कारोबार


एम्बुलेन्सलाई जस्तै सुविधा दिएर रत्नपार्क–सूर्यविनायक ‘द्रुत बस सेवा’ (भिडिओ)

९० जना ट्राफिक थपिने

वसन्त अर्याल
असोज २ , काठमाडौँ

सरकारले रत्नपार्कदेखी सूर्यविनायकसम्म दैनिक ४ घण्टा द्रुत बस सेवा सञ्चालन गर्ने भएको छ। बिहान र बेलुका कार्यालय समयमा २–२ घण्टा सेवा सुरु हुने भएको हो। 

कार्यालय समयमा यात्रुलाई सवारीकै कारण ढिलाई भैरहेका गुनासा आइरहेका थिए। एम्बुलेन्सको जस्तै सुविधा दिएर ठूला बस सञ्चालन गर्न थालेको हो। ३५ देखी ४० सिटे बस द्रुत सेवाको रुपमा चल्ने छन्। 

‘तोकिएको समयमा यात्रु नपुग्ने समस्या झेल्दै आएका छन्,’ यातायात व्यवस्था विभागका निर्देशक ईश्वरी दत्त पनेरुले भने, ‘सार्वजनिक यातायात सहज नहुँदा निजी सवारी साधनको प्रयोग बढेको छ। मास ट्रान्सपोर्टेशनलाई प्रोत्साहन गर्न द्रुत बस सेवा ल्याइएको हो।’

काठमाडौं उपत्यकामा निजी गाडीको संख्या बढ्दा सडक चाप बढ्न रोक्ने उद्देश्यले सेवा सञ्चालनमा ल्याइएको विभागले जनाएको छ। 

‘काठमाडौं उपत्यकाभित्र सबै ठाउँमा द्रूतबस सेवा सञ्चालन गर्ने भन्ने नै थियो तर हाम्रो सडक पूर्वाधार अनुसार लागू गर्न खोज्दा सफल नहुन सक्ने आकलन गरी रत्र्नपार्कदेखि सूर्यविनायकसम्मको सहज सडक छनोट गरेका हौं,’ निर्देशक पनेरुले भने। 

सरकारले सुरु गरेको रुटमा द्रुतबस सेवा सफल भए काठमाडौं उपत्यकाका अरु ठाउँलाई पनि प्रयोग गर्न सकिने विभागले जनाएको छ।

सडक विभाग, यातायात व्यवस्था विभाग, ट्राफिक प्रहरी र यातायात व्यवसायीको सहकार्यमा बस सेवा सुरु हुन लागेको छ। 

सडक विभागले द्रुत बस सेवाका लागि डेडिकेटेड लेन छुट्टाएको छ। 

यातायात व्यवस्था विभागका निर्देशक ईश्वरी दत्त पनेरु। तस्बिर : सरोज नेपाल

रत्नपार्कबाट भन्द्रकाली, भद्रकालीबाट रुट परिवर्तन गरी हाल एकतर्फीरुपमा सञ्चालनमा रहेको सडकलाई द्रुत सेवामा समेटिएको छ। 

‘सरकारले विभिन्न अध्ययन समितिबाट बीआरटीको कन्सेप्टमा सञ्चालन गर्न खोजेको हो,’ पनेरुले भने, ‘तर बीआरटीका लागि संरचना नै भत्काउनु र्छ। सडकको सीमितताको कारण लाइनिङ गरेर बस सेवा सञ्चालन गर्न लागिएको छ।’

संविधान दिवसको अवसर पारेर यसको सुरुवात हुँदै छ। असोज ३ गते सार्वजनिक बिदाको दिन भएकले सांकेतिक रुपमा २ वटा बस सुचारु गर्ने छ। असोज ४ गतेबाट हरेक ५ मिनेटमा बस छुट्नेगरी व्यवस्था गरिएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले बिहान ९ बजे रत्नपार्कबाट सेवाको शुभारम्भ गर्ने छन्।

यात्रुहरूले द्रूत बस कसरी छुट्टाउने?
विद्यालय समयमा विद्यार्थी बोक्ने बस जस्तै द्रुतमार्गमा गुड्ने बसमा बोर्ड राखिएको हुन्छ। विद्यार्थी पुर्‍याएपछि ती बसले सर्वसाधरणलाई बोक्छन्। 

त्यसैगरी पिक आवरका लागि बसको बोर्ड परिवर्तन हुन्छ। 

‘पिक एन्ड ड्रप’ सिस्टममा बस सञ्चालन हुनेछन्। हरेक ५ मिनेटपछि एउटा बस छुट्ने बताइएको छ। 

‘सूर्यविनायकबाट रत्नपार्क पुग्न सवादेखि डेढ घण्टाको समय लाग्छ,’ निर्देशक पनेरुले भने, ‘अब ४५ मिनेटभन्दा कममै रत्नपार्कदेखि सूर्यविनायक पुग्न सकिन्छ।’

बढीमा १ मिनेटमा यात्रु ओलाल्ने र चढाउने काम गरी गुडाउनु पर्ने बताइएको छ। सरोकारवाला निकायसँग बस सञ्चालन गरिसकेपछि मनिटरिङ कमिटी बनाएको छ। द्रूुत सेवा सञ्चालनमा कुनै अफ्ठ्यारा आए सबै एकै ठाउँमा बसेर समाधान गर्ने छन्। 

पिक आवरमा डेडिकेटेड लेनबाट अरु सवारी चल्न नपाउने
दु्रत बस स्टोपमा अरु सार्वजनिक यातायात रोक्न पाइँदैन। बस स्टपमा धेरै बेर यात्रु कुरेर बस्न पाउँदैनन्।

‘डेडिकेटेड लेन छुट्टाएपछि उक्त लेनमा अरु बस सञ्चालन हुन पाउँदैनन्,’ पनेरु भन्छन्, ‘द्रुर्त सेवाको बस स्टप फरक हुन्छ। गुडिरहेको लेनबाट छुट्टै रातो कलर लगाई छुट्टाएको हुन्छ।’

डेडिकेटेड लेनमा अरु सवारी चल्नबाट ट्राफिक प्रहरीले रोक्ने छ। सुरुको केही समय जनचेतना गराउने र विस्तारै कारबाहीसमेत गर्ने योजना रहेको छ। 

तर डेडिकेटेड लेनमा हरेक ५ मिनेटमा गुड्ने भएकाले बाँकी समय के गर्न सकिन्छ भन्ने अध्ययन भइरहेको यातायात व्यवस्था विभागले जनाएको छ। 

‘द्रुत बससँगै उक्त लेनमा खाली राख्ने वा एम्बुलेन्स, दमकल, शववाहन र अत्यावश्यक सवारी चलाउन सकिने विषयमा अध्ययन गरेका छौं,’ उनले भने, ‘सबैलाई छाडिदिए डेडिकेटेड नै भएन। नछोड्दा बीचको समयमा ग्याप पनि हुन्छ। यसमा अध्ययन हुँदैछ।’

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले डेडिकेटड लाइनमा बस सञ्चालनका लागि ९० जना जनशक्ति थप लाग्ने बताए। 

‘द्रुतमार्गलाई सहज रुपमा सञ्चालन गर्नका लागि ९० जना थप जनशक्ति परिचालन गर्छौं,’ एसपी भट्टले भने, ‘डेडिकेटेड लेनमा एम्बुलेन्स र अत्यावश्यक बाहेकका सवारी गुडे लेन अनुशासनको कारबाही गछौं।’

अहिलेकै भाडा दरमा द्रुत बस सेवा 
नेपाल राष्ट्रिय व्यवसायी महासंघले उक्त रुटमा बस सञ्चालनका लागि बस उपलब्ध गराउनु पर्नेछ। यातायात व्यवस्था विभागले बाहिरका रुटमा चलेका बसलाई पनि दिनेगरी रुट परमिट दिने छ। 

काठमाडौं उपत्यकामै चलेका बस द्रूत सेवाको रुपमा चल्नेछन्। काठमाडौं धुलिखेल रुटमा चल्ने मध्येका ठूला बसबाट सेवा सञ्चालन हुनेछ।

यात्रुले द्रुत बस सेवा प्रयोग गर्दा पनि अहिलेकै भाडादर तिरेपुग्छ।

तस्बिर/भिडिओ: सरोज नेपाल

थप तस्बिरहरू:

असोज २, २०८० मंगलबार १६:५९

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .