डडेल्धुराको गन्यापधुरा गाउँपालिका–१ भेउलनाका ३७ वर्षीय नरेश भण्डारीलाई बधाई थाप्न भ्याइनभ्याइ छ। उनको मोबाइलको घण्टी तारन्तार बजिरहेको छ।
यो क्रम शुक्रबार दिउँसोदेखि अझै बढ्यो। विजयी र्यालीमा रहेका उनलाई अहिले भेटेर र फोनबाट बधाई तथा शुभकामना दिइरहेका छन्।
भण्डारी गन्यापधुरा गाउँपालिका–१ को अध्यक्षका विजयी भएका छन्। नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाको वडामा कांग्रेसकै उम्मेदवारलाई पराजित गर्दै उनी अध्यक्षमा विजयी भए। यसले गर्दा अहिले भण्डारी देशभर चर्चामा छन्।
कांग्रेसका चन्द्रबहादुर देउवालाई १ सय २९ मतले उछिन्दै कांग्रेसबाट ‘विद्रोह’ गरेका भण्डारीको प्यानल नै प्रधानमन्त्री देउवाको वडामा विजयी भएको हो। भण्डारीले ६ सय ७३ मत ल्याए। उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका चन्द्रबहादुर देउवाले ५ सय ४४ मत मात्र ल्याउन सके।
प्रधानमन्त्री देउवाले पनि वडा नम्बर १ को मतदान केन्द्रमा पुगेर मत हालेका थिए। अध्यक्षमा निर्वाचित भण्डारीले १७ वर्षअघि कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघबाट राजनीति थालेका थिए।
वि.सं. २०४२ साल मंसिर २५ गते गन्यापधुरा–१ भेउलनामा जन्मिएका उनले नेपाल विद्यार्थी संघको सदस्यता लिँदै कांग्रेसको क्रियाशील सदस्य थिए।
‘अहिलेसम्म केही पनि राजनीतिक पदमा बसेको थिइनँ, गाउँका सबै मानिससँग निरन्तर नजिक थिए,’ भण्डारीले नेपालखबरसँग भने, ‘१७/१८ वर्ष नेपाली कांग्रेससँग आवद्ध भएर पार्टीलाई सहयोग गरेँ।’
वि.सं. २०६० सालमा असीग्राम माध्यमिक विद्यालय रुवाखोलाबाट एसएलसी उत्तीर्ण उनले कक्षा १२ सम्मको अध्ययन गरेका छन्। वि.सं. २०६२/०६३ सालतिर उनले डडेल्धुराको महेन्द्र उच्च माध्यमिक विद्यालयबाट कक्षा १२ उत्तीर्ण गरेका थिए।
क्रियाशील सदस्यता वितरणमा असन्तुष्ट रहेका डडेल्धुराका पूर्व सभापति कर्ण मल्लले स्थानीय तह निर्वाचनमा कांग्रेसमा ‘विद्रोह’ गरे। उनले कांग्रेसबाट अलग भएर कांग्रेस (बीपी) लाई सक्रिय पार्दै नेकपा एमालेसँग तालमेल गरे। र, अहिले ‘करुवा’ चुनाव चिन्ह लिएर चुनाव भिडिरहेका छन्।
मल्ललाई नेपाली कांग्रेसले साधारण सदस्य समेत नरहने गरेर पार्टीबाट निष्काशन गरिसकेको छ। उनै मल्लले प्रधानमन्त्री देउवाको वडामा ‘गाउँमा बलियो छवि’ बनाएका नरेश भण्डारीलाई विद्रोही खडा गरेको थियो। नरेशको विजयले देउवाकै वडामा कांग्रेसलाई झट्का दिएको छ।
मल्लका कारण गृहजिल्लामा कांग्रेस अफ्ठ्यारोमा परेपछि ४ दिन देउवा डडेल्धुरामा नै बसेका थिए। बिग्रिएको चुनावी माहोल स्थिर गर्न त्यसअघि देउवाले श्रीमती डा. आरजु राणा देउवालाई गृहजिल्ला पठाएका थिए। डडेल्धुरामा अन्य स्थानीय तहमा पनि अहिले कांग्रेस र कांग्रेस (बीपी)का बीचमै प्रतिस्पर्धा भइरहेको छ।
प्रधानमन्त्री देउवाको वडाबाटै ‘करुवा’ले विजयी सुरुवात गरेपछि कांग्रेस (बीपी)मा खुसीयाली छाएको छ। ‘प्रधानमन्त्रीज्यूको ठाउँमा फरक खेमाबाट आएको छु, उहाँलाई पनि अफ्ठेरो लागेको हुनसक्छ। त्यसले गर्दा चुनौती आए पनि सामाना गर्न तयार छु,’ उनले भने, ‘सबैलाई मिलाएर वडाको विकासको लागि काम गर्छु।’
वडाको प्रमुख समस्याहरुलाई पहिचान गरेर समृद्ध वडा निर्माणका लागि योजना बनाएर काम गर्ने उनी बताउँछन्।
‘हाम्रो समस्या एक हुन्छन्, योजना अर्कै बनाउँछौँ,’ उनले भने, ‘गाउँका सबै मानिसको समस्या सुनेर हातेमालो गर्दै त्यहीँ अनुसार योजना बनाएर नमूना काम गरेर देखाउन चाहन्छु।’
वडामा स्वास्थ्य, शिक्षा र खानेपानीको समस्या रहेकाले यी क्षेत्रलाई प्राथमिकता राखेर काम गर्ने उनले बताएका छन्।
मतदान गरेर निर्वाचित गर्ने गन्यापधुरा–१ का स्थानीयप्रति उनले आभार समेत प्रकट गरे।
‘वडाबासीलाई कस्तो मान्छेलाई मत हालेछु भनेर सोच्ने अवस्था आउन दिने छैन, उहाँहरूसँग नै निरन्तर जोडिएर सल्लाह, सुझाव अनुसार नै अगाडि बढ्छु,’ उनले नेपालखबरसँग भने, ‘भरोसा, विश्वास गरेर दिएको यति ठूलो जिम्मेवारी इमानदारी हिसाबले पुरा गर्ने छु।’
अध्यक्ष भण्डारी अहिले वडा नम्बर १ का स्थानीयलाई भेट्न विजयी र्यालीसहित घर घर पुगिरहेका छन्।
Shares

प्रतिक्रिया