ad ad

कारोबार


इन्भेष्टमेन्ट-मेगा बैंक मर्जर : नाम, अध्यक्ष र सीईओ टुंगो लाग्यो

इन्भेष्टमेन्ट-मेगा बैंक मर्जर : नाम, अध्यक्ष र सीईओ टुंगो लाग्यो

दीपक भट्ट
जेठ २६, २०७९ बिहिबार १२:७, काठमाडौँ

नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकबीच मर्जरको लागि मौखिक सहमति भएको छ। दुई बैंकका सञ्चालकबीच एकआपसमा गाभिने गरी मौखिक सहमति जुटेको हो। 

यी दुई बैंकबीच लिखित रुपमै सम्झौता गरेर अघि बढ्ने पनि सहमति भएको छ। त्यसको लागि राष्ट्र बैंकले समेत पहल गरिरहेको छ। 

यी दुई बैंकको जोडी मिलाउन राष्ट्र बैंकका अधिकारीहरुले समेत पहल गरिरहेको मेगा बैंकका एक सञ्चालकले जानकारी दिए। 

उनले भने, ‘मर्जरमा जाने एक्विजिसन हुने विषय धेरै ठूलो विषय हो। त्यसको लागि सञ्चालक समितिले धेरै ठूलो अध्ययन गरेर निर्णय लिनुपर्छ र त्यो काम भएको पनि छ। त्यसमा राष्ट्र बैंकले पनि सकारात्मक भूमिका भने खेलेको नै छ।’

ती सञ्चालकका अनुसार सम्भव भएसम्म यही हप्ता नत्र अर्को हप्ताको सुरुमा दुईपक्षीय समझदारीपत्रमा हस्ताक्षर हुने सम्भावना छ। लगभग नाम, सञ्चालक समितिको अध्यक्ष र सीईओ को रहने भन्ने विषय टुङ्गो लागेको हो। 

उनले थपे, ‘इन्भेष्टमेन्ट बैंकले नेतृत्वभन्दा पनि व्यवस्थापनको जिम्मेवारी लिन चाहेको छ। इन्भेष्टमेन्ट बैंकले नेतृत्वको पनि ठूलो दाबी गरेको हो तर मेगा बैंकले दुईमध्ये एक चाहिने अडानपछि मेगा बैंकको नेतृत्वकर्ताले नै मर्जरपछिको नेतृत्व पनि गर्ने सहमति भएको छ र नाममा पनि इन्भेष्टमेन्ट बैंकले आफ्नो नाम अघि राख्न चाहेको छ।’

तर यी विषयमा अहिले पनि तीव्र छलफल कायम रहेको उनले बताए। यी दुई बैंकको मर्जरमा जाने मुख्य आधार सेयर स्वामित्वमा भएको सहमति नै प्रमुख हो। सेयर स्वामित्व यी दुई बैंकबीच इन्भेष्टमेन्ट बैंकको १०० बराबर मेगा बैंकको ९० को मूल्याङ्कन हुनेछ। इन्भेष्टमेन्टको सेयर १०० मानिँदा मेगाको सेयर ९० कायम हुनेछ अर्थात् १००ः९० को रेसियोमा अघि बढ्ने सहमति जुटेको छ। 

चुक्ता पुँजी झण्डै ३३ अर्ब पुग्ने 
दुई बैंक मर्जरपछि बन्ने बैंकको चुक्ता पुँजी ३२ अर्ब ८० करोड हुने देखिएको छ। हाल नेपाल इन्भेष्टमेन्ट बैंकको १८ अर्ब ३० करोड र मेगा बैंकको १६ अर्ब १२ करोड छ। 

दोस्रो बजारमा अहिले मेगा बैंकको सेयर मूल्याङ्कन प्रतिसेयर २२९ रुपैयाँ छ भने इन्भेष्टमेन्ट बैंकको प्रतिसेयर मूल्याङ्कन २७५ रुपैयाँ छ। अघिल्लो हप्ता यी दुई बैंकको मर्जरको हल्लाले मेगा बैंकको सेयरमा सकारात्मक सर्किट लागेको थियो। 

इन्भेष्टमेन्ट बैंकले भने गत वर्ष हिमालयन बैंकसँग मर्जरको सहमति गरेको थियो। उक्त सहमतिअनुसार मर्जरमा जान नसकेपछि गत हप्तादेखि मात्रै सेयरबजारमा कारोबार हुनथालेको हो। त्यसपछि लगातार सेयर मूल्यमा गिरावट हुँदै आएको छ। 

हिमालयन बैंक र इन्भेष्टमेन्ट बैंकबीच मर्जर टुटेपछि यी दुई बैंकलाई नयाँ मर्जरको जोडी खोज्न राष्ट्र बैंकले दबाब दिँदै आएको थियो। सोहीअनुसार मेगा बैंकसँग इन्भेष्टमेन्ट बैंकले मर्जर सहमतिको तयारी गरेको हो। 

हिमालयनसँग टुटेपछि मेगा नयाँ ‘पार्टनर’
यसअघि इन्भेष्टमेन्ट बैंक र हिमालयन बैंकबीच मर्जरको प्रक्रिया निकै अगाडि बढिसकेको थियो। त्यही बीचमा गत असोजमा हिमालयन बैंकको नेतृत्व परिवर्तन भयो। त्यसपछि यी दुई बैंकबीच मर्जर टुटेको थियो। प्रचण्डमान श्रेष्ठ अध्यक्ष भएपछि उनले इन्भेष्टमेन्ट बैंकसँग मर्जरमा जान नसकिने अडान लिएका थिए। 

हिमालयन बैंकको लगानी ग्रुप र इभेष्टमेन्ट बैंकको लगानी ग्रुपबीच पारिवारिक सम्बन्ध रहेको भन्दै उनले मर्जरमा जानै नहुने अडान लिएका थिए।

साथै उनले इन्भेष्टमेन्ट बैंकसँग अतिरिक्त दायित्व समेत अर्थात् महालेखा परीक्षककको रिपोर्टले सरकारलाई तिर्नुपर्ने बक्यौता कायम रहेको देखाएको भन्दै उनले मर्जरमा जान नहुने अडान लिएका थिए। उनको अडानलाई साधारणसभाले साथ दिएको थियो। त्योसँगै दुई बैंकबीचको मर्जर टुटेको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .