ad ad

कारोबार


साढे १५ वर्षको ग्लोबल आईएमई बैंक, बीओकेसँगै १९ वटालाई गाभ्यो

साढे १५ वर्षको ग्लोबल आईएमई बैंक, बीओकेसँगै १९ वटालाई गाभ्यो

बीओकेसँग मर्जर समझदारीमा हस्ताक्षर गरिँदै।


दीपक भट्ट
असार २, २०७९ बिहिबार १३:१२, काठमाडौँ

ग्लोबल आईएमई बैंक लिमिटेड गत पुस १८ गतेबाट १५ वर्ष पुगेर १६ वर्षमा प्रवेश गरेको छ। बैंकले साढे १५ वर्ष वित्तीय सेवामा खर्चिँदा यो बीचमा धेरै संस्थाहरु बैंकमा समाहित भइसकेका छन्। 
 

यहीबीचमा पछिल्लो पटक ग्लोबल आईएमई बैंक र बैंक अफ काठमाण्डु (बीओके) एक हुँदै छन्। यी दुईबीच बिहीबार मर्ज हुने समझदारीसँगै बैंकसँग जोडिने वित्तीय संस्थाको संख्या १९ पुगेको छ। 

योभन्दा अघि १८ वटा बैंक मिलेर ग्लोबल आईएमई बैंक बनेको हो। ग्लोबल आईएमईलाई गाभिएर सफल भएको नेपाली बैंक तथा वित्तीय कम्पनीको उदाहरणका रुपमा हेर्ने गरिन्छ। 

यस बैंकको मर्जरको इतिहास २०६८ माघ २० देखि सुरु हुन्छ। त्यस दिन तत्कालीन ग्लोबल बैंक लिमिटेडले आईएमई फाइनान्सलाई मर्ज गरेको थियो। यो मर्जर बैंक तथा वित्तीय संस्थाहरुमै सबैभन्दा पहिलो मर्जर थियो। 

त्यसै समयमा लर्डबुद्ध फाइनान्सलाई पनि गाभिएको थियो। सो समय अर्थात् यी तीन संस्था गाभिएपछि संस्थाको नाम २०६९ असार २५ गतेदेखि ग्लोबल आईएमई रहेर एकीकृत कारोबार भएको थियो। त्यसपछि यसमा गाभिएको संस्था थियो सोसल डेभलपमेन्ट बैंक हो। मर्जर यतिमै सीमित रहेन। सोही समयमा गुल्मीमा स्थापना भएको गुल्मी विकास बैंक पनि यसमै समाहित भयो। 

त्यसपछि कमर्स एन्ड ट्रस्ट बैंकलाई पनि बैंकले आफूमा गाभ्यो। सन् २०१६ मा आइपुग्दा अन्य दुई संस्था प्यासिफिक डेभलपमेन्ट बैंक र रिलायबल विकास बैंकसँग पनि मर्ज गर्ने प्रक्रिया अगाडि बढायो। 

ती दुई संस्था पनि बैंकमा मर्ज भए भने रिलायबल बैंकमा त्यसअघि नै कन्जुमर डेभलपमेन्ट बैंकलगायत तीनवटा विकास बैंक मर्ज भइसकेका थिए।

त्यसपछि ग्लोबल आईएमई बैंकसँग गाभिएको संस्था हो हाथवे फाइनान्स। योसँगै बैंक १० वटा संस्था एकआपसमा मिलेर बनेको संस्था बन्यो। 

त्यसपछि अर्कोे वाणिज्य बैंक जनता बैंकसँग नेपालमा अहिलेसम्मकै ठूलो मर्जर भयो। नेपालको बैंकिङ इतिहासमा यस मर्जर सबैभन्दा ठूलो र सफल रुपमा हेर्ने गरिन्छ। जनता बैंक र ग्लोबल आईएमईले मर्जरपछि ०७६ मंसिर २० बाट एकीकृत कारोबार सुरु गरेका थिए। यति ठूलो मर्जर सम्झौताको ६ महिनापछि नै एकीकृत कारोबार भएको थियो। 

जनता बैंक मर्जरमा आउनुअघि ८ वटा वित्तीय संस्था मिलेर बनेको बैंक थियो। सोही कारण ग्लोबल आईएमई बैंक हालको अवस्थासम्म आइपुग्दा १८ वटा वित्तीय संस्था मिलेर बनेको कम्पनी बनेको छ। 

यसरी नेपाली बैंकिङ क्षेत्रमा उदाएको ग्लोबल आईएमईले सेवाग्राही र सेयरधनी दुवैलाई आफ्नो सफलतासँग जोड्न सफल भएको छ।

अब बैंक अफ काठमाण्डु (बीओके) सँग समझादारीलाई सफल बनाएर आफनो मर्जर इतिहासमा एक खुड्किलो माथि जाने अवसर दुवै बैंकलाई छ। आजको मर्जर समझदारीपछि ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्र ढकालले नेपालको बैंकिङ इतिहासमा एउटा ऐतिहासिक कार्य भएको बताए।

उनले भने, ‘मर्जरपछि बन्ने नयाँ बैंक ठूलो मात्र नभएर सबै हिसाबले सर्वोत्कृष्ट बैंक बनाउने प्रतिबद्धता हाम्रो हुनेछ।’

ग्लोबल आईएमई बैंक नेपाल सरकार तथा नेपाल राष्ट्र बैंकले दिने निर्देशनहरु परिपालनामा सधैँ पहिलो हुने गरेको बताउँदै तदनुरुप यो मर्जरको समझदारीपत्रमा हस्ताक्षर गरिएको उनले बताए।

आज भएको समझदारीअनुसार बैंक कस्तो बन्दै छ?
समझदारीपत्रमा ग्लोबल आईएमई बैंकको तर्फबाट बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल तथा बैंक अफ काठमाण्डू लिमिटेडका तर्फबाट बैंकका अध्यक्ष प्रकाश श्रेष्ठले हस्ताक्षर गरेका हुन्।  

मर्जरपश्चात् बन्ने नयाँ बैंकको नाम ग्लोबल आईएमई बिओके लिमिटेड हुने र सञ्चालक समितिमा ग्लोबल आइएमई बैकको तर्फबाट अध्यक्ष चन्द्रप्रसाद ढकाल सहित ५ जना र बैंक अफ काठमाण्डूको तर्फबाट २ जना रहने सहमति भएको छ। त्यसैगरी बैंकको प्रमुख कार्यकारी अधिकृतको रुपमा रत्नराज बज्राचार्य रहने प्रारम्भिक सहमति भएको छ। 

ग्लोबल आइएमई बैंक लिमिटेड र बैंक अफ काठमाण्डू लिमिटेडको सम्पत्ति तथा दायित्वको मूल्याङ्कनबाट सिफारिस भई आउने स्वाप रेसियोबाट अन्यथा कायम हुन आएमा सोहीअनुसार समायोजन हुने गरी हाललाई एक अनुपात एकको स्वाप रेसियो कायम गर्ने प्रारम्भिक समझदारी भएको छ ।

मर्जरपश्चात् बैंकको कुल पुँजी ५२ अर्ब २९ करोड चुक्ता पुँजी ३४ अर्ब ४१ करोड कुल निक्षेप ३ खर्ब ८४ अर्ब, कुल कर्जा ३ खर्ब ८० अर्बसहित कुल पुँजी, चुक्ता पुँजी तथा व्यवसायको आकारको हिसाबले नेपालको सबै भन्दा ठूलो बैंक हुनेछ । 

साथै, दुवै बैंकले जेठ मसान्तसम्म ६ अर्ब रुपैयाँ भन्दा बढी खुद नाफा आर्जन गरी सकेका छन्। दुई बैंकहरुको ३ सय ८५ शाखा कार्यालय, ३ सय ६७ एटिएम, २ सय ७५ शाखारहित बैंकिङ्ग सेवा, ६१ विस्तारित शाखा कार्यालयहरु, ३ वटा विदेश स्थित सम्पर्क कार्यालयहरु, ३७ लाखभन्दा बढी ग्राहकहरुसहित अन्य धेरै वित्तीय परिसुचकहरुमा ग्लोबल आइएमई बिओके लिमिटेड मुलुकको सबैभन्दा ठूलो बैंक हुनेछ। 

दुवै बैंकहरु एक आपसमा गाभिएपश्चात् संस्थाको पुँजी वृद्धि, कार्य क्षेत्र तथा कार्य क्षमतामा अभिवृद्धि हुनुका साथै मुलुकको सबैभन्दा सबल एवम् सक्षम बैंकको रुपमा वित्तीय बजारमा स्थापित भई ग्राहकहरुलाई थप उत्कृष्ट सेवा तथा सुविधा प्रदान गर्न तथा लगानीकर्ताहरुलाई उच्चतम प्रतिफल दिने विश्वास बैंकले लिएको छ । 

साथै, बैंकले वित्तीय क्षेत्रमा नयाँ अवसरहरु ल्याई ग्राहक, सेयरधनी, बैंकसँग प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सरोकार राख्नुहुने सबैको हितलाई ध्यानमा राखी बैंकले कार्य सम्पादन गर्ने दुवै बैंकका सञ्चालक समिति अध्यक्षहरुले सयुंक्त रुपमा प्रतिबद्धता व्यक्त गरेका छन्।

बैंक अफ काठमाण्डूका अध्यक्ष श्रेष्ठले बैंकिङ्ग क्षेत्रमा आजको दिन सधैँ संस्मरणमा रहने बताए। उनले मर्ज हुनु प्राकृतिक प्रक्रिया हो तर मर्जरपछि बन्ने बैंक कस्तो बन्छ भन्ने मूल विषय रहेको बताए। नयाँ बैंकले नेपालको बैंकिङ्ग क्षेत्रमा ठूलो सफलता हासिल गर्नेमा विस्वास रहेका उनको भनाइ छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .