ad ad

कारोबार


फलामको कच्चापदार्थमा भारतले शुल्क बढायो, किलाकाँटीदेखि बिलेटसम्मको आयात बढ्ने

फलामको कच्चापदार्थमा भारतले शुल्क बढायो, किलाकाँटीदेखि बिलेटसम्मको आयात बढ्ने

दीपक भट्ट
जेठ १२, २०७९ बिहिबार १८:४९, काठमाडौँ

सरकारले कच्चापदार्थमा सहुलियत दिए पनि भारतले भने निर्यात शुल्क बढाइदिएको छ। 

जनार्दन शर्माले अर्थमन्त्री भएपछि कच्चापदार्थ आयातमा सुविधा दिएका थिए। तर अहिले भारतले निर्यात शुल्क बढाएपछि तयारी वस्तु बढी आयात हुने देखिएको छ। 

चालू आर्थिक वर्षको प्रतिस्थापन विधेयकमार्फत अर्थमन्त्री शर्माले फलामको कच्चा पदार्थ स्पन्ज आइरनमा सहुलियत दिएका थिए। यसले नेपालमा तयारीभन्दा कच्चा पदार्थको आयात बढ्न थालेको थियो। तर भारतले अहिले १५ प्रतिशत निर्यात शुल्क थपिदिएपछि उद्योगीहरुलाई अब तयारी वस्तु नै ल्याउँदा सस्तो हुने भएको हो। 

भारतले वायर रड र स्पन्ज आइरनमा निर्यात शुल्क बढाएको हो। यसमा अहिले १५ प्रतिशत निर्यात शुल्क लगाइएको छ। वायर रडमा भारतले अहिलेसम्म निर्यात शुल्क लगाएको थिएन। पहिलोपटक निर्यातलाई निरुत्साहन गर्न भारतले यस्तो निर्णय गरेको जनाएको छ। 

वायर रडबाट तीन किसिमका वस्तु बन्छन्। किला काँटी, डीआईवायर, बाइन्डिङ वायर बन्ने गर्छ। भारतले तयारी वस्तुमा निर्यात शुल्क लगाएको छैन। भारतले कच्चा वस्तुको निर्यातमा मात्रै यस्तो शुल्क लगाइदिएको छ। यसकारणले उद्योगीहरुले अब आफ्नो उद्योग सञ्चालन समेत गर्न नसक्ने स्थिति सिर्जना भएको बताएका छन्। 

शक्ति वायर वर्क्सका सञ्चालक ओमप्रकाश मोरका अनुसार भारतले अहिले लगाएको शुल्कअनुसार नेपालमा किलाकाँटी उत्पादन गर्न नै नसकिने अवस्था छ। 

उनले भने, ‘भारतले १५ प्रतिशत शुल्क कच्चा पदार्थमा लगाइदिएको छ। त्यो १५ प्रतिशत शुल्क नेपालको उत्पादनमा थपिँदा नेपाली उत्पादन महँगो पर्न जान्छ। अब भारतबाट नै तयारी किलाकाँटी ल्याउने हो भने नेपालको उत्पादनभन्दा सस्तो पर्न जान्छ।’

यसबाट उद्योग सञ्चालन गर्न नसक्ने स्थिति आएको उनले बताए। उनले भने, ‘आयातसँग प्रतिस्पर्धा गर्न नसक्ने भएकोले अब हामी उद्योग नै बन्द गर्नतर्फ लाग्दै छौँ।’ 

जनार्दन शर्मा अर्थमन्त्री हुनुभन्दा अघि स्पन्ज आइरन आयातमा ४ रूपैयाँ ७५ पैसा प्रतिकिलो भन्सार महसुल लाग्ने गरेको थियो। त्यस्तै डन्डी उत्पादनपछि बिक्रीमा प्रतिकिलो १ रूपैयाँ ६५ पैसा अन्तःशुल्क पनि लिने गरिएको थियो। अर्थमन्त्री शर्माले नेपाली उद्योगको प्रवर्द्धन गर्ने भन्दै त्यो शुल्क हटाइदिएका थिए। 

भारलते स्पन्ज आइरन निर्यातमा समेत १५ प्रतिशत शुल्क बढाइदिएको छ। यसअनुसार स्पन्ज आइरन ल्याएर नेपालमा बिलेट उत्पादन गर्नेलाई समेत मार परेको हो। 

नेपालमा स्पन्ज आइरन ल्याएर बिलेट बनाउने र त्यसपछि मात्रै डण्डी उत्पादन गर्ने तथा सोझै बिलेट ल्याएर डण्डी उत्पादन गर्ने दुईतर्फी उद्योगहरु छन्। भारतको नीतिले नेपालमा कच्चापदार्थ ल्याएर उत्पादन गर्ने उद्योगलाई मार पर्ने देखिएको हो। 

जनार्दन शर्माले बिलेट आयात गरेर डन्डी उद्योगलाई भने चालू आर्थिक वर्षको बजेटमार्फत अन्तःशुल्क दर प्रतिकिलो २ रूपैयाँ ५० पैसा बनाइदिएका छन्। यसअघि यो दर प्रतिकिलो १ रूपैयाँ ६५ पैसा थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .