ad ad

कारोबार


सूचकमा आएको सुधारले सेयर लगानीकर्ताको रोजाइमा माछापुच्छ्रे बैंक

बजार घट्दै जाँदा सेयर ‘डिमान्ड’ बढ्दै, कस्तो छ अवस्था?
सूचकमा आएको सुधारले सेयर लगानीकर्ताको रोजाइमा माछापुच्छ्रे बैंक

लाजिम्पाटमा रहेको माछापुच्छ्रे बैंकको कार्यालय। तस्बिर : सरोज नेपाल


केशर बोगटी
चैत २६, २०७९ आइतबार १२:५३, काठमाडौँ

सेयरबजार निरन्तर घट्दै जाँदा माछापुच्छ्रे बैंकको सेयरमा भने लगानीकर्ताको चाप देखिएको छ।  

पछिल्लो साताभरि बैंकको सेयरमा खरिद चाप उच्च देखिएको हो। 

गत साताको पहिलो कारोबार दिन आइतबार बैंकको सेयरमा करिब ९० हजार कित्ता, सोमबार १ लाख १ हजार कित्ता, मंगलबार १ लाख ७ हजार कित्ता, बुधबार सेयरमा ९६ हजार ९१० कित्ता र साताको अन्तिम कारोबार दिन बिहीबार १ लाख १ हजार कित्ता खरिद माग हुँदा बिक्री अर्डर १९ हजार कित्ता थियो। 

बजार घट्दै जाँदा माछापुच्छ्रे बैंकको सेयरमा डिमान्ड बढ्दै गइरहेको छ। चैत २४ गतेसम्म आइपुग्दा बैंकको प्रतिकित्ता सेयरमूल्य २१९.९ रुपैयाँ छ। 

बजार घट्दै जाँदा अधिकांश वाणिज्य बैंकहरुको सेयरमूल्य निकै तल आइसकेको छ। २०७९ चैत २३ गतेसम्म आइपुग्दा ७ बैंकको प्रतिकित्ता सेयरमूल्य १७० रुपैयाँको हाराहारीमा झरेको छ। 

अन्य वाणिज्य बैंकको प्रतिकित्ता सेयरमूल्य तल आइरहँदा माछापुच्छ्रे बैंक लगानीकर्ताको रोजाइ बनेको छ। 

गत वर्ष प्राथमिक पुँजी कोष (सीसीएआर) सीमाभन्दा कम हुँदा यो वर्ष राष्ट्र बैंकले लाभांश वितरणमा रोक लगाएको छ। 

चालू आर्थिक वर्षको पहिलो त्रैमासिक र दोस्रो त्रैमासिकमा बैंकको सीसीएआरलगायत अन्य सूचकमा देखिएको सुधारका कारण पछिल्लो समय बैंकको सेयर डिमान्ड बढ्दै गएको हो। 

गत वर्ष वितरण गर्न नपाएको लाभांश र यो वर्षको मुनाफाबाट आगामी वर्ष बैंकले राम्रो प्रतिफल दिनसक्ने देखिएपछि बैंकको सेयरमा डिमान्ड बढ्दै गएको देखिन्छ। 

औसत लाभांश दर नै १३ प्रतिशत
अघिल्ला वर्षहरुमा समेत माछापुच्छ्रे बैंकले राम्रो प्रतिफल दिएको छ। 

अघिल्लो ८ वर्षलाई हेर्दा बैंकको औसत लाभांश दर नै १३ प्रतिशत रहेको छ। 

गत वर्ष एक त्रैमासिकमा प्राथमिक पुँजी कोष (सीसीएआर) नपुगेका कारण लाभांश वितरण गर्न नपाएको बैंकको आर्थिक वर्षको पहिलो त्रैमासिकमा पुँजी कोष ८.८६ प्रतिशत छ। त्यसैगरी पूरक पुँजी (सीएआर) १३.२० प्रतिशत छ।

आर्थिक वर्ष २०७९/०८० को पहिलो त्रैमासिक अर्थात् असोज मसान्तमा बैंकको सीसीएआर ८.७१ प्रतिशत थियो। 

बैंकको सीसीएआर सुधार हुँदै जादा बैंकले आगामी वर्ष लाभांश दिने पक्का जस्तै बनेको छ। तर, तेस्रो र चौथो त्रैमासिक विवरण भने आएको छैन। 

