ad ad

कारोबार


शिक्षण पेसाबाट अवकाश भएका खड्का सुन्तला खेतीबाट बर्सेनि कमाउँछन् ५ लाख

शिक्षण पेसाबाट अवकाश भएका खड्का सुन्तला खेतीबाट बर्सेनि कमाउँछन् ५ लाख

नेपालखबर
पुस ३, २०८० मंगलबार १०:३७, बागलुङ

धेरै जागिरेहरू अवकाशपछि बुढेसकालमा निस्क्रिय जीवन विताउँछन्। तर, बागलुङका एक शिक्षक ३७ वर्ष शिक्षण पेसामा बिताउँदासमेत थाकेनन्। ७१ वर्षको उमेरमा पनि उत्तिकै जोश जाँगरका साथ उनी अहिले सुन्तलाखेतीमा रमाउँदै छन्।

शिक्षक पेसाबाट अवकाश भएका बागलुङ नगरपालिका–८ सिगानाका अनन्तबहादुर खड्काले अवकाशपछिको समय सुन्तला खेतीमा लगाएको १० वर्ष भयो। उनले सुन्तलाखेतीबाटै वार्षिक रु पाँच लाख आम्दानी गर्दै आएका छन्। 

शिक्षक, प्रधानाध्यापक हुँदै स्रोत व्यक्तिबाट अवकाश भएका खड्काले अहिले मासिक रु ३५ हजारका दरले पेन्सनसमेत बुझ्दै आएका छन्।

आफू अहिले किसानका रूपमा सक्रिय भएको भन्दै उनले कृषिबाट सन्तुष्ट बनेको बताए। उनले आठ रोपनी जग्गामा लगाएको सुन्तला यसपटक चितवनका बजारसमेत पुगेको छ। विगतका वर्षमा धादिङ र पोखराका बजारमा पुगेका सिगानाको सुन्तला चितवनमा पुगेको हो। 

दुई सय सुन्तलाको बोटबाट सुन्तला उत्पादन गरिरहेका खड्काले अवकाशपछि आफूलाई सुन्तलाखेतीमा समर्पित गराएका छन्। ‘परम्परागत कृषि पेसा पुख्र्यौली थियो, मैले धान फल्ने खेतमा सुन्तला खेती गरेको हुँ, शिक्षक, प्रधानध्यापक हुँदै स्रोत व्यक्ति बने, ३७ वर्ष लामो जागिरपछि सुन्तलाखेतीमा लागेँ,’ उनले भने, ‘अहिले उत्पादन गरेको सुन्तला चितवनको व्यापारीलाई रु पाँच लाखमा एकमुष्ट बिक्री गरेँ, गत वर्ष  सुन्तला बिक्रीबाट रु पाँच लाख कमाएको हो।’

चितवनका व्यापारीले सुन्तला बगैचाबाट नै एकमुष्ट किनेपछि सुन्तला टिप्ने स्थानीय महिलाले समेत रोजगारी पाएका छन्। आगमी वर्ष केही सुन्तलाको रुखले उत्पादन दिन थाल्ने भएपछि सुन्तलाको आम्दानीमा वृद्धि हुने खड्काको भनाइ छ। यस पटक चिवनका सुन्तला व्यापारी शिव सापकोटाले सिगानाको सुन्तला आयात गरिरहेका छन्।
 
सिगानाको सुन्तला स्वादिष्ट भएको थाहा पाएपछि सापकोटा सुन्तला खरिदका लागि सिगाना पुगेका थिए। सुन्तला गाउँका रूपमा परिचित सिगानाका झण्डै एक सय किसानले सुन्तला फलाउँदै आएका छन्। 

‘चितवनको क्षेत्रपुरमा सिगानाको सुन्तला निर्यात भएको छ, हाम्रो  सुन्तला लागिसकेपछि अन्य किसानको समेत सुन्तला चितवन लैजाने व्यापारीको भनाइ छ’, खड्काले भने, ‘परम्परागत खेतीभन्दा सुन्तलाखेतीबाट धेरै गुणा राम्रो कमाई गर्न सकिन्छ, सिगानामा मजस्ता धेरै किसान अहिले सुन्तला खेतीमा छन्, सिगानमा सरदर रु तीन करोडसम्मको सुन्तला उत्पादन हुने गर्दछ।’

पछिल्लो छ वर्षदेखि खड्काले सुन्तलाबाट लोभलाग्दौ आम्दानी गर्दै आएका छन्। खड्कासहित सिगानामा टोपबहादुर खड्का, रामबहादुर खड्कालगायत अन्य किसानले पनि ठूलो परिमाणमा सुन्तला उत्पादन गर्दै आएका छन्। रासस 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .