ad ad

निर्वाचन विशेष


भरतपुरका ४ वडामा भूँइकटहरकाे धक्का

भरतपुरका ४ वडामा भूँइकटहरकाे धक्का

नेपालखबर
जेठ ३, २०७९ मंगलबार ०:२४, काठमाडौँ

चितवनको भरतपुर महानगरपालिकाको मतगणना जारी रहँदा रेनु दाहालका बागी उम्मेदवार बनेका जगन्नाथ पौडेल निर्णायक बन्दै गएका छन्।

भरतपुरमा शनिबार दिउँसोदेखि मतगणना सुरु भएको छ। यो समाचार तयार पार्दासम्म वडा नम्बर १, २, ३ र ४ को मतगणना सकिएको छ।
२०७४ मा कसले जितेका थिए त्यो हेरौँ।

भरतपुरको वडा नम्बर १ मा ११ सय ७७ मत ल्याएर नेपाली कांग्रेसले जितेको थियो। एमालेकी गीता श्रेष्ठलाई १५ मत अन्तरले हराउँदै कांग्रेसका जयराम श्रेष्ठ यस वडामा विजयी भएका थिए।

यस्तै वडा नम्बर २ मा एमालेका पूर्णबहादुर श्रेष्ठ १९२६ मत ल्याएर अध्यक्ष निर्वाचित भएका थिए। उनले कांग्रेसका चामु नारायण श्रेष्ठले १३ सय ५४ मत ल्याएका थिए ।

यस्तै वडा ३ मा नेपाली कांग्रेसका चन्द्रमित्र पण्डितले १५ सय ३० मत ल्याएर जितेका थिए । एमालेका खोमकान्त रेग्मीले ८ सय ३८ मत ल्याएका थिए ।

वडा नम्बर ४ मा एमालेका हरिप्रसाद आचार्य १७ सय २० मत ल्याएर विजयी भएका थिए ।  कांग्रेसका उपेन्द्रराज सापकोटाले १७ सय १३ मत ल्याएका थिए ।

के छ अहिलेको अवस्था
महानगरको १, २, ३  र ४ नम्बरको मतगणना सकिएको छ । मतगणना सकिएका वडामा भूँकइकटहर चुनाव चिन्ह लिएर स्वतन्त्र उम्मेदवार बनेका पौडेलले पाँच दलीय गठबन्धनकी साझा उम्मेदवार रेनुको मत धेरै काटेका छन्। त्यसो त उनले एमालेका उम्मेदवार विजय सुवेदीको पनि मत काटेका छन्। 

पौडेलले पाएको मतबाट गठबन्धन त झस्किएको छ नै, त्यो भन्दा बढी एमाले पनि तर्सिएको छ ।

एमालेका चितवन जिल्लाका प्रभावशाली एक नेताले नेपालखबरलाई बताए अनुसार पौडेलले पाएको मत एमालेबाट नकाटिए पनि रेनुसँगको असन्तुष्ट मत पाउने अपेक्षा भने बन्द गरिदिएको छ।

‘२०७४ मा हामीले कांग्रेसबाट असन्तुष्ट पक्षको मत पाएका थियौं,’ ती नेताले नेपालखबरसँग भने, ‘चारवटा वडामा पौडेलले जुन रफ्तारमा मत पाएका छन्, त्यसले हाम्रो मत क्रस गराउने योजना सफल हुने देखिएन।’

भरतपुरको १ नम्बर वडामा कांग्रेसले १३ सय ९७ मत ल्याएर विजयी हुँदा एमालेले १३ सय १३ मत पाएको छ। 

वडा नम्बर २ मा २०९९ मत ल्याएर कांग्रेस विजयी हुँदा एमालेले २०६५ मत ल्याएको छ।

वडा ३ मा एमालेले १६६६ मत ल्याएर विजयी हुँदा कांग्रेसले एक हजार ४९ मत ल्याए।

अहिले ४ नम्बर वडाको मतगणना जारी छ। वडा नं ४ बाट रेनुले १००३, सुवेदीले ९७५, पौडेलले ७०२ मत प्राप्त गरेका छन्।

पछिल्लो मतपरिणाम अनुसार गठबन्धनकी उम्मेदवार रेनु दाहालले ५ हजार ३ सय ८२ ल्याएर अग्रता कायम गर्दा एमालेका उम्मेदवार विजय सुवेदीले ५ हजार ३ सय ६७ मत प्राप्त गरेका छन्। भूइँकटहरबाट चुनाव लडेका पौडेलले २५ सय ७७ मत ल्याएका छन्।

वडा ४ बाट पौडेलले हजार बढी मत पाएका छन्। हो यही कारण चितवनको चुनावी नतिजा रोचक बन्न सक्ने देखिन्छ ।

तर, भरतपुरको शहरी क्षेत्रमा मात्र हो कि ग्रामिण क्षेत्रमा पनि पौडेलले यही रफ्तारमा मत पाउँछन् त्यो अहिले भन्न सकिदैँन। तर, पौडेलले ल्याएको मतले एमाले र गठबन्धन दुबैलाई अप्ठेरो पार्न सक्ने विश्लेषण हुन थालेको छ।

एमाले चितवनका अध्यक्ष रामप्रसाद न्यौपानेले गणना सकिएका वडामा एमालेले सोचेजति मत पाउन नसकेको बताए। 

‘जति मत आउला भन्ने अनुमान थियो, त्यो भएको छैन,’ न्यौपानेले नेपालखबरसँग भने, ‘गठबन्धन विरोधी मत पनि आएर र सबै कटहरमा खसेको देखिन्छ।’

उनका अनुसार वडा १ मा डेढ सयले अग्रता लिने अनुमान भएपनि थोरै मतले अग्रता लियो।

२ नम्बर वडामा पनि २ सय मतले रेनु दाहाललाई अग्रता लिने अनुमान भएपनि त्यसो नभएको र १ सय २१ मतले मात्र अग्रता लिएको न्यौपानेले बताए।

३ नम्बर वडामा त दाहालसँग जम्मा ४० मतले मात्र अग्रता पाएको न्यौपानेको भनाइ छ।

एमालेले वडा ४ बाट २५ सय मत खस्ने अपेक्षा गरेको छ। यो समाचार तयार पार्दासम्म वडा ४ मा एमालेका विजय सुवेदीले हजार मत मात्र पाएका छन्। ४ मा गठबन्धनकी उम्मेदवार रेनुले नै अग्रता लिएकी छन्।

‘गठबन्धनको अन्तरविरोधको हामीले फाइदा उठाउन सकेनौँ,’ न्यौपानेले भने, ‘कांग्रेसको विरोधी मत प हामीले पाउने अनुमान थियो, त्यसो भएन।’

एमालेले १०, ११, १२ मा राम्रैसँग लिड गर्ने विश्वास लिएको छ।

‘हामीलाई २५ सय मत आउला भन्ने अनुमान थियो त्यो नआउने भयो। अलिकति शंका उब्जेको छ, तर, हामी केही वडाबाट लिड गरेर चुनाव त जित्छौँ।’

गठबन्धनभित्र पनि अपेक्षाकृत मत नआएको विश्लेषण भइरहेको एक नेताले बताए।

‘चारवटा वडाको विश्लेषण गर्दा हामीले अपेक्षा गरेको मत आएको देखिएन,’ एक नेताले भने, ‘अब ग्रामीण क्षेत्रमा पुगेपछि हामी निकै लिड गर्छाैं ।’


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .