको छ।
हिरो मोटरसाइकल वा स्कुटर खरिद गर्दा ७ हजार ५०० को निश्चित डिस्काउन्ट तथा स्क्राच १ लाखसम्म छुट रहेको छ। बम्पर पुरस्कारमा १ लाख पाउनेछन्। शून्य प्रतिशत डाउनपेमेन्टमा हिरोको मोटरसाइकल वा स्कुटर उपलब्ध छ ।
साथै ५ मिनेटमा एक्सचेन्ज ग्यारेन्टीको साथमा पाउने कम्पनीले जनाएको छ। हरेक स्क्याचमा १ लाखसम्म नगद रुपैयाँ रहेको छ।

जावा मोटरसाइकल
यस वर्षको दशैँ र तिहारको अवसरमा जावा मोटरसाइकलले पनि अफर ल्याएको छ। जावा नेपालले ९ प्रतिशत ब्याजदरमा मोटरसाइकल किन्न सकिने अफर ल्याएको हो।
हरेक जावा बाइकको खरिदमा निःशुल्क ‘प्रोफेसनल राइडिङ ज्याकेट’ र निःशुल्क हेल्मेट पनि प्राप्त गर्न सकिनेछ। कम्पनीले सजिलै साटफेर गर्न सकिने र सर्वाधिक मूल्यांकन गर्ने अर्को सुविधा पनि यस अफरमा समावेश गरेको छ।
९ प्रतिशतको न्यूनतम ब्याज दरमा बाइक खरिद गर्न सकिने छ। सजिलो फाइनान्सिङ र न्यूनतम ब्याज दरको साथ कुनै पनि झन्झटविना आफ्नो मनपर्ने जावा खरिद गर्नसक्ने कम्पनीले जनाएको छ। नेपालमा जावा बाइक नेपालको स्थापित कम्पनी अग्नि मोटोइन्क प्रा.लि. ले भित्र्याएको हो।

बेनेली मोटरसाइकल
केटीएम इन्टरनेशनल ट्रेडिब प्रा.लि.ले विगत ७ वर्षदेखि नेपालभर इटालीमा निर्मित बेनेली मोटरसाइकल बिक्री गर्दै आएको छ।
यस वर्षको दशैँ, तिहार र छठको अवसर पारेर उक्त कम्पनीले दशैँ फिएस्टा अफर ल्याएको छ। यसअन्तर्गत मोटरसाइकल किन्नु भन्दा पहिले, किन्दा र किने पछि गरी तीन पटकसम्म छुट र विभिन्न अफर प्राप्त गर्न सकिने छ।
पहिलो ई–डिस्काउन्ट अन्तर्गत मोटरसाइकल किन्नुभन्दा पहिले नै घरैबाट समेत क्युआर कोड स्क्यान गर्न सकिन्छ। यसरी स्क्यान गर्दा १ लाख रुपैयाँ सम्म जित्ने अवसर प्राप्त हुनेछ।
त्यसैगरी मोटरसाइकल किन्ने निश्चित भइसकेपछि वाक इन डिस्काउन्ट अफर प्राप्त हुनेछ। जसमा स्क्र्याच कार्डमार्फत १ लाख रुपैयाँसम्म जित्न सकिनेछ।
मोटरसाइकल किनिसके पछि ग्राहकलाई ५ हजार रुपैयाँसम्मको हेल्मेट र अन्य विभिन्न गिफ्ट प्रदान गरिनेछ।
Shares

प्रतिक्रिया