ad ad

कारोबार


चालू आवमा बैंकहरुले लिए २७ खर्ब स्थायी तरलता सुविधा, गत वर्षभन्दा कम

चालू आवमा बैंकहरुले लिए २७ खर्ब स्थायी तरलता सुविधा, गत वर्षभन्दा कम

नेपालखबर
फागुन १५, २०७९ सोमबार १८:३१, काठमाडौँ

बैंकिङ प्रणालीमा लगानीयोग्य रकम (तरलता) सहज बन्दै जान थालेको छ। 

तरलता सहज बन्दै गएपछि वाणिज्य बैंकहरूले केन्द्रीय बैंकबाट लिने स्थायी तरलता सुविधा (एसएलएफ) घटाउँदै लगेका हुन्।

गत असार ९ मा एकै दिन २ खर्ब ५० अर्ब रुपैयाँसम्म एसएलएफ लिएका बैंकले अहिले एक महिनामा मात्र उक्त परिमाणबराबर एसएलएफ लिइरहेका छन्। 

चालू आर्थिक वर्षको फागुन १२ सम्म वाणिज्य बैंकले २७ खर्ब १७ अर्ब ५७ करोड एसएलएफ लिएको नेपाल राष्ट्र बैंकले जनाएको छ। 

अघिल्लो वर्ष यसै अवधिमा वाणिज्य बैंकहरुले ३८ खर्ब रुपैयाँ एसएलएफ लिएका थिए।  

गत आर्थिक वर्ष वाणिज्य बैंकले एक महिनामै १२ खर्ब रुपैयाँसम्म एसएलएफ लिएका राष्ट्र बैंकले जनाएको छ। वाणिज्य बैंकले अनिवार्य नगद मौज्दात (सीआरआर) कायम गर्न राष्ट्र बैंकबाट एसएलएफ लिने गरेका छन्। 

बजारमा तरलताको चरम अभाव भएका बेला वाणिज्य बैंकले उच्च मात्रामा एसएलएफ लिने गरेको राष्ट्र बैंकका सहप्रवक्ता नारायणप्रसाद पोखरेल बताउँछन्।  

मौद्रिक नीतिले चालू आर्थिक वर्षदेखि सीआरआर सीमा चार प्रतिशत पुर्याएको छ। गत वर्ष वाणिज्य बैंकको सीआरआर सीमा तीन प्रतिशतमात्र थियो। 

एक प्रतिशत सीआरआर सीमा थपिएसँगै वाणिज्य बैंकले ५० अर्ब रुपैयाँ बढी राष्ट्र बैंकमा राख्नुपर्ने भएको हो। 

तरलता चाप परेको अवस्थामा सीआरआर सीमा एक प्रतिशत बढाउँदा वाणिज्य बैंकबाट ५० अर्ब रुपैयाँ राष्ट्र बैंकमा गएको बैंकरहरूले बताउँदै आएका छन्।  

सीआरआर कायम गर्न वाणिज्य बैंकले राष्ट्र बैंकबाट जारी गरेको बचतपत्र लगायत बन्ड धितो राखी एसएलएफ सुविधा लिने गरेका छन्। वाणिज्य बैंकले एसएलएफ घटाउँदै लैजाँदा तरलता सहज भएको भन्न थालिएको छ। 

पुसमा आयकरबापत ४० प्रतिशत, राष्ट्र बैंकले उठाएको आन्तरिक ऋण र पुनर्कर्जा सामान्य कर्जामा रूपान्तरण भए पनि तरलतामा थप दबाब सिर्जना हुने आकलन गरिएको भए पनि त्यस्तो देखिएको छैन। 

साथै, पुसमा रेमिट्यान्स २४.३ प्रतिशतले बढेको छ। रेमिट्यान्समा आएको वृद्धि, निक्षेप थपिँदै जानु तर कर्जा विस्तार नहुनु र आयात आएको गिरावटका कारण बैंकिङ सिस्टमा सहज देखिएको छ। 

पछिल्लो समय बैंकहरूले लिने एसएलएफको ‘आउटस्ट्यान्डिङ’ घट्दै गइरहेको पोखरेलले बताए। 

‘केन्द्रीय बैंकले हप्ताका लागि बैंकहरूलाई एसएलएफ दिने गरेको छ’, उनले भने, ‘गत असारमा एकै दिन साढे २ अर्ब रुपैयाँ एसएलएफ लिएका थिए।’ 

यो वर्षको असोजपछि बैंकहरुले लिने एसएलएफ निरन्तर घट्दै गएको पोखरेलले बताए।

फागुनमा वाणिज्य बैंकको औसत सीडी रेसियो ८६.१७ प्रतिशत छ। सबै बैंकको सीडी रेसियो ९० तल देखिन्छ। यसले पनि परिस्थिति सहज बन्दै गएको देखिएको पोखरेलको भनाइ छ। 

उनका अनुसार राष्ट्र बैंकले रिपो जारी गरे तरलता सहज हुन्छ। 

‘केन्द्रीय बैंकले बजारमा तरलता सहज गर्न रिपो दिने हो’, उनले भने, ‘हालै राष्ट्र बैंकले रिपो समेत जारी गरिसकेको छ। आवश्यक परे थप जारी गर्नेछ।’

राष्ट्र बैंकले बजारमा तरलता चरम देखिए रिपोमार्फत तरलता सहज बनाइने उनले बताए। उनका अनुसार आयात खुला गरिएको हुँदा यसमा संवेदनशील हुनुपर्नेछ। 

‘ठूलो परिमाणमा अधिक आयात गर्दा त्यसले आन्तरिक तरलता व्यवस्थापनमा सहयोग नगरे तरलता समस्या ल्याउँछ’, उनले भने, ‘त्यो विचारणीय छ। अन्यथा, अहिले गत आर्थिक वर्षको जस्तो दबाब नहुने देखिन्छ।’

उनका अनुसार कोभिडपछिको सामान्य अवस्थामा थप ४० देखि ५० अर्ब रुपैयाँ तरलता भएको अवस्था हुन्थ्यो। 

‘त्यो अवस्थामा पुग्न त केही समय लाग्ला तर पहिलेभन्दा सापेक्षिकरूपमा तरलता सहज बन्दै गएको हो’, उनले भने।
आर्थिक वृद्धि उच्च हुँदा तरलता र विदेशी विनिमय सञ्चितिमा चाप पर्ने उनले बताए।

‘मुलुकको अर्थतन्त्र २०७२ सालदेखि पछिल्लो सात वर्षको तथ्यांक हेर्दा आर्थिक वृद्धि उच्च हुँदा तरलता र विदेशी विनिमय सञ्चिति चाप परेको देखिन्छ’, उनले भने, ‘हाम्रो बैंकिङ प्रणालीमा तरलताको स्रोत विदेशी विनिमय सञ्चिति हो। शोधनान्तर घाटामा जानेबित्तिकै तरलतामा दबाब आउँछ। जुन गत वर्ष देखियो। अहिले फरक छ, शोधनान्तर सकारात्मक भएपछि यसले तरलता सहज भएको देखाउँछ।’ 

आर्थिक वर्ष सुरुदेखि बैंकहरूले लिने एसएलएफ निरन्तर घट्दै गइरहेको छ। आर्थिक वर्ष (साउनदेखि पुस ९ सम्म) वाणिज्य बैंकहरूले राष्ट्र बैंकबाट २६ खर्ब ८४ अर्ब ५० करोड रुपैयाँ एसएलएफ लिएको छ।

चालू आर्थिक वर्ष भदौमा वाणिज्य बैंकले सबैभन्दा बढी एसएलएफ लिएका हुन्। भदौमा वाणिज्य बैंकले ८ खर्ब ३८ अर्ब ९० करोड रुपैयाँ एसएलएफ लिएका थिए। त्यसैगरी साउनमा ८ खर्ब १४ अर्ब ७० करोड, असोज ४ खर्ब ६९ अर्ब १२ करोड, कात्तिक ४ खर्ब ३४ अर्ब ३१ करोड, मंसिर १ खर्ब २५ अर्ब ६६ करोड, पुसमा १० अर्ब ११ करोड, माघमा १४ अर्ब १० करोड र फागुन १२ गतेसम्म १० अर्ब ६ करोड एसएलएफ लिएका छन्। 

बैंकहरुले सर्ट टम मनि म्यानेज गर्न राष्ट्र बैंकबाट एसएफएफ लिने गरेको बैंकिङ विज्ञ अनलराज भट्टराई बताउँछन्। उनका अनुसार अहिले नै सट टर्म माग बढ्ने देखिँदैन। 

‘अहिले तरलता सहजभन्दा पनि डिमान्ड कम भएको अवस्था छ’, भट्टराईले भने, ‘अहिले तरलता सहजभन्दा पनि डिमान्ड कम भएको अवस्था छ।’ 

उनले दैनिक उपभोग नघटे पनि अन्य उपभोगको डिमान्ड घटेको बताए। 

उनका अनुसार अहिले सीडी र अन्तरबैंक ब्याजदर हेर्दा तरलता केही सहज भएजस्तो देखिएको छ।  

‘सीडी रेसियो ८६ प्रतिशत छ। पहिले ९० प्रतिशत थियो। अहिले डिपोजिट बढ्यो र ब्याजदर महँगो हुँदा कर्जा कम भएको छ’, उनले भने, ‘विस्तार सरकारले पूर्वाधारको पेमेन्ट पनि गर्न थाल्छ। अहिले सर्ट टर्ममा बैंकहरुसँग तरलता रहेको देखिन्छ।’  

त्यसो त बैंकिङ सिस्टमा तरलता सहज बन्दै गएको पूर्वगभर्नर चिरञ्जीवी नेपालको भनाइ छ। 

‘यता कर्जा लगानी पनि कम छ। ऋण लगानी भएको छैन। पैसा थपिँदै गइरहेको देखिन्छ’, उनले भने, ‘कर्जा लगानी भएको छैन। निक्षेप थपिँदै गइरहेको छ। त्यसमा रेमिट्यान्स पनि बढेको छ। ब्याजदर उच्च छ जसकारण कर्जा लगानी हुनसकेको छैन।’

रेमिट्यान्स प्रवाह, पयर्टन क्षेत्रमा देखिएको सुधारले तरलता केही सहज देखिएको नेपालको भनाइ छ। 

‘अहिले आयात खुलेको छ। विदेशी मुद्रामा कत्तिको प्रेसर पर्छ, अझै दुई÷तीन महिना हेर्नुपर्छ’, उनले भने, ‘व्यवसायी व्यापारीले ऋण कति लिन्छन्, अहिले भन्न सकिने अवस्था छैन।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .