ad ad

निर्वाचन विशेष


धनगढीमा उपयेरका दुई उम्मेदवारको भन्दा धेरै मत बदर

मतदाता शिक्षा अभाव र गठबन्धन प्रमुख कारण
धनगढीमा उपयेरका दुई उम्मेदवारको भन्दा धेरै मत बदर

यज्ञराज जोशी
जेठ ३, २०७९ मंगलबार १७:३६, धनगढी

धनगढी उपमहानगरपालिका सोमबार बिहान सार्वजनिक परिणामअनुसार उपमेयरका उम्मेदवारहरू सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी शान्ति अधिकारीले ३ हजार ११३ र एमालेकी कन्दकला रानाले ३ हजार ४९ मत पाए।

एकअर्कालाई चुनौती दिइरहेका दुवैको मत जोड्दा ६ हजार १९८ हुन आउँछ। 

तर, प्रतिस्पर्धी उपमेयरले पाएको कुल मतभन्दा बढी बदर हुँदा धेरैलाई आश्चर्यमा पारेको छ। पछिल्लो तथ्यांकअनुसार उपमेयरमा मात्रै ६ हजार २९२ मत बदर भएका छन्। 

मेयर पदका लागि बदर संख्या पनि उस्तै छ। मेयर पदमा ३ हजार ७४ मत बदर भएका छन्। 

१५ हजार ४६७ मत गणना हुँदा मेयर र उपमेयरको मात्रै ९ हजार ३६६ मत बदर भएका छन्। 

मतगणनास्थलमा स्वतन्त्र उम्मेदवार गोपाल हमालका प्रतिनिधि विवेक शर्माले मेयरको मात्रै २० प्रतिशत बढी मत बदर भएको अनुभव सुनाए। 

‘उपमेयर र मेयरमा अधिकांश बदर छ। मेयरमा २० प्रतिशत बदर भइरहेको छ,’ शर्माले नेपालखबरसँग भने, ‘एउटै मतपत्रमा आँपदेखि हलो, गितारसम्म भोट हालिएको छ। एउटा छापबाहेक अरुलाई पनि छोइएको छ। गठबन्धनका सातैवटा भोट रुखलाई हालेर हँसिया हथौडामा पनि छाप छ।’

अत्यधिक मत बदर हुनुमा उनी ठूलो र झन्झटिलो मतपत्रलाई दोष दिन्छन्। 

‘मतपत्र नै जटिल छ। शिक्षित मान्छे पनि मत दिन जाँदा अलमलिने अवस्था छ। अलिकति ध्यान पुगेन भने अर्कोमा छोइहाल्छ,’ उनले भने, ‘मेयर– उपमेयको एउटा, बाँकी वडाहरूको अर्को मतपत्र भएको भए बदर कम हुन्थ्यो। तर, निर्वाचन आयोगले पैसा बचाउने चक्करमा एउटै बनाएर ठूलो र झन्झटिलो भयो।’ 

उनी उम्मेदवार नै नभएकाको पनि चुनाव चिन्ह राखिदिँदा मतदाता झनै कन्फ्युज भएको बताउँछन्। 

यस क्षेत्रका नागरिक अगुवा खड्गराज जोशी अत्यधिक बदर मतमा  निर्वाचन आयोग र राजनीतिक दलको दोष देख्छन्। 

उनले मतदाता शिक्षा नहुनुमा निर्वाचन आयोग र राजनीतिक दलले आफ्ना मतदाताको मतलाई सदर गराउनुभन्दा भाषणमै रमाउनु मुख्य कारण रहेको बताए। 

अहिलेको गठबन्धनका कारण जनताले क्रस मत हाल्नु परेकाले पनि म बदर भएको हुनसक्ने उनी बताउँछन्।

‘जनता घाममा बसेर, लाइन लागेर, प्रतिक्षा गरेर देशविदेशबाट भोट हाल्न भनेर आएका छन्। तर उनीहरुलाई मत संकेत कसरी गर्नुपर्छ जानकारी नहुनु, नदिइनु, नसिकाइनुमा निर्वाचन आयोग, राजनीतिक दल मुख्य दोषी हो,’ उनले भने, ‘मतदाताले मत जाहेर गर्नसक्ने हैसियत राख्न सक्दैन भने त्यो देशको जनताको स्तर के होला भन्ने पनि मापन गर्ने कुरा हो। विकसित देशमा पनि छुटफुट हुन्छ। तर यो अत्याधिक हो। यो प्रति कसैको ध्यानै गएन। चासै भएन। यो गम्भीर कुरा हो।’ 

प्रमुख सुदूरपश्चिम प्रदेश निर्वाचन आयोग कार्यालयका निमित्त प्रमुख प्रेमराज भट्टले अहिले सार्वजनिक संख्या वास्तविक बदरको मात्रै नभएर आंशिक बदर पनि भएकाले बढी देखिन आएको बताउँछन्। 

दुईभन्दा बढीमा छाप लगाउने वा नियमसंगत रुपमा छाप नलगाउनेलाई वास्तविक बदर र पूर्णरुपमा मतपत्रमा छाप नलगाउनेलाई आंशिक बदर भनिएको छ। 

एउटा मतपत्रमा  सात वटा छाप लगाउनुपर्ने हुन्छ तर सातभन्दा कम छाप लगाउनेलाई आंशिक बदरमा राखिएको छ। 

आंशिक बदर भनिएका मतपत्रमा एउटा वा दुईवटा मत ठिक हिसाबले लगाइएको भए त्यसको गन्ती भएको छ। तर बाँकी पूर्ण चिन्हमा भोट नलगाइएको कारण त्यसलाई आंशिक बदरमा राखिएको हो। 

‘२०७४ मा पनि यस स्थानमा ५–६ प्रतिशत मत बदर भएका थिए। अहिले वास्तविक बदर त्यसभन्दा केही बढी होलान्,’ भट्टले नेपालखबरसँग भने, ‘अहिले वास्तविक र आंशिक बदर संख्या जोड्दा बढी बदर देखिएको हो। भोलिसम्म वास्तविक बदरको छुट्टै संख्या निकाल्छौँ।’

उनले यसपल्ट बजेट अभावमा गाउँगाउँमा मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्न नसकेको र दलहरुले गठबन्धन गरेपनि मतदातालाई भोट गर्न नसिकाएकाले बढी बदर संख्या देखिएको बताए।

‘सबै निर्वाचन आयोगलाई मात्रै दोष दिएर हुँदैन। मतदाता शिक्षाका लागि यसपालि बजेट थिएन। गाउँगाउँमा हामीले मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्न सकेनौँ तर नमूना मतदान र मिडियाहरुमा सूचना उपलब्ध गराएका हौं,’ उनले भने, ‘दलहरुले गठबन्धन भन्दै एलायन्स गरेर चुनाव लडे तर कसरी भोट गर्ने भनेर आफ्ना मतदातालाई नसिकाउँदा बदर संख्या धेरै देखिन्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .