ad ad

कारोबार


चीनबाट गाडी आयातको ‘हब’ बन्दै रसुवागढी नाका

चीनबाट गाडी आयातको ‘हब’ बन्दै रसुवागढी नाका

रसुवागढी भन्सारमा रोकिएका विद्युतीय सवारी साधन। तस्बिर : वसन्त अर्याल


वसन्त अर्याल
असार २५, २०८० सोमबार ८:५४, रसुवागढी

चीनसँग जोडिएको रसुवागढी नाका अटो आयातको हब बन्दै गएको छ। नेपालमा चिनियाँ विद्युतीय गाडीको व्यापार बढ्दै जाँदा रसुवागढी नाका आयातको हब बन्दै गएको हो। 

पहिले समुद्री बन्दरगाहबाट भित्रने गाडी अहिले उत्तरी नाका हुँदै सडकमार्गबाट नेपाल भित्रन थालेका छन्। 

नेपालमा राम्रो बजार उपस्थिति रहेका एमजी, बीवाईडी र नेटाका गाडी केरुङको बाटो हुँदै रसुवागढीबाट भित्राउने गरेको व्यवसायी बताउँछन्। 

गत जेठ १५ गते सार्वजनिक आगामी आर्थिक वर्षको बजेटअघि भित्रिएका करिब हजार विद्युतीय गाडी रसुवागढी नाका हुँदै भित्रिएका थिए। 

अहिले बीवाईडीको अट्टो ३, ई ६ र ठूलो विद्युतीय बससमेत भन्सार यार्डमा रहेका छन्। त्यसबाहेक नेपालमा उपस्थित ग्रेटवाल मोटर्स, चांगन, ज्याक, फोटन, हावल ब्रान्डका गाडी रसुवागढी नाकाबाट आउने गरेका छन्। 

ग्रेटवाल मोटर्सको ओरा थ्री, फोटनका माइक्रो बस र टुनलेन्ड हाइस भन्सार यार्डमा रहेका छन्। चौधरी ग्रुपले बिक्री गर्दै आएको किङलङ माइक्रो पनि रसुवागढी नाकाबाटै भित्रिएको छ। 

चीनबाट आउने सामाग्रीमा कस्मेटिक, जुत्ता, लत्ताकपडा र गाडी उत्तरीनाका तातोपानी र रसुवागढीबाट भित्रिने गरेका छन्। जसमा गाडी रसुवाबाट बढी भित्रिएको भन्सार कार्यालयले जनाएको छ। 

भन्सार राजश्वको लक्ष्य पूरा गर्दै
चालु आर्थिक वर्षमा रसुवा भन्सार कार्यालयलाई भन्सार विभागले ९ अर्ब ३८ करोड रुपैयाँ राजश्व संकलन गर्ने लक्ष्य दिएको थियो। 

जसमा जेठ महिनासम्म ८ अर्ब ५६ लाख रुपैयाँ लक्ष्य रहेकोमा ७ अर्ब २५ करोड रुपैयाँ उठाएको छ। 

वार्षिक लक्षको तुलनामा जेठसम्म ७७.३६ प्रतिशत राजश्व उठेको छ। असार २१ गतेसम्म ८२ प्रतिशत राजश्व संकलन भएको छ। रसुवा

भन्सारले अघिल्लो वर्षको तुलनामा १११ प्रतिशत बढी राजश्व संकलन गरेको छ। 

भन्सार कार्यालयका अनुसार चीनबाट भित्रिने गाडी रसुवा भन्सारबाटै भित्रिँदा राजस्वमा वृद्धि भएको हो। 

गाडीको आयात बढ्दा लक्ष्यभन्दा ३० प्रतिशत बढी सडक निर्माण तथा सम्भार दस्तुर उठेको छ। सरकारले चालु आर्थिक वर्षमा डिजेल पेट्रोलका गाडी आयातमा मंसिरसम्मै प्रतिबन्ध लगाएको थियो।

उत्तरी नाकाबाट मुख्यतः विद्युतीय गाडी आयात हुने भएकाले राजश्व लक्ष्यअनुसार नै उठेको हो। 

रसुवा भन्सारका प्रमुख भन्सार अधिकृत रामप्रसाद पाठकले चीनबाट गाडी रसुवा नाकाबाटै आउँदा राजश्वको लक्ष्यअनुसार उठेको बताए। 

‘चीनबाट आयात भएर बढी बिक्री हुने एमजी, बीवाईडी, नेटा ब्रान्डका गाडी रसुवाबाटै भित्रिन थालेका छन्,’ पाठकले भने, ‘जसले हाम्रो राजस्व लक्ष्यअनुसार उठ्ने आकलन गरिएको छ।’

उनले हाल ८२ प्रतिशत राजस्व उठेको र भन्सार यार्डमा भएका गाडी व्यवसायीले छुटाए सतप्रतिशत राजश्व उठ्ने बताए। भन्सारबाट छुटाउने गाडीको मुख्यतः ब्याट्री र मोटर चेकजाँच गरी पास गराउने बताए। 

सरकारले बजेटमा विद्युतीय गाडीमा कर बढाउने हल्लापछि गाडी आयात ह्वातै बढेको थियो। बजेटअघि एमजी, बीवाईडी र नेटा भीका करिब एक हजार गाडी भित्रिएका थिए। 

‘बजेटमा कर बढ्ने पूर्वअनुमानका आधारमा व्यवसायीले एकै पटक धेरै गाडी छुटाएका हुनसक्छन्,’ पाठकले भने,‘यसलाई सामान्य रुपमै लिनुपर्छ।’

भरपर्दो सडक नहुँदाको सास्ती
लामो समयदेखि बीवाईडीको ठूलो विद्युतीय बस भन्सार यार्डमै रोकिएको छ सडकको दुरावस्था कारण । बीवाईडी गाडीको आधिकारिक विक्रेता साइमेक्स इंककी प्रवन्ध निर्देशक यमुना श्रेष्ठले बाटो अप्ठेरो हुँदा बस यार्डमै रोकिएको बताइन्। 

श्रेष्ठले अट्टो ३ र ई ६ मोडलका गाडी भन्सार यार्डमा रहेको बताएकी छन्। अहिले बीवाईडीकै सबैभन्दा बढी गाडी र्‍यार्डमा छन्। 

एमजीको आधिकारिक बिक्रेता प्यारामाउन्ट मोटर्सका महाप्रवन्धक सचिन अर्यालले एमजीका सबै गाडी उत्तरी नाकाबाट आउन थालेको बताए। 

‘तातोपानी नाका लामो समय बन्द भयो। रसुवागढी नाकाबाटै गाडी भित्रिएका छन्,’ महाप्रबन्धक अर्यालले भने, ‘बर्खामा बाटो खराब हुँदा बनाउँदै ल्याउनु पर्ने अवस्था छ।’

एमजीले पहिला समुद्र र उत्तरी दुवै नाका प्रयोग गर्दै आएको थियो। तर अहिले रसुवाबाट मात्रै ल्याउने गरिएको छ। गाडी ल्याउन कम समय लाग्ने भएकाले रसुवा नाका प्रयोग गर्न थालिएको उनले बताए। 

केरुङबाट आउने गाडीका लागि सदरमुकाम धुन्चेसम्म अधिकांश सडक कच्ची छ। धुन्चेपछि राम्चे भीरमा बारम्बार पहिरो जाँदा सडक जोखिमपूर्ण छ। सडकमा खाल्डा हुँदा गाडीको इन्जिनले छुने गरेको व्यवसायीहरु बताउँछन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .