कारोबार


ठूलो बैंकको विरासत धान्न एनबीलाई लिएर अघि बढ्यो नबिल बैंक

मर्जर भाँडिएको माहोलमा राम्रो सन्देश
ठूलो बैंकको विरासत धान्न एनबीलाई लिएर अघि बढ्यो नबिल बैंक

दीपक भट्ट
असार २७, २०७९ सोमबार ६:२८, काठमाडौँ

आज सोमबार नबिल बैंकको लागि विशेष दिन बन्दै छ। 

भर्खरै नेपाल बंगलादेश बैंकलाई प्राप्तिमा सामेल गराएको नबिल आजदेखि फेरि चुक्ता पुँजीका हिसाबले नेपालका वाणिज्य बैंकहरुमध्ये सबैभन्दा ठूलो बैंक बन्न लागेको छ। 

नबिल र एनबीले एकीकृत कारोबार सुरु गरेसँगै नबिल ठूलो बैंक बन्ने भएको हो। 

अहिलेसम्म चुक्ता पुँजीको आधारमा सबैभन्दा ठूलो बैंक ग्लोबल आईएमई रहेको छ। जसको चुक्ता पुँजी २३ अर्ब ७९ करोड रुपैयाँ छ। 

तर अब सोमबारदेखि नबिल बैंक नेपालको सबैभन्दा ठूलो बैंक रहनेछ। नबिल बैंकको चुक्ता पुँजी २८ अर्ब ५७ करोड पुग्नेछ। योसँगै चुक्ता पुँजीको हिसाबमा नेपालको सबैभन्दा ठूलो बैंक ठहरिनेछ। 

नबिल बैंकको चुक्ता पुँजी १८ अर्ब ४९ करोड छ भने नेपाल बंगलादेशको चुक्ता पुँजी १० अर्ब ८ करोड छ। सोमबारदेखि एक हुँदा सबैभन्दा ठूलो बैंक हुनलागेको हो। 

सबल वित्तीय क्षेत्रमा अब्बल नबिल 
पछिल्लो समय नेपालको हरेक क्षेत्र खस्किरहँदा वित्तीय क्षेत्र भने अहिलेसम्म सबल नै छ। चाहे त्यो कोरोना कालको समय होस् वा अहिले मूल्यवृद्धि र वैदेशिक असन्तुलन। यसको ठूलो प्रभाव वित्तीयभन्दा बाहिरको क्षेत्रमा रहे पनि यस क्षेत्र भने बलियो नै देखिन्छ। 

बैंक तथा वित्तीय कम्पनीहरु अहिले पनि नाफामा प्रतिस्पर्धारत छन्। हरेक वर्ष नाफामा वृद्धि गरिरहेका छन्। बढी नाफा कमाउने र आफ्ना सेयरधनीहरुलाई वितरण गर्नेमा २७ वटा वाणिज्य बैंक एक आपसमा प्रतिस्पर्धामै देखिन्छन्। 

यस्तो अवस्थामा एनबी बैंकलाई प्राप्ति गरेपछि नबिल बैंक हरेक कुरामा अब्बल बन्ने बैंकका अध्यक्ष उपेन्द्र पौड्याल बताउँछन्। 
उनका अनुसार नबिल र एनबीका आआफ्नै सबल पक्ष छन्। 

‘नबिल कर्पोरेट बैंकिङ हो। शाखाहरु विस्तारसँगै पछिल्लो समय नबिल बैंक साना तथा मझौला व्यवसायतिर पनि गइसकेको छ। एनबी बैंक भने ग्यारेन्टी बिजनेसमा राम्रो छ। त्यसमा नबिल बैंकको कमजोरी छ’, उनले नेपालखबरसँग भने, ‘एनबी बैंकले निर्माण क्षेत्रमा लगानी गरेको छ। तर नबिल बैंकको त्यतातिर खासै लगानी छैन। त्यसकारण एक हुँदा धेरै विषयमा बलियो हुने विश्वास छ।’ 

नबिल बैंकको नेटवर्क नभएको ठाउँमा एनबीको रहेकाले र एनबीको नभएको स्थानमा नबिलको नेटवर्क रहेकाले एक खालको ‘सिनर्जी क्रिएट’ हुने पौड्यालको भनाइ छ। 

‘त्यसलाई नाफामा परिणत गर्ने योजना हो र त्यहीअनुसार अघि बढिएको हो’, उनले थपे। 

यसबाहेक एक वाणिज्य बैंकले अर्को वाणिज्य बैंकलाई गाभ्नुले बजारमा ‘पोजेटिभ भाइब्रेसन’ हुने उनको तर्क छ। 

मर्जर भाँडिएको माहोलमा राम्रो सन्देश 
नेपाली बैंकिङ क्षेत्रमा केही बैंकहरुको मर्जर भाँडिइरहँदा नबिल र एनबीले एकीकृत कारोबार थाल्नलागेका हुन्। 

