ad ad

निर्वाचन विशेष


कास्कीका ३ गाउँपालिकामा कांग्रेस अगाडि

कास्कीका ३ गाउँपालिकामा कांग्रेस अगाडि

वाशुदेव मिश्र
जेठ १, २०७९ आइतबार २०:५२, पाेखरा

कास्कीका गाउँपालिकाहरुमा यसपटक कांग्रेसले नतिजा सुधारेको छ। प्रारम्भिक परिणाम अनुसार कांग्रेसले ४ मध्ये ३ गाउँपालिकामा अग्रता लिएको छ।

पछिल्लो परिणाम अनुसार माछापुच्छे गाउँपालिकाका ५ वटा वडामा कांग्रेसका अध्यक्ष विजयी भएका छन्। गठबन्धनसहित चुनावमा होमिँदा कांग्रेसलाई बढी लाभ भएको हो। कास्कीको माछापुच्छ्रे १ मा कांग्रेसका ईन्दबहादुर गुरुङ विजयी बने। उनले ६२२ मत ल्याउँदा एमालेका अनुप गुरुङले ५८४ मत प्राप्त गरे।  

महिला सदस्यमा कांग्रेसकी जमुना पुन, दलित महिला सदस्यमा श्याममाया सुनार र खुला सदस्यमा नेपाली कांग्रेसका देवबहादुर मगर र माओवादी केन्द्रका पुर्खबहादुर पुन विजयी भएका छन्।

सो वडामा गठबन्धनको तर्फबाट गाउँपालिका अध्यक्षका प्रत्यासी कांग्रेसका मीनबहादुर गुरुङले ६८३ र एमालेका विक्रम गुरुङले ५२५ मत प्राप्त गरेका छन्। कांग्रेसकी सीता अधिकारी ६१८ मतसहित अगाडि छन् भने एमालेकी सीता अधिकारीले ५३३ मत प्राप्त गरेकी छन्।

वडा नम्बर २ मा कांग्रेसका गणेश आचार्य, ३ मा हरिश्चन्द्र लम्साल, ४ मा मधुसुधन अधिकारी र वडा नम्बर ५ मा नारायण पौडेल विजयी बनेका हुन्। अन्य वडाको गणना भइरहेको र राति १० बजेसम्म परिणाम आइसक्ने निर्वाचन अधिकृत नवराज दंगालले जानकारी दिए।  माछापुच्छ्रेमा ९ वडा छन्। माछापुच्छ्रे गाउँपालिकामा २० हजार ३ सय १६ मतदाता रहेको माछापुच्छ्रेमा १५ हजार १ सय ५१ मत खसेको छ।

यता कास्कीको मादी गाउँपालिकाको वडा नम्बर १,२ र ३ मा कांग्रेसले वडाध्यक्ष जित्दा गाउँपालिका अध्यक्षमा पनि कांग्रेस उम्मेदवार देविजंग गुरुङले अग्रता कायम गरेका छन्। उनले २ हजार ४८१ मत ल्याउँदा एमालेका शिवबहादुर गुरुङको २ हजार ११२ मत आएको छ।

मादीको सिक्लेस क्षेत्र रहेको वडा नम्बर १ मा देविजंग गुरुङ, ताङतिङ समेटिएको वडा नम्बर २ मा भोजबहादुर गुरुङ र वडा नम्बर ३ मा विकास गुरुङ विजयी बनेका हुन्। वडा नम्बर ४ मा एमालेका शिवप्रसाद सापकोटा विजयी भए। वडा नम्बर ५ र ६ को परिणाम रातसम्म आउने छ। लगातार दुई रात अनिँदो भएकाले ती २ वडाको गणनापछि केही समय आराम गर्ने सोच बनाइएको निर्वाचन अधिकृत दुर्गाप्रसाद भट्टराईले जानकारी दिए। मादीमा १२ वटा वडा छन्।

१८ हजार ७ सय ८२ मतदाता रहेको मादीमा १३ हजार ७ सय ६३ मत खसेको छ  । त्यसतै रुपा गाउँपालिकामा ७०.४९ प्रतिशत मत खसेको छ। 

रुपा गाउँपालिकाको वडा नम्बर १ मा नेपाली कांग्रेसको रामबहादुर गोदार प्यानल विजयी भएको छ भने २ र ३ र ५ मा एमालेले जितेको छ। त्यहाँ क्रमशः राजन सुवेदी,दीपेन्द्र गौतम र मुकुन्दबहादुर वंशीले जितेका छन्। पछिल्लो परिणाम अनुसार एमालेका उम्मेदवार नवराज ओझाले अग्रता लिएका छन्। उनले २ हजार ९७१ मत ल्याउँदा कांग्रेसकी गिमाया गुरुङले २ हजार २३५ मत प्राप्त गरेकी छन्।

उपाध्यक्षमा एमालेकी लालसुवा गुरुङले २ हजार ८३७ र कांग्रेसका नारायण श्रेष्ठले २ हजार ३२ मत प्राप्त गरेका छन्। रुपामा ७ वटा वडा छन्। सोमबार बिहानसम्म रुपाको परिणाम आइसक्ने निर्वाचन अधिकृत रुद्रप्रसाद सुवेदीले जानकारी दिए। १४ हजार ६ सय ७५ मतदाता रहेको रुपामा १० हजार ३ सय ४४ मत खसेको थियो।

कास्कीको अन्नपूर्ण गाउँपालिकामा कांग्रेसका युवराज कुँवर अगाडि रहेको छन् भने उनलाई एमालेका विष्णु केसीले पच्छ्याइरहेका छन्। अन्नपूर्णमा ११ वटा वडा छन्। निर्वाचन अधिकृत विष्णु आचार्यका अनुसार हालसम्म कांग्रेसका युवराज कुँवरले २ हजार ७९६ र एमालेका विष्णु केसीले २ हजार ६९२ मत प्राप्त गरेका छन्।

उपाध्यक्षमा पनि कांग्रेसकी खिमकुमारी गुरुङले २ हजार ८१२ र एमालेकी चन्द्रकला अधिकारीले २ हजार ६८२ मत पाएकी छन्। अन्नपूर्णमा यसअघि पनि कांग्रेसले जितेको थियो भने बाँकी पालिकाहरुमा एमालेका उम्मेदवार विजयी बनेका थिए। कुल २० हजार ३ सय ४८ मतदाता रहेको अन्नपूर्णमा १४ हजार ५ सय ४ ले मतदान गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .