जापानको मित्सुबिसी मोटर्स पनि होन्डा मोटर र निसान मोटरको रणनीतिक साझेदारीमा मिसिने भएको छ। निक्कीका अनुसार यी ३ ठूला सवारी उत्पादक एकै ठाउँमा उभिँदा सवारीसाधन बिक्री नै ८० लाख नाघ्नेछ।
मित्सुबिसीमा ३४ प्रतिशत सेयर स्वामित्व निसानको छ। कम्पनीले होन्डा–निसानसँग काम गर्न रणनीतिक साझेदारीको लागि पूर्णता दिने काम गरिरहेको छ। यी ३ कम्पनीले सवारीसाधन सफ्टवेयरको मानकीकरणलाई प्राथमिकतामा राखेको निक्कीले जनाएको छ।
यद्यपि यसबारे कुनै पनि कम्पनीले सार्वजनिक गरिसकेका छैनन्। पछिल्लो समय जापानकै तेस्रो ठूलो सवारीसाधन उत्पादक निसानले अमेरिकी र चिनियाँ बजारमा हिस्सा गुमाउँदै गएको छ। मार्चमा सकिएको एक वर्षमा कम्पनीको आधा बिक्री तिनै दुई बजारले वहन गरेका थिए।
गत मार्चमा निसान र होन्डाले ईभीका पार्टपुर्जा र अटोमोटिभ सफ्टवेयर प्लेटफर्ममा कृत्रिम बौद्धिकता (एआई) उत्पादनका लागि एक रणनीतिक साझेदारी गर्न विचार गरिरहेको उल्लेख गरेका थिए।
मित्सुबिसी पहिलेदेखि नै निसान र फ्रेन्च कम्पनी रेनोको दिगो साझेदार रहँदै आएको छ। गत वर्ष नै रेनोले कम्पनी पुनर्संरचना गर्न सहमति जनाइसकेको छ।
यस्तोमा निसान, होन्डा र मित्सुबिसीबीचको सहकार्यले जापानी अटो उत्पादकलाई लागत घटाउन मद्दत मिल्नेछ भने बीवाईडी र टेस्लाजस्ता ईभीहरुसँग कडा टक्करको सामना गर्न पनि सहज हुनेछ।
चीनमा जापानी ब्रान्डहरुले बलियो उपस्थिति जनाउँदै आए पनि पछिल्लो समय सस्तो मूल्यका सवारी उत्पादन गर्ने घरेलु कम्पनीको दबदबा बढिरहेको छ। रोयटर्स
Shares

प्रतिक्रिया