पौड्याल यसबाट सबैभन्दा माथिल्लो बैंकले पुछारतिर रहेको बैंकलाई लिन पोसिबल रहेछ भन्ने म्यासेज प्रवाह हुनेमा विश्वस्त छन्। 
उनले भने, ‘यसले विश्वासको वातावरण पनि बजारमा दिलाउँछ।’

नबिल बैंकले चालू आर्थिक वर्षको नौ महिना अवधिमा ३ अर्ब ३५ करोड २० लाख  रुपैयाँ नाफा गरेको छ। बैंकले सार्वजनिक गरेको तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार गत वर्षको यो अवधिमा केही कम देखिए पनि उच्च देखिन्छ। 

बैंकको खुद ब्याज आम्दानी २९ दशमलव ३० प्रतिशतले बढेर ६ अर्ब ५९ करोड २ लाख रुपैयाँ देखिएको छ। वित्तीय विवरणअनुसार प्रतिसेयर आम्दानी २४ रुपैयाँ १६ पैसामा सीमित भएको छ। तेस्रो त्रैमासिकसम्ममा बैंकको प्रतिसेयर नेटवर्थ १ सय ९० रुपैयाँ २९ पैसा छ।

बैंकको निक्षेप संकलन २ खर्ब ३४ अर्ब २२ करोड ९४ लाख रुपैयाँ हुँदा कर्जा प्रवाह २ खर्ब २१ अर्ब ९८ करोड ९३ लाख रुपैयाँ देखिएको छ। 

कस्तो छ नाफाको अवस्था? 
नाफाकै रुपमा हेर्ने हो भने यो बैंक केही तल गएको छ। गत वर्षसम्मको विवरणमा नबिल बैंक नेपालको सबैभन्दा ठूलो र धेरै नाफा कमाउने बैंकको रुपमा परिचित थियो।  

चालू आर्थिक वर्षको ९ महिनासम्मको तथ्याङ्कअनुसार भने ग्लोबल आईएमई बैंक र एनआईसी एसियाले नबिललाई उछिनेको छ। 

ग्लोबल आईएमई बैंकले चालू आर्थिक वर्षको ९ महिनामा ३ अर्ब ७३ करोड रूपैयाँ मुनाफा गरेको छ। ग्लोबल आईएमई बैंकले गत वर्षकै तुलनामा तुलनामा ४ दशमलव १३ प्रतिशत बढी नाफा गरेको हो। यही अवधिमा गत वर्ष बैंकले ३ अर्ब ५७ करोड ८२ लाख रुपैयाँ मुनाफा आर्जन गरेको थियो।

एनआईसी एसिया बैंकको नाफा गत वर्षको तुलनामा २० प्रतिशतले बढेको छ। बैंकले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार तेस्रो त्रैमासिकसम्ममा कुल ३ अर्ब ६० करोड ४५ लाख रुपैयाँ खुद नाफा गरेको हो। गत वर्षको यही अवधिमा बैंकले ३ अर्ब ४८ लाख रुपैयाँ नाफा गरेको थियो। जसअनुसार गत वर्षको तुलनामा यो वर्ष २० प्रतिशत नाफा बढाएको देखिएको हो। 

लाभांश वितरणमा उदार 
त्यसो त सेयरधनीहरुलाई बढी लाभांश वितरण गर्नसक्ने हैसियतमा अहिले पनि नबिल बैंक नै देखिएको छ। 

गत वर्षको नाफाबाट यो वर्ष पनि नबिल बैंकले ३३ दशमलव ६० प्रतिशत बोनस सेयर तथा ४ दशमलव ४० प्रतिशत नगद लाभांश वितरण गर्यो। नबिल बैंकले अघिल्लो आर्थिक वर्ष २०७६/०७७ मा आर्जन गरेको नाफाबाट ३५ दशमलव २६ प्रतिशत लाभांश दिएको थियो। 

सो वर्ष बैंकले निजी क्षेत्रका बैंकहरुमध्ये ३ अर्ब ४६ करोडको उच्चतम मुनाफा  हासिल गर्न सफल भएको थियो। 

त्यस्तै आर्थिक वर्ष २०७५/०७६ मा बैंकले सेयरधनीलाई ३४ प्रतिशत लाभांश वितरण गरेको थियो। जसमा १२ प्रतिशत बोनस सेयर र २२ प्रतिशत नगद लाभांश समावेश थियो। त्योभन्दा अघिल्लो आव २०७४/०७५ मा पनि बैंकले १२ प्रतिशत बोनस र २२ प्रतिशत नगद गरी कुल ३४ प्रतिशत नै लाभांश दिएको थियो। 

आव २०७३/०७४ मा भने बैंकले ३० प्रतिशत बोनस र १८ प्रतिशत नगद गरी कुल ४८ प्रतिशत लाभांश बाँडेको थियो। यो दरमा लाभांश वितरण गर्ने कुनै पनि बैंक देखिँदैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .