ad ad

निर्वाचन विशेष


रोल्पामा विरासत जोगाउन वर्षमान सफल, रुकुममा जनार्दन असफल

रोल्पामा विरासत जोगाउन वर्षमान सफल, रुकुममा जनार्दन असफल

नेपालखबर
जेठ ४, २०७९ बुधबार १७:१५, काठमाडौँ

माओवादी जनयुद्धताका रोल्पा र रुकुमले प्राप्त गरेको राजनीतिक परिचय थियो– जनयुद्धको उद्गम जिल्ला। छुट्टाछुट्टै अस्तित्व रहे पनि मानिसहरु यी दुई जिल्लालाई छुट्ट्याएर हेर्दैनथे, एउटै जिल्लाजस्तो गरी ‘रोल्पा–रुकुम’ भन्थे।

सीमा जोडिएका रोल्पा र रुकुम राजनीतिक रुपमा पनि एउटै अञ्चल राप्ती अन्तर्गतका जिल्ला थिए।  

तर, संविधानसभाबाट संविधान घोषणा भएसँगै राजनीतिक सीमाबाट मात्र होइन, भौगोलिक सीमाबाट रोल्पा र रुकुम अलग भए। ‘रुकुम पूर्व’  र ‘रुकुम पश्चिम’ गरी पुरानो रुकुम दुई जिल्लामा विभाजित मात्र भएन, ‘पश्चिम रुकुम’ कर्णाली प्रदेशमा पर्यो भने रोल्पा लुम्बिनी प्रदेशको अंग बन्यो।

माओवादी जनयुद्धको उद्गम मानिने रोल्पा र रुकुम प्रदेशगत विभाजनबाट मात्र अलग भएका छैनन्, यी दुई जिल्लाबाट प्रतिनिधित्व गर्ने माओवादी केन्द्रका दुई प्रभावशाली नेताहरु वर्षमान पुन (रोल्पा) र जनार्दन शर्मा (रुकुम पश्चिम) पनि मनोवैज्ञानिक रुपमा विभाजित छन्।

माओवादी केन्द्रको पुस (०७६) मा सम्पन्न महाधिवेशनमा महासचिवमा रोल्पाका वर्षमान र पश्चिम रुकुमका शर्मा दुबैले दावेदारी पेश गरेका थिए। दुबैको दावेदारीका कारण अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) कसलाई महासचिव बनाउने भन्ने विषयमा अहिलेसम्म अनिर्णित छन्।

२०७४ को आम निर्वाचनमा दुबै नेता आआफ्नो जिल्लाबाट अत्याधिक मत प्राप्त गरी विजयी भएर आएका थिए। त्यसैले, आ–आफ्नो जिल्लामा दुईमध्ये को बढी बलियो छ भन्न सकिने स्थिति थिएन।

पहिलो स्थानीय तह निर्वाचन (२०७४) को निर्वाचनमा भने रोल्पामा पुनले भन्दा रुकुम पश्चिममा शर्माले उत्कृष्ठ नतिजा निकालेका थिए। कतिपय पालिकामा कांग्रेस–एमालेबीचको गठबन्धनका बाबजुद ‘रुकुम पश्चिम’ का ६ वटै पालिकाका प्रमुख–उपप्रमुखमा माओवादी केन्द्रका उम्मेदवारलाई विजय गराउन शर्मा सफल भएका थिए।

रुकुम पश्चिममा जस्तै रोल्पामा समेत कांग्रेस–एमालेले माओवादी केन्द्रविरुद्ध गठबन्धन निर्माण गरेका थिए। तर, ‘रुकुम पश्चिम’ मा जस्तो सतप्रतिशत नतिजा रोल्पामा माओवादी केन्द्रलाई दिलाउन पुन सफल भएनन्।

जिल्लाका १० पालिकामध्ये २०७४ मा माओवादी केन्द्र ७ पालिकामा मात्र विजयी भयो। लुङ्ग्री र रुन्टीगढी गाउँपालिकाको प्रमुखमा कांग्रेस र त्रिवेणी गाउँपालिकाको प्रमुखमा एमाले उम्मेदवार विजयी भएका थिए।   

‘रुकुम पश्चिम’ मा माओवादी केन्द्रलाई शतप्रतिसत नतिजा दिलाएपछि माओवादी केन्द्रभित्र शर्माको हैसियत अरु बढ्यो। पार्टीको वरियतामा शर्माभन्दा पुन अगाडि रहे पनि २०७४ को स्थानीय तह निर्वाचनमा रोल्पामा ‘रुकुम पश्चिम’ मा जस्तो शतप्रतिसत नतिजा निकाल्न नसक्दा शर्माको तुलनामा पुन कम शक्तिशाली हुन् कि भन्ने सन्देश माओवादी पंक्तिमा गयो। गत महाधिवेशनमा पुनलाई महासचिव चयन गर्न अध्यक्ष प्रचण्ड हच्कनुको एउटा कारण यो पनि थियो।

तर, ३० वैशाखमा भएको स्थानीय तह निर्वाचनमा ‘रुकुम पश्चिम’ मा जनार्दन शर्मा भन्दा वर्षमान पुन प्रभावकारी देखिएका छन्।

जस्तो, ‘पश्चिम रुकुम’ मा माओवादी केन्द्रले ‘क्लिन स्वीप’ जोगाउन सकेन। जिल्लाका ६ मध्ये चार पालिकाको प्रमुख माओवादी केन्द्रले गुमाउने सम्भावना देखिएको छ।

२०७४ मा विजय हासिल गरेको बाफीकोट गाउँपालिकाको अध्यक्ष पद माओवादीले गुमाइसकेको छ।

त्यहाँ कांग्रेस उम्मेदवार जनककुमार बाँठामगर ४ हजार ४५५ मतसहित विजयी भइसकेका छन्। ४ हजार ४२४ मत प्राप्त गरेका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका चन्द्रबहादुर केसी ३१ मतले कांग्रेस उम्मेदवारबाट पराजित भएका छन्।

कांग्रेस–एमालेबीचको गठबन्धनका कारण माओवादी केन्द्र ‘पश्चिम रुकुम’ को सदरमुकाम मुसिकोट नगरपालिका पनि गुमाउने क्रममा छ।

कांग्रेसबाट मेयरका उम्मेदवार महेन्द्र केसी सुरुवाती गणनादेखि नै यहाँ अग्रस्थानमा छन्। पछिल्लो मत गणनामा केसीले ४ हजार ९३४ मतसहित अग्रता लिइरहँदा माओवादी केन्द्रका बसन्तकुमार शर्मा ४ हजार ६६९ मतसहित दोस्रो स्थानमा छन्।

मुसिकोटको उपमेयरमा पनि कांग्रेस–एमाले गठबन्धनका उम्मेदवार थलबहादुर ओली (एमाले) ले अग्रता हासिल गरेका छन्। माओवादी केन्द्रसँग तालमेल गरेको एकिकृत समाजवादीका विमलकुमार पुनमगरले उपमेयरमा ४ हजार ११० मतका साथ एमालेका ओलीलाई पछ्याइरहेका छन्।

यद्यपि, कांग्रेस–एमाले गठबन्धनलाई पराजित गर्दै चौरजहारी नगरपालिका, त्रिवेणी गाउँपालिका र सानीभेरी गाउँपालिकामा माओवादी केन्द्रका उम्मेदवार विजयी भइसकेका छन्।

‘रुकुम पश्चिम’ मा माओवादी केन्द्रले दुई पालिकाको प्रमुख गुमाउने स्थिति रहँदा रोल्पामा भने माओवादी केन्द्रले पालिका प्रमुखको हकमा २०७४ को हैसियत जोगाउन सफल भएको छ। हुन त, उसले पनि २०७४ मा विजय हासिल गरेको एउटा गाउँपालिका गुमाएको छ। तर, अर्काे गाउँपालिका उसले कांग्रेसबाट खोस्न सफल भएको छ।

‘रुकुम पश्चिम’ मा जस्तै रोल्पामा पनि कांग्रेस–एमालेबीच गठबन्धन भएको छ। तर पनि पुनले रोल्पामा पुरानै हैसियतमा माओवादीलाई राख्न सफल भएका हुन्।  

जिल्लाका १० मध्ये सबै पालिकाको मत परिणाम सार्वजनिक हुँदा २०७४ मा जस्तै माओवादी केन्द्रले ७ पालिकामा विजय हासिल गरेको छ।

उसले २०७४ मा विजय हासिल गरेको गंगादेव गाउँपालिकाको प्रमुख–उपप्रमुख दुबै गुमाएको छ। यहाँ कांग्रेसका अध्यक्षका उम्मेदवार हरिबहादुर पुन २ हजार ५५७ मतसहित विजयी भइसकेका छन्।

निकटतम प्रतिद्वन्द्वी एमालेका रोशनकुमार ओलीले २ हजार ४९९ मत प्राप्त गर्दा माओवादी केन्द्रका उम्मेदवार वीरबहादुर खत्रीले २९३ मतमात्र प्राप्त गरेका छन्।

तर, गंगादेव गाउँपालिकामा प्राप्त यो हारको क्षतिपूर्ति माओवादी केन्द्रले लुङ्ग्री गाउँपालिकाबाट गरेको छ। २०७४ मा नेपाली कांग्रेसले विजय हासिल गरेको लुङ्ग्री गाउँपालिकामा यसपटक माओवादी केन्द्रका भरतकुमार थापा ४ हजार ९६४ मतसहित विजयी भएका छन्। निकटतम प्रतिद्वन्द्वी कांग्रेसका जनक खड्काले ४ हजार २९९ मत प्राप्त गरेका छन्।

२०७४ मा एमाले विजयी भएको त्रिवेणी गाउँपालिकामा पनि यसपटक एमाले–कांग्रेस गठबन्धन विजयी भएको छ। अध्यक्षमा एमाले उम्मेदवार कर्णबहादुर बाँठामगर ५ हजार ५० र उपाध्यक्षमा नेपाली कांग्रेसका लेखमणि डाँगी ४ हजार ५७६ मत सहित विजयी भएका छन्। निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका रेशम पुनले अध्यक्षमा ४ हजार ४६३ र उपाध्यक्षमा पनि माओवादी केन्द्रकै भागिसरा बन्दीपुरे (खड्का) ले ३ हजार ८६५ मत प्राप्त गरेका छन्।

रुन्टीगढी गाउँपालिकामा पनि २०७४ मा जस्तै यसपटक पनि नेपाली कांग्रेसकै उम्मेदवारहरु विजयी भएका छन्। जनक पुन ४ हजार ३९१ अध्यक्षमा र सरिता केसी ४ हजार ४३७ मतसहित उपाध्यक्षमा विजयी हुँदा निकटतम माओवादी केन्द्रका गोविन्द पुनमगरले ३ हजार ७०८ र एमालेका यामबहादुर दशौँदी मगरले ४ हजार ५८७ मत प्राप्त गरेका छन्। 

बाँकी पालिकाहरुमा भने माओवादी केन्द्रका उम्मेदवारहरु कांग्रेस–एमाले–बिप्लव समूहका उम्मेदवारहरुलाई पराजित गर्दै अध्यक्ष–उपाध्यक्षमा विजयी भएका छन्।

थवाङ्गमा  ऋषिकेशव बुढामगर अध्यक्ष र उपाध्यक्ष शर्मिला बुढामगर, परिवर्तन गाउँपालिकामा सुकबहादुर बुढामगर अध्यक्ष र कलादेवी खत्रेनी उपाध्यक्ष, माडी गाउँपालिकामा अमरसिंह घर्ती अध्यक्ष र जयपुरी घर्तीमगर उपाध्यक्ष, सुनछहरी गाउँपालिकामा धनबहादुर पुनमगर अध्यक्ष र मनकला घर्तीमगर उपाध्यक्ष, सुनिल स्मृति गाउँपालिका मणिराम बुढाथोकी अध्यक्ष र मीना थापा उपाध्यक्षमा माओवादी केन्द्रबाट विजयी भएका छन्।

सदरमुकाम रहेको रोल्पा नगरपालिकामा माओवादी केन्द्रबाट मेयरका उम्मेदवार सुरेन्द्र थापा (घर्ती) निकटतम प्रतिद्वन्द्वी कांग्रेस उम्मेदवार भन्दा दोब्बर मतान्तरले विजयी भइसकेका छन्।

मेयरमा निर्वाचित घर्तीले ७ हजार ६०३ मत प्राप्त गर्दा निकटतम प्रतिद्वन्द्वी कांग्रेसका शेरबहादुर थापाले ३ हजार ६५८ मत प्राप्त गरेका छन्। एमाले उम्मेदवार घनश्याम आचार्यले ५२४ मतमात्र प्राप्त गरेका छन्।

उपमेयरमा पनि माओवादी केन्द्रकी गीता आचार्य ठूलो मतान्तरले विजयी भएकी छन्। उनले ७ हजार ७४१ मत प्राप्त गर्दा निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी पुष्पा श्रेष्ठले ३ हजार ७१९ र एमालेकी कृष्णकुमारी गौतमले ४१९ मत प्राप्त गरेकी छन्। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .