ad ad

कारोबार


बैंक तथा वित्तीय संस्थामाथिका अराजक गतिविधिमा प्रहरीको ‘एक्सन’

११ जना नियन्त्रणमा, ५ जना फरार
बैंक तथा वित्तीय संस्थामाथिका अराजक गतिविधिमा प्रहरीको ‘एक्सन’

पर्वतमा आक्रमणमा परेका एनआईसी एसियाका कर्मचारी (दायाँ)।


केशर बोगटी
चैत ६, २०७९ सोमबार १८:२८, काठमाडौँ

—गत फागुन १६ गते जाजरकोटको भेरी नगरपालिकामा एनआईसी एसिया लघुवित्तका कर्मचारीलाई कालोमासो दलियो। सो घटनामा लुटपाट समेतका जघन्य काम भयो।  

—फागुन २१ गते मोरङको कर्सियामा जीवन विकास लघुवित्तको गौरीगन्ज शाखाका कर्मचारी त्रिदेव मण्डलमाथि कुटपिट भयो। लघुवित्तपीडित संघर्ष समितिका सदस्यहरुले उनलाई धनपालनाथ गाउँपालिकामा कुटपिट गरे। 

—फागुन २५ गते झापामा अभियान लघुवित्तका कर्मचारीमाथि कालोमोसो दलियो। 

—गत बुधबार विराटनगरमा केही समूहले बैंक तथा वित्तीय संस्था बन्द गर्न लगाउने र कर्मचारीसहित सेवाग्राहीमाथि नै धरपकड समेत गरेको थियो। 
***

पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरूका कर्मचारीहरू असुरक्षित देखिएका प्रतिनिधि उदाहरण हुन् यी घटना। 

विभिन्न व्यक्ति र समूहहरुबाट विभिन्न नाममा उनीहरुलक्षित सांघातिक आक्रमणका घटनाहरु बढिरहेको यसले देखाउँछ।  

जाजरकोट, मकवानपुर, म्याग्दी, सुनसरी, उदयपुर, कपिलवस्तु, रुपन्देही, कास्कीलगायत आधा दर्जन बढी जिल्लामा यी घटना बढेका छन्। 

सो क्रममा वित्तीय संस्थाका कर्मचारीहरूमाथि कालोमोसो दल्ने, धरपकड गर्ने, सांघातिक आक्रमण र कार्यालयमै तालाबन्दी समेत कार्य भएका छन्। 

गत साता लघुवित्त वित्तीय संस्थाहरुका कर्मचारीमाथि केही समहूले कालोमोसो दलेको तेस्रो दिन नबित्दै मकवानपुरमा बैंक तथा वित्तीय संस्था र ग्राहकमाथि नै धरपकड भयो। गत बिहीबार पुनः एनआईसी एसिया बैंकका कर्मचारीमाथि आक्रमण भयो। 

वित्तीय संस्थाका कर्मचारीमाथि दिनदहाडै आक्रमण गर्ने र जबर्जस्ती बैंक तथा वित्तीय संस्था बन्द गराउँदै हिँड्नेमाथि सरकार मूकदर्शक बनेको वित्तीय संस्थाहरुले आरोप लगाएका छन्। 

नेपाल बैंकर्स संघ, बैंक तथा वित्तीय परिसंघ नेपाल (सीबीफिन) र कर्मचारी संघले घटनामा संलग्न दोषीहरूलाई यथाशीघ्र हदैसम्मको कारबाहीको माग गरिरहेका छन्। 

बैंक तथा वित्तीय संस्था र तिनका कर्मचारीमाथि दुर्व्यवहार गर्नेजस्ता अराजक गतिविधि मेडिकल व्यवसायी दुर्गा प्रसाईंले थालेको तथाकथित सावाँब्याज मिनाहाको ‘महाअभियान’सँगै बढेको हो। 

छिटफुट रुपमा यसअघि पनि हुने गरे पनि अहिले प्रसाईंको अभियानपछि ह्वात्तै बढेको छ। 

प्रसाईंले २० लाखसम्मको कर्जा मिनाहा गर्नुपर्ने भन्दै मान्छे उचाल्न सुरु गरेका थिए। 

त्यतिमात्र होइन उनले ‘कालोमोसो दस्ता’ नै बनाएर वित्तीय संस्थाका कर्मचारीमाथि दुर्व्यवहार गर्न थालेपछि प्रहरीले उक्त दस्तामा आबद्धमाथि निगरानी सुरु गरेको थियो। 

त्यसयता पनि प्रसाईंका अराजक गतिविधि रोकिएका छैनन्। 

‘१ वर्षयता हामीमाथि आक्रमण भइरहेको छ’
लघुवित्त बैंकर्स संघका अध्यक्ष तथा लक्ष्मी लघुवित्तका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रकाशराज शर्मा लघुवित्तका कर्मचारीमाथि दुर्व्यवहार गर्ने, धम्क्याउनेलगायतका काम विगत एक वर्षदेखि नै भइरहेको बताउँछन्।

‘विगत एक वर्षदेखि लघुवित्तका कर्मचारीमाथि धम्क्याउने र दुर्व्यवहार गर्ने काम भइरहेको थियो। अहिले त कालोमासो दल्ने, कुटपिट गर्नेसम्मका काम भइरहेका छन्’, उनले नेपालखबरसँग भने, ‘संस्थाका साइन बोर्ड समेत च्यात्ने, कर्मचारी हातपात गर्नेजस्ता कार्य भइरहेका छन्।’

अराजक गतिविधि बढ्नु शान्ति सुरक्षामाथिकै प्रश्न हो। विश्वासमा अडिएर कारोबार गर्ने वित्तीय संस्थालाई प्रहार गर्दा विश्वसनीयता गुम्दै जाने शर्माले बताए। 

‘बैंक तथा वित्तीय संस्थामा ४ करोड ८० लाख निक्षेपकर्ता छन्’, उनले भने, ‘लघुवित्तको मात्र ६० लाख निक्षेपकर्ता छन्। निक्षेकर्ताको चाहेको बेलामा पैसा पाउनुपर्छ। त्यो सेवा अवरोध हुने गरी तालाबन्दी गर्ने क्रियाकलापले हामी कहाँ जाँदै छौँ? वित्तीय संस्थाको सेवा चित्त नबुझे गुनासो सुन्ने निकाय छ।’

शर्माले पछिल्लो समय नेपालमा दण्डहीनता मौलाएको बताए। आक्रमण र दुर्व्यवहारका घटना बढेपछि बैंक तथा वित्तीय संस्थाले राज्यसँग गुहार मागेको उनको भनाइ छ। 

त्यस्तै कतिपय सुधार गर्नुपर्ने कुरा सुधार पनि गरिरहेको उनको दाबी छ। 

बैंक तथा वित्तीय संस्था परिसंघ नेपालका महानिर्देशक डा. गोपाल प्रसाद तिवारी बैंक तथा वित्तीय संस्थाका कर्मचारीमाथि दुर्व्यवहार र कुटपिट गर्नु निन्दनीय रहेको बताउँछन्। 

‘अर्थतन्त्र समस्यामा रहेको बेलामा बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण नतिर्ने भन्दै अराजक क्रियाकलाप भइरहेका छन्’, तिवारीले भने, ‘समस्या बढ्दै गइरहेको बेलामा त्यसको समाधान गरी अघि बढ्नुपर्नेमा वित्तीय संस्था ध्वस्त पार्ने गतिविधि भइरहेका छन्।’

उनका अनुसार सरकारको राजस्व घट्दै मात्र गइरहेको छैन, वित्तीय संस्थाको नाफामा पनि संकुचन आएको छ। बैंकिङ क्षेत्रमा खराब कर्जा बढ्दै गइरहेको अवस्थामा कर्जा नतिर्ने भन्दै भइरहेका अराजक क्रियाकलाप कानुनविपरीत भएको उनको भनाइ छ। 

त्यस्तै नेपाल वित्तीय संस्था कर्मचारी संघका अध्यक्ष पुस्कर आचार्य यस्ता गतिविधि गर्ने अराजक समूहले गर्दा समस्या निम्तिएको बताउँछन्। 

‘बैंक तथा वित्तीय संस्थामा भएको पैसा सर्वसाधारणको पैसा हो’, उनले भने, ‘बैंकहरुमा सर्वसाधारणले गरेको निक्षेप नै बैंकले कर्जा लगानी गर्छ। बैंकले गरेको लगानी सर्वसाधारणको पैसा हो। कसैले कर्जा लगानी गर्न पाउँदैनौ भन्न पाउँछन्?’ 

‘भाखा नाघेको पैसा तिर भन्दा उल्टै आक्रमण’
बैंक तथा वित्तीय संस्थाहरुले उद्यम व्यवसाय गर्नको लागि भनेर दिएको पैसाको भाखा नाघेपछि तिर भन्दा आक्रमण भएको बताएका छन्। 

नेपाल वित्तीय संस्था कर्मचारी संघका अध्यक्ष आचार्यले भाखा नाघेको पैसा तिर्नु भन्दा कर्मचारीलाई नै सांघातिक आक्रमण गर्ने कार्य अनुचित भएको बताए।  

‘पछिल्लो समय केही समूहले बैंक तथा वित्तीय संस्थाको कर्जा नतिर्ने भन्दै अभियान बनाइरहेको देखिन्छ’, उनले भने, ‘उद्यम व्यवसाय गर्नको लागि भनेर लिएको पैसा नतिर्ने भन्न पाइन्छ? यस्ता कार्य सम्बन्धित निकायलाई तत्काल रोक्नुपर्छ।’

खुल्लमखुल्ला बैंक तथा वित्तीय संस्थाबाट लिएको कर्जा नतिर्ने भन्दै अराजक गतिविधि गर्ने समूहलाई नेपाल सरकारले तत्काल कारबाही गर्नुपर्ने आचार्यको भनाइ छ। 

नेपाल सरकार र सम्बन्धित निकायले वित्तीय संस्थाविरुद्ध अराजक गतिविधि नरोके वित्तीय संस्था संघ कर्मचारी आन्दोलनमा उत्रिने चेतावनी दिए। 

‘अराजक गतिविधि बढ्दै जानु र सरकार मूकदर्शक बन्ने परिपाटी रोकिनुपर्छ, रोकिएन भने कर्मचारी संघ देशव्यापी आन्दोलनमा उत्रन्छ’, अध्यक्ष आचार्यको चेतावनी छ। 

प्रहरी भन्छ : ११ जना नियन्त्रणमा, ५ जना फरार 
यता नेपाल प्रहरीले त्यस्ता गतिविधिमा संलग्नलाई नियन्त्रणमा लिन थालेको छ। 

नेपाल प्रहरीका अनुसार हालसम्म ११ जना नियन्त्रणमा आइसकेका छन् भने ५ जना फरार छन्। 

प्रहरी प्रधान कार्यालयका अनुसार गत फागुन १६ गते जाजरकोटमा एनआईसी एसिया लघुवित्तका कर्मचारीमाथि कालोमोसो दल्ने र लुटपाट गर्ने ६ जनालाई नियन्त्रणमा लिइएको छ। यसमा संलग्न ३ जना भने अझै फरार छन्। उनीहरु ९ जनाविरुद्ध डाँकाचोरी मुद्दामा कारबाही अघि बढेको छ। 

त्यस्तै फागुन २५ गते झापामा रहेको अभियान लघुवित्तका कर्मचारीलाई कालोमोसो दल्ने ४ जनालाई पनि प्रहरीले नियन्त्रणमा लिएर अभद्र व्यवहारमा मुद्दा चलाएको छ। ६ मध्ये २ जना अझै फरार रहेकाले खोजी कार्य भइरहेको प्रहरीको भनाइ छ। 

यता चैत २ मा पर्वतमा एनआईसी एसिया बैंकका कर्मचारीमाथि सांघातिक आक्रमण गर्ने १ जनालाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ।

आक्रमणमा संलग्न ती व्यक्तिविरुद्ध पनि अभद्र व्यवहारमा मुद्दा चलाइएको प्रहरीले जनाएको छ। 

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता पोसराज पोखरेलले पर्वतमा एनआईसी बैंकको कर्मचारी आक्रमणको घटनामा संलग्न व्यक्तिलाई अभद्रसम्बन्धी कसुरमा पक्राउ गरी कारबाही अगाडि बढाएको जानकारी दिए। 

उनले नेपालखबरसँग भने, ‘अन्य कालोमोसो दल्ने र लघुवित्तका कर्मचारीमाथि दुर्व्यवहार गर्ने व्यक्ति र समूहलाई पनि पक्राउ गरी कारबाही अगाडि बढाएका छौँ।’ 

के गर्दै छ सरकार? 
यता आफूहरुमाथिको आक्रमण बढे पनि सरकार मूकदर्शक बनेको बैंक तथा वित्तीय संस्थाले आरोप लगाएपछि सरकारले तदारुकता दिनथालेको छ। 

यही चैत ४ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बैंक तथा वित्तीय संस्था र तिनमा कार्यरत कर्मचारीको सुरक्षामा ध्यान दिन सुरक्षा प्रमुखहरूलाई बोलाएरै निर्देशन दिएका हुन्। 

पछिल्ला घटनाप्रति चासो राख्दै उनले बैंक तथा वित्तीय संस्था र तिनमा कार्यरत कर्मचारीको सुरक्षा व्यवस्था मिलाउन सुरक्षा प्रमुखहरूलाई निर्देशन दिएका थिए। 

प्रधानमन्त्री प्रचण्डले गृहसचिव विनोदप्रकाश सिंह, नेपाल प्रहरीका आईजीपी धिरजप्रताप सिंह, सशस्त्र प्रहरीका आईजीपी राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापालाई सरकारी निवास (बालुवाटार) बोलाएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .