कारोबार


कलंकी–वसुन्धरा सडक विस्तार प्रक्रिया अघि बढ्ने, करछुट दिन सरकार सहमत

कलंकी–वसुन्धरा सडक विस्तार प्रक्रिया अघि बढ्ने, करछुट दिन सरकार सहमत

नेपालखबर
फागुन १३, २०८२ बुधबार १२:३४, काठमाडौँ

काठमाडौं चक्रपथ सडकको दोस्रो खण्ड (कलंकी–वसुन्धरा)को विस्तार प्रक्रिया अघि बढ्ने भएको छ।

चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा विस्तार हुनलागेको कलंकी–वसुन्धरा ८.२ किलोमिटर सडक खण्ड करछुटको विषयमा निर्णय हुन नसक्दा अघि बढ्न सकिरहेको थिएन। मंगलबारको मन्त्रिपरिषद्ले कलंकी–वसुन्धरा सडक खण्ड विस्तारका लागि आवश्यक करछुट प्रदान गर्ने निर्णय गरेको अर्थमन्त्री रामेश्वर खनालले जानकारी दिए। 

वैदेशिक सहायता परिचालन नीति, २०८२ मा पनि वैदेशिक अनुदानमा सञ्चालित आयोजनामा करछुट दिने र अनुदानको रकम कर तिर्न उपयोग नगर्ने उल्लेख छ। सोही नीतिअनुसार मन्त्रिपरिषद्ले करछुटको निर्णय गरेको हो। 

चक्रपथको दोस्रो खण्ड विस्तारका लागि आवश्यक पर्ने खर्चमा करछुट प्रदान गर्न  गत माघ १४ गते अर्थ मन्त्रालयले सहमति प्रदान गरेको थियो। उक्त सहमतिलाई वैधानिकता प्रदान गर्न उक्त प्रस्ताव मन्त्रिपरिषद्मा पेस गरिएको थियो। मन्त्रिपरिषद्को स्वीकृतिसँगै दोस्रो खण्ड विस्तारका लागि प्रयोग हुने निर्माण सामग्री, निर्माण उपकरण, भिसा शुल्कलगायतका विषयमा नेपाल सरकारले कर लिनेछैन। 

सरकारको यो निर्णयसँगै चक्रपथको दोस्रो खण्डको विस्तार प्रक्रिया अघि बढाउन सहज हुने सडक विभागले जानकारी दिएको छ। 

अब विस्तार प्रक्रिया अघि बढाउन दुई मुलुकबीच कार्यान्वयन सम्झौता हुने विभागका उपमहानिर्देशक अर्जुन अर्यालले जानकारी दिए। 

यो चीनको आर्थिक तथा प्राविधिक सहयोगमा विस्तार हुने परियोजना हो। कार्यान्वयन सम्झौतापछि चीन सरकारले नै निर्माण कम्पनी छनोट गरी विस्तार प्रक्रिया अघि बढाउनेछ। कलंकी–वसुन्धरा सडक खण्ड विस्तार सम्पन्न गरी नेपाल सरकारलाई हस्तान्तरण गर्नेछ। चक्रपथको पहिलो खण्ड कलंकी–कोटेश्वर पनि चीनले विस्तार गरी नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो। 

दोस्रो चरणको चक्रपथ विस्तारका लागि नेपाल र चीन सरकारबीच २०७५ असोजमा आर्थिक तथा प्राविधि सहयोगका लागि सम्झौता भएको थियो। यस खण्ड विस्तारको लागत ५६७.१३ मिलियन चिनियाँ युआन छ। यो अनुदान हो। 

पछिल्लो पटक २०८१ भदौमा नेपाल र चीनबीच सम्झौतापत्र आदानप्रदान भएको थियो। त्यसपछि चीनको सीसीसीसी फर्स्ट हाइवे कन्सल्ट्यान्टस् र सीआन फाङ्झाउ इन्जिनियरिङ कन्सल्टिङले विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गरेको थियो। दुई मुलुकबीच कार्यान्वयन सम्झौता नहुँदा उक्त डीपीआर चीनले नेपाललाई उपलब्ध गराएको छैन। तर डिजाइनका सम्बन्धमा सडक विभाग र चिनियाँ पक्षबीच विभिन्न चरणमा छलफल भने भइरहेको थियो।

सडक विभागका अनुसार पहिलो खण्डको विस्तार भएको कमजोरी दोस्रो खण्डमा सुधार गरी चिनियाँ पक्षले डिजाइन गरेको जानकारी दिएको छ। पहिलो खण्डमा मेडियन, ओभरपासलगायतको संरचनाहरु निर्माण गरिएको थिएन। चीनले सडक विस्तार गरी हस्तान्तरण गरेपछि नेपाल सरकारले कलंकी–कोटेश्वर खण्डमा मेडियन र ग्वार्कोमा ओभरपास र केही स्थानमा थप आकाशे पुल निर्माण गरेको थियो। 

दोस्रो खण्ड पनि पहिलो खण्डजस्तै आठ लेनमा स्तरोन्नति हुनेछ। दोस्रो खण्डको सडकमा ३ मिटरको मेडियनसहित दायाँ र बायाँ २.७५ मिटर मिटरको सर्भिसलेन १४ मिटरको मुख्य लेन र ०.५ मिटरको स्ट्रिम हुनेछ। 

पैदलयात्रीका लागि चारवटा आकाशे पुल निर्माण हुनेछ। हालको गोंगबु बसपार्कनजिकको विष्णुमती पुल भत्काइनेछ। उक्त पुलको स्थानमा ४ लेनको ओभरपास निर्माण गरिनेछ। सर्भिस लेनका लागि दायाँ र बायाँ दुईवटा नयाँ पुल निर्माण गरिनेछ। 

यस्तै वनस्थली–ढुंगेधारा क्षेत्रमा अन्डरपास निर्माण गरिनेछ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad