ad ad

कारोबार


बैंकहरुले ऋण उठाउन सकेनन्, बढेको कर्जा नोक्सानीले कस्तो असर पर्ला?

बैंकहरुले ऋण उठाउन सकेनन्, बढेको कर्जा नोक्सानीले कस्तो असर पर्ला?

केशर बोगटी
बैशाख १०, २०८० आइतबार ११:२४, काठमाडौँ

आर्थिक वर्ष २०७९/०८० को चैतसम्ममा वाणिज्य बैंकहरुले ३० अर्ब ८६ करोड रुपैयाँ कर्जा नोक्सानी व्यवस्था गरेका छन्। अर्थात् बैंकहरुले उक्त रकमको प्रोभिजन छुट्याएका छन्। 

गत वर्ष सोही अवधिमा वाणिज्य बैंकहरुले १८ अर्ब १७ करोड रुपैयाँ प्रोभिजन गरेका थिए। बैंकहरुको खराब कर्जा बढ्दा यो वर्ष प्रोभिजन बढेको हो।

गत वर्षको सोही अवधिको तुलनामा यो वर्ष वाणिज्य बैंकको कर्जा नोक्सानी व्यवस्था दोब्बर पुगेको छ। 

गत वर्ष १.२२ प्रतिशत रहेको वाणिज्य बैंकहरुको निष्क्रिय कर्जा आर्थिक वर्षको चैतमा ३.०३ प्रतिशत पुगेको छ। 

प्रवाह गरेको ऋण नउठ्दा बैंकहरुको निष्क्रिय कर्जा ३ प्रतिशत माथि उक्लिएको हो। 

गत वर्षको तुलनामा निष्क्रिय कर्जा झण्डै २ प्रतिशतले बढेको छ। बैंकहरुको निष्क्रिय कर्जा बढ्दा बैंकहरुको लाभांश घट्ने मात्र नभएर कर्जा लगानी क्षमतामा समेत गिरावट आउने गर्दछ। साथै लगानीकर्ताले पाउने लाभांशमा समेत घट्ने हुन्छ। 

पछिल्लो समय लगानीयोग्य रकम (तरलता)को अभाव भइरहेको बेलामा बैंकहरुको बढेको प्रोभिजनले थप समस्या थपिने देखिन्छ। 

उद्योगी व्यवसायीले कर्जा नपाएको भनिरहेका बेला बैंकहरुको बढ्दो प्रोभिजनले ऋण प्रवाह क्षमता झन् घटेको छ। 

कुन बैंकले कति छुट्याए कर्जा नोक्सानी व्यवस्था? 
आर्थिक वर्ष २०७९/०८० को चैतसम्ममा कुमारी बैंकले सबैभन्दा धेरै कर्जा नोक्सानी छुट्याएको छ। बैंकले उक्त अवधिसम्म झण्डै ४ अर्ब प्रोभिजन गरेको छ। चैत मसान्तसम्म बैंकको खराब कर्जा ३.९७ प्रतिशत पुगेको छ। 

गत वर्ष यसै अवधिमा बैंकको खराब कर्जा ०.९७ प्रतिशत थियो। बैंकको कर्जा रिकभरीमा सुधार नहुँदा खराब कर्जा बढ्न गई प्रोभिजन भएको छ। 

त्यसैगरी प्रोभिजन बढी राख्नेमा नबिल बैंक दोस्रोमा छ। नबिल बैंकको खराब कर्जा ३.८७ प्रतिशत पुगेको छ। बैंकको खराब कर्जा झण्डै ४ प्रतिशत नजिक हुँदा बैंकको प्रोभिजन बढेर ३ अर्ब ३३ करोड पुगेको छ। 

साथै, तेस्रो त्रैमासिकमा एभरेष्ट बैंकले ५५ करोड १४ लाख रुपैयाँ, नेपाल एसबीआई बैंकले ६१ करोड ५८ लाख, एनआईसी एसिया बैंकले २३ करोड ५२ लाख रुपैयाँ, एनएमबी बैंकले १ अर्ब १८ करोड, सिद्धार्थ बैंकले २ अर्ब १६ करोड २० लाख, नेपाल बैंकले १ अर्ब ४८ करोड ५० लाख, प्राइम कमर्सियल बैंकले ९९ करोड ८६ लाख र सिटिजन्स बैंकले १ अर्ब १२ करोड ६६ लाख रुपैयाँ प्रोभिजन गरेको छ। 

त्यसैगरी हिमालयन बैंकले दुई अर्ब बढी प्रोभिजन गरेको छ। सिभिल बैंकलाई आफूमा समाहित गरेको हिमालयनको खराब कर्जा साढे ४ प्रतिशत माथि प्रोभिजन बढेको हो। चैतसम्म वाणिज्य बैंकहरुले २ अर्ब ४५ करोड रुपैयाँ प्रोभिजन गरेको छ। 

माछापुच्छ्रे बैंकले ८१ करोड ९५ लाख, लक्ष्मी बैंकले १ अर्ब ९ करोड, स्ट्यान्डर्ड चार्टर्ड बैंकले भने ‘राइट ब्याक’ गरेको छ। स्ट्यान्डर्ड चार्टर्ड बैंकको खराब कर्जा सुधार नबढ्दा गत वर्ष गरेको प्रोभिजनबाट २ करोड रुपैयाँ ‘राइट ब्याक’ गरी नाफामा देखाएको छ। 

साथै सनराइज बैंकले १ अर्ब २९ करोड रुपैयाँ, प्रभु बैंकले १ अर्ब ५७ करोड, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ७० करोड, कृषि विकास बैंकले २ अर्ब ११ करोड, ग्लोबल आईएमई बैंकले २ अर्ब ७१ करोड, सानिमा बैंकले १ अर्ब १४ करोड र राष्ट्रिय वाणिज्य बैंकले १ अर्ब ३१ करोड रुपैयाँ प्रोभिजन गरेको छ। 

प्रोभिजन बढ्दा त्यसको असर सम्रग क्षेत्रमा पर्छ : आचार्य 
वित्तीय क्षेत्रका जानकार केशव आचार्यले बैंकहरुको खराब कर्जा बढ्नु वित्तीय क्षेत्रको लागि नकारात्मक रहेको बताए।  

उनका अनुसार खराब कर्जा बढ्दा बैंकहरुले कर्जा प्रवाह गर्न सक्दैनन्। 

‘ब्याज तिरेर संकलन गरेको पैसा प्रोभिजन गर्दा बैंकहरुले कर्जा प्रवाह गर्न सक्दैनन्’, उनले भने, ‘बैंकहरुको खराब कर्जा बढ्दा सोहीअनुसार कर्जा नोक्सानी व्यवस्था छुट्याउनुपर्छ। जसले गर्दा बैंकहरुको स्वतः नाफा घट्ने भयो, कर्जा विस्तार पनि गर्न समेत सकेन र लाभांश क्षमतामा समेत गिरावट आउने हुन्छ।’

खराब कर्जा बढ्दा बैंकहरुले लगानी गर्ने पैसा प्रोभिजन गर्नुपर्ने हुँदा स्वतः त्यसको असर वित्तीय क्षेत्रमा देखिने उनले बताए।

बैंकहरुको खराब कर्जा बढ्दा त्यसको असर सर्वसाधारणमा समेत देखिने आचार्यको भनाइ छ।  

‘बैंकहरुले ३ प्रतिशत बढी खराब कर्जा भए लघुवित्तलाई कर्जा दिँदैनन्’, उनले भने, ‘यता केही समूह लघुवित्तको विरोधमा लागेका छन्।

यसले गर्दा लघुवित्त कर्जा असुली समेत निकै प्रभावित भएको छ भने खराब कर्जाको मात्रा बढेपछि बैंकबाट कर्जा लिन नसक्ने हुन्छन्। यसले लघुवित्तबाट सानो कर्जा लिई व्यवसाय गर्नेलाई समेत असर पर्छ।’

लघुवित्तलाई गाह्रो पर्नु भनेको धितो राख्न नसक्ने गरिब किसानलाई समेत असर पर्नु भएको उनले उल्लेख गरे। 

‘बैंकहरुको खराब कर्जा बढ्नु भनेको मानिसको रक्तचाप ८०/१२० भन्दा माथि हुनुजस्तै हो’, उनले भने, ‘रक्तचाप १५०/२०० पुग्दा त्यसले असर गर्छ।’

खराब कर्जा बढ्नुले बैंकहरुको लगानीलाई प्रश्न गर्छ : नेपाल 
त्यस्तै, पूर्वगभर्नर चिरञ्जीवी नेपालले बैंकहरुको खराब कर्जा ३ प्रतिशत माथि हुनुले कर्जा प्रवाहमाथि प्रश्न खडा गरेको बताए। 

‘तेस्रो त्रैमासिकमा बैंकहरुको खराब कर्जा ३ प्रतिशत माथि पुगेको छ’, उनले भने, ‘यसले बैंकलाई कुन क्षेत्रमा लगानी गरेको र किन यस्तो क्षेत्रमा लगानी गरेको भनेर प्रश्न गरेको छ। साथै राष्ट्र बैंकको नियमन र सुपरिवेक्षणमा पनि प्रश्न हुन्छ।’

बैंकहरुको खराब कर्जा उठ्न नसक्नुले जनताको निक्षेप असुरक्षित रहेको देखाउने उनले बताए। 

नेपालले भने, ‘बैंकहरुले प्रोभिजन गरेर भए पनि त्यस्तो अवस्था नआउला तर यसमा बैंकहरुले ख्याल गर्नुपर्नेछ।’ 

बैंकहरुले गरेको लगानीमा राष्ट्र बैंकले थप कडाइ गर्नुपर्ने नेपालले बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .