निर्वाचन विशेष


छाङ्गरु र तिंकरमा चुनाव : मतपत्र ओसार पसार हेलिकोप्टरबाट

छाङ्गरु र तिंकरमा चुनाव : मतपत्र ओसार पसार हेलिकोप्टरबाट

गोकुल जोशी
बैशाख २९, २०७९ बिहिबार १४:४७, महेन्द्रनगर

भारतीय अतिक्रमित कालापानी नजिकको क्षेत्र दार्चुलाको व्याँस गाउँपालिका–१ स्थित तिंकर र छाङ्गरुमा स्थानीय तह निर्वाचनको तयारी पुरा भएको छ। 

भौगोलिक रुपले विकट क्षेत्र रहेको तिंकर र छाङ्गरुमा शुक्रबार हुने स्थानीय तह निर्वाचनका लागि आवश्यक सम्पूर्ण तयारी पुरा भएको जिल्ला निर्वाचन कार्यालय दार्चुलाका प्रमुख प्रदिप सिंह धामीले जानकारी दिए।

उनका अनुसार तिंकर र छाङ्गरुमा निर्वाचन सामग्रीका साथै कर्मचारी र सुरक्षाकर्मी पुगेका छन्। 

‘छाङ्गरु, तिंकरमा आवश्यक सम्पूर्ण तयारी पुरा भएको छ,’ उनले भने, ‘८ जना कर्मचारी, सुरक्षाकर्मी केन्द्रमा पुगिसकेका छन्।’

नेपाली भूमिबाट तिंकर र छाङ्गरु मतदान केन्द्र पुग्ने बाटो नहुँदा सेनाको हेलिकोप्टरमार्फत मतपत्र, मतदाता परिचयपत्र लगायत निर्वाचन सामग्रीका साथै कर्मचारी र सुरक्षाकर्मीहरुलाई पठाइएको थियो। 

चिसो छल्ल सदरमुकाम खलंगा झरेका तिंकर र छाङ्गरुबासी भारतीय बाटो भएर त्यहाँ पुगिसकेको छन्। स्थानीय तह निर्वाचनका लागि व्याँस गाउँपालिका–१ मा दुई निर्वाचन केन्द्र तोकिएका छन्। 

निर्वाचन कार्यालय दार्चुलाका अनुसार तिंकरको मोती महिला संघ आधारभूत विद्यालय केन्द्रमा २३१ र छाङरुको कैलाशवती आधारभूत विद्यालय मतदान केन्द्रमा ३७५ जना मतदाता रहेका छन्।

तिंकर र छाङ्गरुका बासिन्दा बाहिर हुनु तथा वृद्धवृद्धा, अशक्त र गर्भवती महिला खलंगामा भएकाले यसपटक कूल मतदाताको आधा मात्रै मत खस्ने अनुमान छ। 

व्यास गाउँपालिका वडा नं. १ छाङरुमा रहेको मतदान केन्द्र

‘धेरै जसो मानिस बाहिर छन्, हिँड्न सक्ने व्यक्ति मात्रै तिंकर र छाङ्गरु पुगेका छन्,’ व्याँस गाउँपालिकाका अध्यक्षका उम्मेदवार रहेका मंगलसिंह धामीले भने, ‘त्यसैले ३०० मत मात्रै खस्ने अनुमान छ।’

व्याँस गाउँपालिकाका मतगणना गाउँपालिकाको केन्द्र रहेको वडा नम्बर ४ स्थित सुनसेरामा  गरिने निर्वाचन कार्यालयले जनाएको छ। तिंकर र छाङ्गरुको मतपेटिका पनि गणनाका लागि सुनसेरा नै झिकाइने व्याँस गाउँपालिकाका सहायक निर्वाचन अधिकृत कृष्णानन्द बडूले बताए।

‘सुनसेराबाट छाङ्गरु, तिंकर पुग्न दुई/तीन दिन लाग्छ, बाटो बिग्रिएकाले त्यहाँ पुग्न सम्भव नै छैन,’ उनले भने, ‘नेटवर्कले पनि काम नगरिरहेकाले त्यहाँ खटिएका साथीहरुसँग पनि समन्वय हुन सकेको छैन।’

सदरमुकामबाट नेपाली बाटो प्रयोग गरे चार दिनसम्म जोखिमपूर्ण पैदल यात्रा गर्नु पर्ने उनीहरुको बाध्यता छ। भारतले गाडी गुड्ने बाटो निर्माण गरेकोले सो बाटोबाट एक दिनमै सदरमुकाम खलंगा ओहोरदोहोर गर्न सकिन्छ। 

तिंकर र छाङ्गरुको मतपेटिका हेलिकप्टरमार्फत ल्याइने दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी हेमन्ती साउँदले बताइन्। 

‘मतगणनाका लागि मतपेटिका ढुवानी गर्न हेलिकप्टरको प्रयोग गर्ने प्रवद्र्धन मिलाउन लागिएको छ,’ उनले भनिन्।

शुक्रबार बेलुका ५ बजेसम्म मतदानको समय तोकिएकाले छाङ्गरु र तिंकरको मतपेटिका ३१ गते बिहान मात्रै ल्याउन सकिने गणनाका लागि सुनसेरा ल्याउन सकिने निर्वाचन कार्यालयका प्रमुख धामी बताउँछन्। 

‘बेलुका नै ल्याउन त सम्भव नहुन सक्छ, मौसमले साथ दियो भने ३१ गते बिहान मतपेटिका हेलिकप्टरमार्फत ल्याइन्छ’ उनले भने। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad