ad ad

कारोबार


निष्क्रिय कर्जा उच्च भएका शाखाबाट बैंकहरूले दिन छाडे ऋण

निष्क्रिय कर्जा उच्च भएका शाखाबाट बैंकहरूले दिन छाडे ऋण

केशर बोगटी
चैत २६, २०७९ आइतबार १६:२०, काठमाडौँ

पछिल्लो समय बैंकहरू कर्जा उठाउने (रिकभरी)तिर केन्द्रित भएका छन्।

निष्क्रिय कर्जा बढ्न थालेपछि कर्जा व्यवसाय विस्तार रोकेर भए पनि बैंकहरू ‘रिकभरी’ गर्नेतिर लागेका हुन्। 

आर्थिक वर्षको दोस्रो त्रैमासिकमा वाणिज्य बैंकहरूको खराब कर्जा (एनपीएल) औसत २.४९ प्रतिशत छ। अघिल्लो वर्षको यसै अवधिमा वाणिज्य बैंकहरूको एनपीएल १.१८ प्रतिशत थियो। 

अघिल्लो वर्षको तुलनामा चालू आवको दोस्रो त्रैमासिकमा बैंकहरूको खराब कर्जा दोब्बर पुगेको छ। 

बैंकहरूको एनपीएल पाँच प्रतिशत बढी हुँदा त्यसलाई जोखिमयुक्त मानिन्छ। 

एनपीएल बढ्न थालेपछि बैंकहरूले ५ प्रतिशत बढी खराब कर्जा भएका शाखाबाट कर्जा प्रवाह गर्न छाडेका हुन्। 

जसकारण एनपीएल बढी भएका बैंक रिकभरी लागेर कर्जा प्रवाह ठप्प पारेका हुन्। चालू आर्थिक वर्षमा कृषि विकास बैंकदेखि केही बैंकहरूको निष्क्रिय कर्जा ४ प्रतिशत माथि पुगेको छ। 

आर्थिक वर्षको तेस्रो त्रैमासिकमा अधिकांश वाणिज्य बैंकको खराब कर्जा ५ प्रतिशत माथि पुग्ने बैंकरहरूले आकलन गर्न थालेका छन्। 
हालसम्म नेपाल एसबीआई बैंकको निष्क्रिय कर्जा सबैभन्दा थोरै छ। बैंकले निष्क्रिय कर्जा ०.४७ प्रतिशत छ। 

त्यसैगरी एभरेष्ट बैंक, सानिमा बैंक, स्ट्यान्डर्ड चार्टर्ड, एनआईसी एसिया बैंकको खराब कर्जा १ प्रतिशत कम छ।

यी बैंकको एनपीएल ३ प्रतिशत माथि 
चालू आर्थिक वर्षको दोस्रो त्रैमासिकसम्ममा आइपुग्दा सबैभन्दा धेरै एनपीएल भएको बैंक हो कृषि विकास बैंक। 

बैंकको एनपीएल साढे ४ प्रतिशत बढी छ। त्यसैगरी नेपाल बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा, हिमालयन बैंक, कुमारी बैंक र सनराइज बैंकको खराब कर्जा ३ प्रतिशत माथि छ। 

यता एनपीएल २ प्रतिशत तल भएका बैंकहरू पनि कर्जा प्रवाहभन्दा रिकभरीमा केन्द्रित भएको माछापुच्छ्रे बैंकका एक अधिकारीले बताए। 

उनका अनुसार तेस्रो त्रैमासिकमा बैंकहरू एनपीएल थप नबढाउने हिसाबले काम गरिरहेका छन्।

बैंकहरूमा तरलता सहज हुँदाहुँदै पनि कर्जा प्रवाहमा कडाइ गर्नुपर्ने अवस्था रहेको एक बैंकरले बताए। 

ती बैंकरका अनुसार पछिल्लो समय ब्याड लोन रेसियो (खराब कर्जा अनुपात) बढ्न थालेसँगै ५ प्रतिशत बढी एनपीएल हुने शाखाबाट हुने कर्जा प्रवाह रोकिएको छ। 

‘समग्रमा एनपीएल ५ प्रतिशत तल भए पनि कुनै ब्रान्चबाट १५/२० प्रतिशतसम्म एनपीएल छ’, ती बैंकरले नेपालखबरसँग भने। 

एनपीएल उच्च भएका शाखा लगानी गर्नसक्ने अवस्थामा भए पनि केन्द्रीय कार्यालयले नै लगानी नगर्न भनेको ती अधिकारी बताउँछन्। 

‘केही बैंकहरू जसको एनपीएल १ प्रतिशत तल छ, त्यस्ता बैंकहरू समेत सहज रुपमा कर्जा प्रवाह गरिरहेका छैनन्’, ती बैंकरले थपे, ‘एनपीएल २ प्रतिशत माथि रहेका बैंकहरूले रिकभरीमा जोड दिएर कर्जा ठप्प पारेका छन्।’

असहज परिस्थितिमा बैंकहरूले आफैँ पोलिसीअनुसार कर्जा लगानी प्रवाह गरिरहेका छन्। 

‘कुनै बैंकका ग्राहक जसले ठूलो प्रोजेक्ट चलाएर बसेको छ भने उसले टर्म लोन घटाएर तल झारिसकेको अवस्था छ’, ती बैंकरले भने, ‘फेरि लोन चाहियो भने त्यस्तो प्रोजेक्टलाई लोन नदिँदा त प्रोजेक्ट र बैंकको पैसा धरापमा जान्छ। त्यस्तो अवस्थामा आफ्नो ग्राहकलाई धितोको सीमा र प्रोजेक्टको आकारले जस्टिफाई गर्छ भने त्यस्तो ग्राहकलाई कर्जा प्रवाह गरिरहेका छौँ।’

नयाँ ग्राहलाई कर्जा प्रवाह गर्न स्वीकृत लिनुपर्ने उनले बताए। 

‘केही समयअघि नयाँ ग्राहकलाई कर्जा प्रवाह गर्न स्वीकृत लिनुपर्ने अवस्था थिएन’, उनले भने, ‘एनपीएल ५ प्रतिशत माथि हुने शाखाले कर्जा प्रवाह गर्न केन्द्रबाट स्वीकृति लिनुपर्ने हुन्छ।’ 

‘बैंकहरू व्यवसायमा आक्रामक हुने बेला देखिँदैन’
बैंकहरू अझै पनि आक्रामक भएर व्यवसाय विस्तार गर्ने अवस्थामा नरहेको राष्ट्र बैंकका आर्थिक अनुसन्धान विभागका प्रमुख प्रकाश कुमार श्रेष्ठ बताउँछन्।  

उनका अनुसार बैंकहरू कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) हेर्दा साढे २ खर्ब बढी तरलता देखिन्छ। 

तर आर्थिक वर्ष २०७९/०८० मा अधिकांश बैंकहरूको प्राथमिक पुँजी कोष (सीसीएआर) कसिलो हुँदा कर्जा प्रवाह गर्न नसक्ने अवस्थामा रहेको श्रेष्ठको भनाइ छ।   

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .