ad ad

निर्वाचन विशेष


मोरङमा फर्कियो एमालेको साख, गठबन्धन नगर्दा कांग्रेसलाई घाटा

केराबारीमा बाबु हराउनेलाई छोराले बदला लिए
मोरङमा फर्कियो एमालेको साख, गठबन्धन नगर्दा कांग्रेसलाई घाटा

मोरङको पालिकामा जितेका एमालेका उम्मेदवारहरु


सुमन पुरी
जेठ ४, २०७९ बुधबार १८:४२, विराटनगर

हर्कमान तामाङले तीनचोटि प्रतिनिधिसभामा जित निकालेको मोरङको उत्तरी भेग २०४७ सालदेखि नै नेकपा एमालेको गढ मानिँदै आएको थियो। 

तर, ०७४ को स्थानीय चुनावमा यहाँ कांग्रेसले एमालेलाई चक्मा खुवाउँदै धेरैवटा स्थानीय तह जित्यो। अहिले ०७९ सम्म आइपुग्दा फेरि एमालेले पुरानो विरासत फर्काएको छ।

वैशाख ३० मा सम्पन्न स्थानीय चुनावमा कांग्रेस र माओवादीबीच देशव्यापी गठबन्धन हुँदा मोरङका धेरैवटा पालिकामा कांग्रेस–माओवादी छुट्टाछुट्टै भिडे। गठबन्धन नहुनुको सोझो फाइदा एमालेले उठायो।  

दृष्टान्तका लागि, केराबारी गाउँपालिकामा कांग्रेस र माओवादीबीच तालमेल हुन सकेन। त्यसको फलस्वरुप एमालेले ०७४ मा गुमेको पालिका अध्यक्ष पद फर्कायो। 

लेटाङ नगरपालिकाको हकमा पनि एमालेले त्यसैगरी विगतमा गुमेको मेयर पद फिर्ता लियो। भलै, लेटाङमा एमालेले गठबन्धनलाई नै पराजित गरेर सफलता पायो।  

कुल १७ वटा स्थानीय तह रहेको मोरङमा ०७४ सालको चुनावमा कांग्रेसले १० वटा स्थानीय तह जितेको थियो। एमालेले ५ वटा मात्रै जितेको थियो।

तर, यसपटकको परिणामले एमाले मोरङमा बलियो अवस्थामा पुगेको छ। अहिलेसम्म सार्वजनिक भएको मत परिणामअनुसार एमालेले ३ वटा पालिकामा प्रमुख उपप्रमुखसहित निर्वाचन जितिसकेको छ। ५ वटा पालिकामा एमाले जितको नजिक छ। एउटा पालिकामा एमाले-कांग्रेसबीच तीव्र प्रतिस्पर्धा चलिरहेको छ।

एमालेले सुनबर्षीमा जितिसकेको छ। सुनवर्षी नगरपालिकाको मेयर र उपमेयर दुवैमा एमाले विजयी भएको हो। 

मेयरमा एमालेका श्यामप्रसाद राजवंशीले ८ हजार ६ सय ३९ मत प्राप्त गदै निर्वाचित भए। उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका यज्ञबहादुर कार्कीले ६ हजार ९ सय ५३ मत ल्याए। उप्रमुखमा पनि एमालेकै मीरादेवी दास केवरत ८ हजार ३ सय ३ मतसहित विजयी भइन्। 

२०७४ को स्थानीय तह निर्वाचनमा कांग्रेसले मेयर र उपमेयर दुवैमा जितेको थियो।

अहिलेसम्म उर्लाबारी, बेलबारी, पथरी शनिश्चरे र रंगेली नगरपालिका र धनपाल गाउँपालिकामा प्रमुख-उपप्रमुख पदमै अग्रता लिएको छ।

मोरङको बूढीगंगा गाउँपालिकामा भने एमाले र कांग्रेसका बीचमा कहिले अघि, कहिले पछिको अवस्था छ।

पहिले नेपाली कांग्रेसले जितेका केराबारी गाउँपालिका र  लेटाङ नगरपालिका अहिले एमालेले जितेको छ। कांग्रेसले अहिलेसम्म मोरङको मिक्लाजुङ गाउँपालिका, जहदा र कटहरी गाउँपालिकामा जितेको छ।

जितेका पालिकामध्ये मिक्लाजुङमा कांग्रेससँग गठबन्धन भएका कारण उपप्रमुख माओवादीको भागमा परेको छ भने कटहरीमा अध्यक्ष कांग्रेसले र उपाध्यक्ष एमालेले जितेको छ।

विराटनगर महानगरपालिकामा कांग्रेसको मतान्तर ठूलो छ। यही मतको प्रवाह जारी रहने हो भने कांग्रेसलाई भेट्न एमालेलाई गाह्रो देखिन्छ।

विराटनगर महानगरको उपमेयरमा एमालेले ठूलो मतान्तरले अग्रता लिएको छ। हुन त गठबन्धन हुँदा कांग्रेस गठबन्धनका भएका कारण  महानगरको उपप्रमुख जनता समाजवादी पार्टीको भागमा परेको छ।

कांग्रेसले यो समाचार लेखिरहँदा सम्म मोरङको रतुवामाई, सुन्दरहरैचा, ग्रामथानमा अग्रता लिइरहेको छ।

यसअघि कांग्रेसले विराटनगर महानगरपालिका, सुनवर्षी, रतुवामाई, उर्लाबारी, सुन्दरहरैँचा र लेटाङ नगरपालिकामा प्रमुख पद जितेको थियो। बूढीगंगा, कटहरी, धनपालथान र केराबारी गाउँपालिकमा पनि ०७४ मा कांग्रेसले नै जितेको थियो।

अघिल्लो स्थानीय तह निर्वाचनमा एमाले भने ५ वटामा स्थानीय तहमा मात्रै जितेको थियो। एमालेले कानेपोखरी, मिक्लाजुङ, पथरी शनिश्चरे, ग्रामथान र बेलबारी नगरपालिका जितेको थियो। 

एक–एक स्थानीय तह जितेका माओवादी र जसपाले भने यस पटकको स्थानीय तहमा कहीँ जित्ने अवस्था देखिएको छैन। 

माओवादीले मिक्लाजुङमा उपप्रमुख जितेको छ। जसपाले भने एउटा पनि पालिकामा जित्न सक्ने संकेत देखिएको छैन।

बाबु हराउनेलाई छोराले बदला लिए

मोरङको केराबारीमा एमालेका सुमन मिरिङचिङ मगर विजयी भएका छन्। उनी ७ हजार ८१० मत ल्याएर निर्वाचित हुँदा नेपाली कांग्रेसका रोहितकुमार कार्कीले ६ हजार ३९० मत प्राप्त गरे।  अघिल्लो पटक रोहित कुमार कार्कीले मिरिङचिङका वुवा नवीन थापामगरलाई हराएका थिए।

पाँच वर्षअघि बुवालाई हराएका रोहितलाई हराएर सुमनले बदला लिएका छन्। ०७४ को चुनावमा सुमनका पिता नविन थापामगरले ५ हजार २१७  मत ल्याएका थिए भने कार्कीले ५ हजार ४९९ मत ल्याएका थिए।

लेटाङमा एमालेले गठबन्धन हरायो
लेटाङ नगरपालिकाका नवनिर्वाचित भूपेन्द्र लावतीले पनि अघिल्लो निर्वाचनमा व्यहोरेको हारको बदला लिएका छन्।

उनी अघिल्लो पटक नेपाली कांग्रेसका शंकर राईसँग पराजित भएका थिए। यसपटक भने भूपेन्द्रले गठबन्धनसहितको कांग्रेसलाई हराएका छन्।

भूपेन्द्रले १० हजार २२७ मत ल्याएर विजयी हुँदा  नेपाली कांग्रेसका ज्ञानेन्द्र ढकालले ८ हजार १०५ मत मात्र प्राप्त गरे।

कटहरीबाट विजयी भएका देवराज चौधरीले भने यसपटक  पनि बाजी मारेका छन्। उनी अघिल्लो पटक पनि अध्यक्ष पदमा उमेदवार थिए। देवराज चौधरी यसपटक ६ हजार ५६५ मत प्राप्त गर्दै विजयी भएका छन्।

यसअघि उनी कटहरी गाउँपालिकामा मधेसी जनअधिकार फोरम नेपाल लोकतान्त्रिकबाट अध्यक्षमा उमेदवार भएका थिए। उनले जम्मा २ हजार ८८४ मत मात्रै पाएका थिए। कांग्रेसका रामकुमार कामतले ४५०६ मत ल्याएका थिए।

बढुवा भइन् राजमती, घटुवा भइन् मञ्जिता
अघिल्लो स्थानीय तहको निर्वाचनमा कानेपोखरी गाउँपालिकाको उपाध्यक्ष जितेकी राजमती इङ्नाम यसपटक अध्यक्ष बनेकी छन्। 

उनले ८ हजार ९७२ मत प्राप्त गरिन्। कांग्रेसका प्रत्यासी सञ्जय भट्टराईले भने ५ हजार ८४६ मत ल्याए। माओवादीका सूर्य धिमाल ४ हजार ८३३ मत ल्याएर तेस्रो भए।

राजमतीले २०७४ को स्थानीय तहको निर्वाचनमा उपाध्यक्ष जित्दा ७ हजार २९ मत पाएकी ल्याएकी थिइन्।

लेटाङकी कृष्णकुमारी निरौलाले भने दोस्रो  कार्यकाल दोहोर्याएकी छन्। उनले लेटाङमा एमालेका तर्फबाट उपमेयर जितेकी थिइन्। यसपटक पनि उनी सोही पदमा दोहोरिएकी छिन्। कृष्णकुमारीले ९ हजार ४६० मत प्राप्त गरिन्। 

उनका प्रतिस्पर्धी माओवादी केन्द्रका कृष्णप्रसाद लम्सालले ४ हजार ९०५ मत पाए। कृष्णकुमारीले अघिल्लो पटक ६ हजार ८०९ मत ल्याएकी थिइन्।

मोरङको कटहरीमा भने मञ्जिता कुमारी सरदार पराजित भएकी छन्। अघिल्लो स्थानीय तहको निर्वाचनमा भारी मतले विजय भएकी सरदार यसपटक भने एमालेकी सीतादेवी राजवंशीसँग पराजित भइन्।

सीतादेवीले ५ हजार ८४८ मत ल्याएकी छन् भने मञ्जिताले ५ हजार ७०५ मत ल्याएकी छन्। अघिल्लो स्थानीय तहमा मञ्जिताले  एमालेकी ४ हजार ४९४ मत पाएकी थिइन्। उनकी प्रतिस्पर्धी एमालेकी सुमन कुमार सरदारले ३७५५ मत ल्याएकी थिइन्।

कांग्रेसद्वारा कमजोरी स्वीकार
नेपाली कांग्रेसका जिल्ला सभापति डिगबहादुर लिम्बूले अघिल्लो स्थानीय तहको निर्वाचनमा भन्दा कांग्रेस मोरङमा कमजोर भएको स्वीकार गरे।

उनले पहिला जितेका पालिकाहरु जित्ने आकलन गरिएको भए पनि यसपटक गुमाउनुपर्ने अवस्था आएको बताए। उनले टिकट वितरणको अवस्थाबाटै समस्या आएको बताए।

सभापति लिम्बूले वडाका उम्मेदवार क्षेत्रले छनोट गर्ने, गाउँपालिकाको जिल्लाले छान्ने र नगरको प्रदेशले छान्ने हुँदा जिल्लाको भूमिका कमजोर भएको बताए।

उनले गठबन्धनमा समेत समस्या भएको बताए। कांग्रेस कार्यकर्तामा आधारित नभएर जनतामा आधारित पार्टी  भएकाले गठबन्धनमा जाँदा सही तरिकाले पार्टीलाई परिचालन गर्न नसकेको कांग्रेस नेता लिम्बूको विश्लेषण छ।

महिलाहरुलाई उमेदवार बनाउन नसक्दा समेत पार्टीमा असन्तुष्टि बढेर गएको र यसको नतिजा निर्वाचनको परिणाममा आएको लिम्बूले बताए। उनले भने, ‘हामीले गठबन्धनबाट धेरै कुरा सिक्यौँ। आगामी दिनमा अगाडि बढ्न सहयोग पुग्नेछ।’

महानगर पनि जित्छौँ भन्ने थियो : एमाले
एमाले जिल्ला सचिव रुपेश खतिवडाले महानगर बाहेक अन्यत्र सोचे अनुसारकै नतिजा आएको बताए।

उनले भने, ‘हामीले महानगर पनि जित्छौँ भन्ने थियो। तर, अहिले केही मतले पछाडि छौँ। यसबाहेक हामीले अनुमान गरेका सबै पालिकामा जित निकालेका छौँ।

एमाले नेता खतिवडाले विराटनगर महानगर र मिक्लाजुङमा गठबन्धनका कारण समस्या भएको बताए। उनले भने, ‘हामीले पहिले गुमाएका उत्तरी मोरङका केराबारी, लेटाङ फर्काएका छौं। उर्लाबारी, बेलबारीमा पनि जित नजिक छौँ।

अघिल्लो स्थानीय तहको निर्वाचन जितेको पथरी शनिश्चरेमा पनि एमाले अगाडि नै रहेको भन्दै समग्र उत्तरी मोरङमा बलियो भएको खतिवडाले बताए।

मधेसमा पनि एमाले बलियो भएको उनले दाबी गरे। अघिल्लो स्थानीय  तहको निर्वाचनमा एमालेले दक्षिणी पालिकाहरुमा कहीँ कतै जित निकालेको थिएन। यसपटक धेरै पालिकामा अग्रता लिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .