नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता एवं पूर्वअर्थमन्त्री वर्षमान पुन ‘अनन्त’ ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को झण्डै दुई तिहाइको शक्तिशाली सरकारले मुलुकको आवश्यकताअनुसार आर्थिक वृद्धि र रोजगारी सिर्जना गर्ने गरी बजेट ल्याउन नसकेको औँल्याएका छन्।
नेपाल व्यवस्थापन संघद्वारा काठमाडौँमा आयोजित आगामी आर्थिक वर्ष २०८३÷८४ को पोस्ट बजेटसम्बन्धी अन्तक्रियामा पूर्वअर्थमन्त्री पुनले बजेटले कुनै पनि क्षेत्रमा नजिता दिने गरी ‘फोकस’ गर्न नसकेको बताए। लोकप्रियतावादी सरकारले सबैले भन्दै आएको कर्णप्रिय कार्यक्रम समावेश गरेको भए पनि त्यसले आर्थिक समृद्धिको दिशामा ठोस नतिजा दिन नसक्ने उनको भनाइ थियो।
‘बजेटमा केही चिजमा फोकस गरिएको छैन। हामीले नयाँ साथीहरुलाई पपुलिस्टको आरोप लगाउने गरेका छौँ। पपुलिज्मको विशेषता के भने सबैले भनेका कर्णप्रिय लाग्ने कुरा भन्ने तर त्यो पूरा होस् नहोस्’ पुनले थपे, ‘सय बुँदे कार्यक्रम बनाउँदा पनि सबै राष्ट्रिय दलको लिएर राख्नुभयो। तर, उहाँहरूको आफ्नो नीति कुन त? आफ्नो विचार, राजनीति, प्रवृत्ति वा जोड यो कुरामा भन्ने त्यहाँ देखाउन सक्नुभएन। बजेटमा पनि सबै भएको जस्तो देखिने। सबै विगतका पार्टीले थालेका कार्यक्रमको निरन्तरता जस्तो देखिने तर, केही नभएको जस्तो छ।’
सरकारले नीति–कार्यक्रम र बजेटमा के मार्फत अर्थिक वृद्धि, देशको रुपान्तरण र रोजगारीका अवसर सिर्जना गर्न चाहेको हो भन्ने स्पष्ट दिशा लिन नसकेको उनको भनाइ थियो। ‘फोकस केमा गर्न खोजेको हो त? के मार्फत आर्थिक वृद्धि गर्ने? के मार्फत रोजगारी सिर्जना गर्ने? के मार्फत देशको रुपान्तरण गर्न खोजेको भन्ने कुरामा प्राथमिकतामै अल्झिएको जस्तो लाग्छ’, पुनले भने, ‘बजेटले हेर्दा, सुन्दा, छाम्दा देखिने तर रिजल्ट नदेखिने, प्राथमिकता नदेखिनेजस्तो विशेषता बोकेको छ।’
Shares

प्रतिक्रिया