ad ad

कारोबार


पोखरामा बन्ने भयो अन्तर्राष्ट्रियस्तरको कन्भेन्सन सेन्टर, ३ हजार सिट क्षमता

बैठक, सेमिनार, कन्सर्ट, प्रोडक्ट लञ्च र व्यावसायिक कार्यक्रम गर्न सकिने
पोखरामा बन्ने भयो अन्तर्राष्ट्रियस्तरको कन्भेन्सन सेन्टर, ३ हजार सिट क्षमता

गोदावरीमा बनेको सम्मेलन केन्द्रको भित्री कक्ष (फाइल तस्बिर)


नेपालखबर
असोज २०, २०७९ बिहिबार ८:२६, काठमाडौँ

पोखरामा ३ हजार सिट क्षमताको कन्भेन्सन सेन्टर बन्ने भएको छ। 

लगानी बोर्डले पोखरामा कन्भेन्सन सेन्टर स्थापना गर्नको लागि पूर्वसम्भाव्यता अध्ययन गरिरहेको हो। 

लगानी बोर्डले नेपालमा बैठक, प्रोत्साहन÷प्रवचन केन्द्र, सेमिनार, प्रदर्शनी (एमआईसीई टुरिजम)को लागि हब हुनसक्ने आकलन गर्दै कन्भेन्सन सेन्टर बनाउन अध्ययन थालेको छ। 

नेपालमा सेमिनार, बैठकहरु ५ तारे होटलमा हुँदै आएको छ। पोखरामा पर्यटकीय हब रहेकाले अन्तर्राष्ट्रिय कन्फरेन्स सेन्टर उपयुक्त हुने बोर्डले उल्लेख गरेको छ। 

पोखरामा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल अन्तिम चरणमा पुगेको छ। सरकारले पोखरा विमानस्थल २०२३ जनवरीबाट सञ्चालन गर्ने घोषणा गरिसकेको छ। 

कन्भेन्सन सेन्टर बन्दा विमानस्थललाई सहयोग पुग्ने आकलन छ। अन्तर्राष्ट्रिय कन्भेन्सन सेन्टरमा ३ हजार बढी अट्नसक्ने कन्भेन्सन हल रहनेछ। जहाँ बैठक, सेमिनार, कन्सर्ट, प्रोडक्ट लञ्च र व्यावसायिक कार्यक्रम गर्न सकिन्छ। 

कन्भेन्सन सेन्टरमा मिटिङ हल छुट्टै हुनेछ। व्यवस्थित र फर्निचरले पूर्ण मिटिङ हल हुनेछन्। हलसँगै साना बैठक, भीआईपी मिटिङको लागि कोठाहरु हुनेछन्। विशेष बैठकहरु, बिजनेस मिटिङ कोठा, कर्पोरेट मिटिङ रहेका छन्। 

कुनै वस्तुको प्रदर्शनी गर्न बुथ र स्टल सेन्टरमा प्रदर्शनी हल हुनेछ। जसमा भीआईपी र जनरल छुट्टै हल बनाउने कन्सेप्ट छ। 

सेमिनार, बैठकमा भाग लिन आउनेका लागि सेन्टरमा १०० वटा कोठासहित व्यावसायिक होटल बनाउने प्रस्ताव छ। अन्तर्राष्ट्रिय स्ट्यान्डर्डको होटलमा व्यक्तिगत कोठा र केही दिनको लागि अपार्टमेन्टको रुपमा भाडामा दिन सकिन्छ। पाहुनालाई खाना र बस्ने व्यवस्था व्यावसायिक होटलमा गर्न सकिन्छ। 

होटलमा स्थानीय र अन्तर्राष्ट्रिय परिकारसहित डाइनिङ, कफी सप, खुद्रा पसल, जिम, स्पा, स्मिङ पुल, हस्तकला पसल राख्न सकिने बोर्डले उल्लेख गरेको छ। 

कन्भेन्सन सेन्टरमा आर्ट ग्यालेरी र म्युजियम रहनेछन्। जसमा नेपालको विविध संस्कृति, नेपालको ऐतिहासिक पक्षहरुबारे शोकेसमा रहनेछन्। कलाकार र शिल्पकारको आफ्नो क्षमता प्रदर्शन गर्न पाउनेछन्। सांस्कृतिक र सम्पदा केन्द्र स्थापना हुने अनुमान गरिएको छ। 

नेपाल भ्रमणमा आएका पर्यटकलाई कला र संस्कृतिको विषयमा जानकारी गराउने सहयोग पुग्नेछ। नेपालको पर्यटन क्षेत्रको विषयमा जानकारी दिन सक्नेछ। 

सेन्टरमा भाषा अनुवादको व्यवस्था, फास्ट स्पिच टाइपिस्टलगायतको व्यवस्था हुनेछ। 

कन्भेन्सन सेन्टरमा हेलिप्याड रहनेछ। सेन्टरमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रका उच्च तहका अधिकारी सहभागी हुनको लागि हेलिप्याडको व्यवस्था हुनेछ। बैठक, सेमिनारमा सहभागी हुनेको लागि व्यवस्थित पार्किङ निर्माण हुनेछ। 

सेन्टरको बेसमेन्ट र ग्राउन्ड पाकिङको व्यवस्था हुनेछ। उक्त ठाउँमा विद्युतीय गाडीको लागि चार्जिङ स्टेसन समेत निर्माण हुनेछ। 

कार्यक्रम व्यवस्थापनको वान स्टप सेन्टर सेवा उपलब्ध हुनेछ। कसैले बैठक सेमिनार गर्न चाहे सहजै बुकिङ गर्न सकिने व्यवस्था हुनेछ। थप सुविधाको रुपमा क्याटरिङ र हस्पिटालिटी सेवा रहनेछ। 

सेन्टर र सहभागीहरुको सुरक्षाको लागि अग्नि नियन्त्रण प्रणाली, सीसीटीभी सर्भिलेन्स, फायर एक्जिट, प्राथमिक रेस्पोन्स टिम, २४ सै घण्टा सुरक्षाकर्मी, वान बटम थ्रेट अलर्ट सिस्टम हुनेछ। 

२०२२ नोभेम्बरसम्म पूर्वसम्भाव्यता अध्ययन सक्ने लक्ष्य छ। सम्भव देखिए २०२३ डिसेम्बरसम्म विस्तृत सम्भाव्यता अध्ययन गर्नेछ। अध्ययनबाट व्यावसायिक रुपमा सम्भव देखिए २०२४ बाट निर्माण थाल्ने बोर्डको योजना छ। 

कन्फरेन्स सेन्टर निर्माण हुँदा नेपालमै अन्तर्राष्ट्रियस्तरका सेमिनार, बैठक सञ्चालन गर्न सकिन्छ। यसले नेपालमा पर्यटक वृद्धि गर्न सहयोग पुग्ने बोर्डले उल्लेख गरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .