ad ad

कारोबार


लुम्बिनीमा तयार भयो नेपालकै ठूलो सम्मेलन केन्द्र

प्रधानमन्त्रीले २ गते उद्घाटन गर्ने
लुम्बिनीमा तयार भयो नेपालकै ठूलो सम्मेलन केन्द्र

बौद्ध सम्मेलन केन्द्र (फाइल तस्बिर)


वसन्त अर्याल
बैशाख २८, २०७९ बुधबार ८:४१, काठमाडौँ

प्रधानमन्त्री शेरबहादुर देउवाले लुम्बिनीमा निर्माण भएको बौद्ध अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र उद्घाटन गर्ने भएका छन्। 

जेठ २ गते बुद्धजयन्तीको अवसरमा देउवाले नेपालकै ठूलो सम्मेलन केन्द्र उद्घाटन गर्नलागेका हुन्। 

प्रधानमन्त्रीले जेठ २ गते बिहान गौतमबुद्ध विमानस्थल उद्घाटन गरी लुम्बिनीमा सभाहल उद्घाटन गर्न जाने भएका हुन्। 

‘गौतमबुद्ध विमानस्थलको औपचारिक कार्यक्रम बिहान ७ बजेदेखि १० बजेसम्म सकिन्छ’, विमानस्थलका महाप्रबन्धक गोविन्द दाहालले भने, ‘यहाँको उद्घाटन सकेर लुम्बिनीमा जाने कार्यक्रम छ।’

लुम्बिनी विकास कोषले २५६६औँ बुद्धजयन्ती ३ दिन मनाउने निर्णय गरेको छ। कोषले १, २ र ३ गते बुद्धजयन्ती मनाउँदा मूल समारोह जेठ २ गते हुनेछ। 

इन्टरनेशनल कन्फरेन्स एन्ड मेडिटेसन सेन्टर अर्थात् अन्तर्राष्ट्रिय ध्यान केन्द्रमा एकै पटक ५ हजार व्यक्ति अट्न सक्छन्। कोषले नेपालकै ठूलो हल र दक्षिण एसियाकै नमूना हल निर्माण भएको जनाएको छ। 

यो सम्मेलन केन्द्र दुई चरणमा निर्माणसम्पन्न भएको हो। पहिलो चरणमा मुख्य संरचना बनाइएको थियो भने दोस्रो चरणमा कम्पाउन्ड वाल, ल्यान्डस्केप, पार्किङ, विद्युतीकरण, विशिष्ट पाहुनाका लागि प्रतीक्षा कक्ष, बुद्धमूर्तिसहितको आकर्षक वाटर फाउन्टेन, दुई शौचालय भवन, सौन्दर्यकरणलगायतका काम गरिएको जनाएको छ। 

लुम्बिनी विकास कोषका प्रमुख प्रशासकीय अधिकृत ज्ञानिन राईले सम्मेलन केन्द्रको उद्घाटन प्रधानमन्त्री शेरबहादुर देउवाले गर्ने जानकारी दिए। 

‘पहिलो चरणको काम सकिएर दोस्रोको भइरहेको थियो’, राईले नेपालखबरसँग भने, ‘असार मसान्तसम्म निर्माण अवधि भए पनि विशिष्ट व्यक्ति आउने भएकाले छिटो काम गरी अहिले नै सक्दै छौँ।’

सम्मेलन केन्द्रको पहिलो र दोस्रो चरण गरी करिब ७५ करोड बढी खर्च भएको छ। कोरियन प्रविधिबाट छाना निर्माण गरिएको छ भने भित्री सजावटमा चिनियाँ सामग्री प्रयोग भएका छन्।

लुम्बिनीमा हुने बुद्धजयन्ती समारोह, आध्यात्मिक, धार्मिक समारोह गर्न स्थान अभाव हुँदै आएको थियो। केन्द्र निर्माण गरिएसँगै कोषले जेठ २ गते हुने मूल समारोह आफ्नै हलमा गर्ने जनाएको छ। 

‘सभा केन्द्रमा अन्तर्राष्ट्रिय सभा सम्मेलन गर्न सकिनेछ। आध्यात्मिक र धार्मिक कार्यक्रम गर्न सहज हुनेछ’, राईले भने, ‘जेठ २ मा के–के कार्यक्रम हुने निर्धारण हुँदै छन्।’

सभामा हुने भाषण, प्रवचन, भजन जुनसुकै कुनाबाट सुन्न सकिने गरी निर्माण गरिएको छ। हलमा ध्यान गर्नका लागि प्रत्येक व्यक्तिलाई १ वर्गमिटर स्थान राखिएको छ।

एउटा ब्लकमा ४ जना मानिस बस्ने व्यवस्था गरिएको छ। आवतजावतको लागि २ मिटर चौडाइ भएको ठाउँबाट भित्र–बाहिर गर्ने व्यवस्था मिलाइएको कोषले जनाएको छ। 

जेठ २ गते भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पनि लुम्बिनी भ्रमणमा आउने कार्यक्रम छ। कोषले भारतीय प्रधानमन्त्री लुम्बिनीमा आए पनि सम्मेलन केन्द्रको उद्घाटन कार्यक्रम प्रधानमन्त्री देउवाले मात्रै गर्नेछन्। 

सम्मेलन केन्द्रको छानो ५० एमएमको ईपीएस स्यान्डविच प्यानलको ट्रसबाट बनेको छ भने यसको उचाइ १२.३३ मिटरदेखि २०.४९ मिटरसम्म रहेको छ। हल निर्माण १० मिटर गहिराइका १ सय ४० वटा पाइल फाउन्डेसन निर्माण गरिएको छ। फाउन्डेसनमाथि ४० वटा पिलर ठड्याएर छानो बनाइएको छ।

सभागृह तथा ध्यान केन्द्रमा मौसमअनुसार ६ देखि ८ डिग्रीसम्म तापक्रम तलमाथि हुनसक्ने ईपीएस प्यानल प्रयोग गरेर छानो निर्माण गरेको कोषले जनाएको छ। 

२०७५ साल वैशाखमा राष्ट्रपति विद्यादेवी भण्डारीले शिलान्यास गरेकी थिइन्। 

४ वर्षपछि उद्घाटन हुँदै 
प्रधानमन्त्री केपी शर्मा ओली पहिलोपटक प्रधानमन्त्री भएको बेला २०७३ सालको २५६०औँ बुद्धजयन्ती समारोह आयोजना गरिएको अस्थायी संरचना हावाहुरी र वर्षाले प्रभावित भयो।   

समारोह नै बिथोलिएपछि तत्कालीन प्रधानमन्त्री ओलीले समारोहमा सम्बोधन गर्दै लुम्बिनीमा ५ हजार क्षमताको सभाहल निर्माण गर्ने उद्घोष गरेका थिए। 

यसअनुसार कोषले डिजाइन बनाई २०७४ चैत ६ गते सम्झौता गरेको थियो। २०७५ साल वैशाखमा राष्ट्रपति विद्यादेवी भण्डारीले शिलान्यास गरेकी थिइन्। 

सम्झौतामा २०७६ चैत ५ गते सम्पन्न गर्ने लक्ष्य राखिएको थियो। तर निर्माण सामग्री, कोभिडलगायतको कारणले समयमै सम्पन्न हुन नसकेको कोषले जनाएको छ। 

कोषले विश्वका बौद्ध धर्म मान्ने देश मात्र नभएर पश्चिम मुलुकका अध्येता तथा अनुसन्धानकर्ताका लागि आकर्षक गन्तव्य बन्ने विश्वास गरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .