पछिल्लो समय नेपालको विप्रेषण (रेमिट्यान्स) आप्रवाह घट्नुमा भर्चुअल मुद्रासम्बन्धी बढ्दो कारोबार मुख्य कारण रहेको अध्ययनले देखाएको छ।
सरकारले गरेको अध्ययनले नै नेपालको कुल रेमिट्यान्सको ४० प्रतिशत अंश क्रिप्टोकरेन्सी अर्थात् भर्चुअल मुद्रासँग जोडिएको देखाएको हो।
गत वर्षसम्म नेपालको रेमिट्यान्स बढिरहेको थियो। यो वर्ष भने सुरुदेखि नै कमजोर रहँदै आएको छ।
अझ रोचक कुरा त अघिल्लो वर्ष वैदेशिक रोगजारीमा जानेको संख्या समेत घटिरहेको थियो। तर रेमिट्यान्समा असर थिएन।
चालू आर्थिक वर्षमा भने त्यसको विपरीत देखिएको छ। रोजगारीमा जाने बढेका छन् तर रेमिट्यान्स कमजोर बनेको छ।
चालू आवको फागुन महिनामा सुधार भए पनि चैतमा रेमिट्यान्स पुनः घटेको छ। फागुनमा करिब ९१ अर्ब रुपैयाँबराबरको रेमिट्यान्स भित्रिएकोमा चैत महिनामा झण्डै ५ अर्बले घटेको छ।
यसरी चालू आवमा रेमिट्यान्स घटेपछि सरकारले राष्ट्र बैंक, राष्ट्रिय अनुसन्धान विभाग, राजस्व अनुसन्धान विभाग, कानुन मन्त्रालय, दूरसञ्चार प्राधिकरण, नेपाल प्रहरीका एक–एक जना प्रतिनिधि रहने गरी अध्ययन कार्यदल गठन गरेको थियो।
सोही कार्यदलको अध्ययनले अवैधानिक कारोबारमा वृद्धि भएकोले रेमिट्यान्समा असर गरेको देखाएको हो। कार्यदलले क्रिप्टोको कारोबार र नेपालबाट डलर बाहिइरहेको अवस्थाबारे अध्ययन गरेको थियो। अहिले उक्त अध्ययन–प्रतिवेदनको मस्यौदा कार्यदलले तयार गरेको छ।
मस्यौदामा नेपालको कुल रेमिट्यान्सको ४० प्रतिशत हिस्सा डिजिटल करेन्सी र हुण्डीमा परिणत हुनपुगेको उल्लेख छ।
उक्त मस्यौदाअनुसार नेपालमा क्रिप्टोसम्बन्धी कारोबार फैलिरहेको देखाएको छ। सोही कारण नेपालको वैदेशिक मुद्रा सञ्चितिमा समेत ठूलो असर ल्याएको देखाएको छ। कार्यलदका एक सदस्यले नेपालखबरसँग भने, ‘यसको कनेक्सन रेमिट्यान्ससम्म देखिएको छ।’
नेपाल राष्ट्र बैंकले क्रिप्टो कारोबारलाई अवैध भनेको छ। तर अनलाइन, एपहरुमार्फत गर्न सकिने भएकाले भित्रभित्रै यो कारोबार भइरहेको पछिल्लो महिनामा राजस्व अनुसन्धान विभागले दायर गरेका यससम्बन्धी मुद्दाले देखाउँछ। नेपाल प्रहरीले समेत क्रिप्टो कारोबार गरेको आरोपमा कारोबारी व्यक्तिहरुलाई पक्राउ गर्दै आएको छ।
गत माघ ११ गते राजस्व अनुसन्धान विभागले अनलाइनबाट डलर कारोबार गर्ने दिनेश खड्का र उनका आफन्तविरुद्ध ३७ करोड ६४ लाख बिगो दाबीसहित मुद्दा दायर गरेको थियो। त्यसले सबैलाई अचम्म बनायो।
विभागले अवैध रुपमा अनलाइनबाट डलरको कारोबार गर्दै आएको फेला पारेपछि काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो।
दिनेश खड्का, भगवती खड्का, नर बहादुर खड्काको बयानको आधारमा उनीहरुले ईस्क्रिल र बाइनान्स नामक मोबाइल एपको प्रयोग गर्दै ठूलो रकमको डलर कारोबार गरेको विभागको अनुसन्धानले देखाएको छ। यी एपको प्रयोग गर्दै डलर सटही कारोबार गर्ने गरेको देखिएको हो। बाइनान्स एक क्रिप्टो एक्सचेन्ज कम्पनी हो। यो एपबाट क्रिप्टोकरेन्सीहरुको कारोबार गर्न सकिन्छ।
पक्राउ परेकासँग विभागले भिन्न बैंकका बैंक स्टेटमेन्टहरु, मोबाइललगायत बरामद गरेको थियो। यसमा प्राप्त मिसिल संलग्न डाटाहरु, कल डिटेल विवरणजस्ता समेतका मिसिल संलग्न प्रमाणबाट दुई एपमार्फत कारोबार गर्ने गरेको भेटिएको विभागले जनाएको छ।
दुई एपमार्फत रकम लोड तथा अनलोड गरी अमेरिकी डलर सटही गरी दिनेश खड्काले ग्लोबल बैंकबाट ९ करोड ७९ लाख ९८ हजार पाँचसय ८१ रुपैयाँको कारोबार, अनिता धितालको लक्ष्मी बैंक समेतबाट ५ करोड ७७ लाख ६ हजार आठसय २६ रुपैयाँको बारोबार, भगवती खड्काको एनआईसी एसिया बैंकबाट २० करोड ४२ लाख ९४ हजार पाँच सय २६ रुपैयाँको कारोबार र नर बहादुर खड्काको ग्लोबल आईएमई बैंकबाट १ करोड ६४ लाख ११ हजार एक सय ६६ रुपैयाँको कारोबार गरेको भेटिएको थियो।
सोही आधारमा विभागले उनीहरुविरुद्ध कुल बिगो ३७ करोड ६४ लाख ११ हजार एक सय दाबी गरी मुद्दा दायर गरेको थियो। उक्त घटनापछि अर्थमन्त्री जनार्दन शर्माले कार्यदल गठनको लागि विशेष पहल गरेका थिए।
कार्यदलले देखाएको आँकडाअनुसार मुख्यगरी हाइपरफन्डलगायतमा रेमिट्यानसमार्फत आउनुपर्ने पैसा गइरहेको देखिएको छ।
प्रतिवेदन मस्यौदाअनुसार हुण्डीको प्रयोग झनै बढेको देखिएको छ। हुन्डी शून्य प्रतिशत कष्ट र होम डेलिभरीको मोडलमा रहेकोले यसको प्रयोग र प्रयोगकर्ताको दायरा पनि विस्तार भइरहेको उल्लेख छ। डिजिटल करेन्सीमा पैसा जानु र हुण्डीको कारोबार बढ्दा नेपालको रेमिट्यान्स अझै कमजोर हुँदै जाने प्रतिवेदनले औँल्याएको छ।
यसको असर विदेशी मुद्रा सञ्चितिमा देखिएको हो। राष्ट्र बैंकको तथ्याङ्कअनुसार पनि नेपालको विदेशी मुद्रा सञ्चिति २०७८ असारपछि १६ प्रतिशतले घटिसकेको छ।
असार मसान्तमा १३ खर्ब ९९ अर्ब ३ करोडबराबर रहेको कुल विदेशी विनिमय सञ्चिति १६.३ प्रतिशतले कमी आई २०७८ फागुन मसान्तमा ११ खर्ब७१ अर्ब कायम भएको राष्ट्र बैंकको तथ्याङ्कले देखाएको छ।
अमेरिकी डलरमा यस्तो सञ्चिति २०७८ असार मसान्तमा ११ अर्ब ७५ करोड रहेकोमा २०७८ फागुन मसान्तमा १८.५ प्रतिशतले कमी आई ९ अर्ब ५८ करोड कायम भएको छ। आर्थिक वर्ष २०७८/०७९ को आठ महिनाको आयातलाई आधार मान्दा बैंकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति ७.४ महिनाको वस्तु आयात र ६.७ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने राष्ट्र बैंकले जनाएको छ।
Shares
प्रतिक्रिया