वाणिज्य बैंकहरुको सीसीएआर साढे ८ प्रतिशत हुनुपर्ने व्यवस्था छ। एक वर्षमा सीसीएआर एक त्रैमासिकमा समेत नपुगे त्यस वर्षको नाफाबाट बैंकले लाभांश वितरणमा नेपाल राष्ट्र बैंकले रोक लगाउने गर्दछ। 

२०७८/०८९ पहिलो त्रैमासिक अर्थात् असोज मसान्तमा माछापुच्छ्रे बैकको सीसीएआर ८.०५ प्रतिशत थियो। सोही कारण नेपाल राष्ट्र बैंकले लाभांश वितरणमा रोक लगाएको हो। 

सहज बन्दै लगानीयोग्य रकम
दोस्रो त्रैमासिकसम्ममा आइपुग्दा बैंकको लगानीयोग्य रकम समेत सहज बन्दै गएको देखिन्छ। 

आर्थिक वर्ष २०७९/०८० को पहिलो त्रैमासिकसमा बैंकको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ८६.३३ प्रतिशत रहेकोमा दोस्रो त्रैमासिकमा सुधार हुँदै ८५.०२ प्रतिशतमा आएको छ। 

सीडी रेसियो जति कम हुन्छ त्यति नै बैंकसँगै लगानीयोग्य रकम रहेको भन्ने बुझिन्छ। तसर्थ विस्तारै बैंकसँग कर्जा लगानी क्षमता बढ्दै गएको देखिन्छ। 

साथै बैंकको खुद तरलता (नेट लिक्विडिटी) समेत बढेको देखिन्छ। पहिलो त्रैमासिकमा यस्तो अनुपात २१.४५ प्रतिशत रहेकोमा दोस्रो त्रैमासिकसमा २३.०५ प्रतिशत पुगेको छ। बैंकसँग नेट लिक्विडिटी धेरै हुनुलाई राम्रो मानिन्छ। 

यता बैंकले निक्षेप बढाउन समेत सफल देखिन्छ। बैंकले दोस्रो त्रैमासिकम्ममा निक्षेप १५३ अर्ब ४५ करोड र कर्जा १३३ अर्ब ३६ करोड रुपैयाँ प्रवाह गरेको छ। 

यता बैंकको १.४१ प्रतिशत छ। अन्य वाणिज्य बैंकको खराब कर्जा बढेर दोब्बर हुँदा बैंकको खराब कर्जा सामान्य बढेको छ। प्राथमिक क्षेत्रमा बैंकले २५.६९ प्रतिशत कर्जा प्रवाह गरेको छ। 

प्रतिसेयर आम्दानी १९.९० रुपैयाँ
बैंकको प्रतिसेयर आम्दानी १९.९० रुपैयाँ रहेको छ। बुक भ्यालु १५०.९७ पैसा रहेको छ। 

बैंकको रिटन अन इक्विटी (आरओई) १३.२४ रुपैयाँ छ। सञ्चालनमा रहेका १३ वाणिज्य बैंकको भन्दा माछापुच्छ्रे बैंकको आरओई राम्रो देखिएको छ। 

बैंकको सञ्चिति कोष (रिजर्भ) ४ अर्ब १३ करोड ८९ लाख रुपैयाँ रहेको छ। बैंकहरुसँग रिजर्भ जति धेरै हुन्छ त्यति नै लगानीकर्ताको हिसाबले हेर्दा राम्रो हो। आधा दर्जन वाणिज्य बैंकहरुभन्दा बैंकको सञ्चिति कोष ठूलो छ। 

बैंकको चुक्ता पुँजी समेत १० अर्ब रुपैयाँ छ भने बैंकले चालू आवको दोस्रो त्रैमासिकसम्ममा ९ अर्ब ६१ करोड ब्याज आम्दानी गरेको छ।

बैंकले पुस मसान्तसम्ममा १ अर्ब २ करोड रुपैयाँ खुद नाफा गरेको छ। 

त्यसैगरी बैंकको वितरणयोग्य आम्दानी १ अर्ब ५ करोड रुपैयाँ छ। तेस्रो र चौथो त्रैमासिकमा अझै वितरण योग्य नाफा बढ्नेछ। 

बैंकहरुको वितरण योग्य नाफा जति धेरै हुन्छ सोहीअनुसार सेयरधनीले प्रतिफल पाउने गर्छन्। 

लगानीकर्ताको हिसाबबाट राम्रो प्रतिफल दिनसक्ने कम्पनीलाई राम्रो मानिन्छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .