ad ad

निर्वाचन विशेष


लेखराजका भाइको ‘लेखान्त’ : माओवादीमा हारे, एमालेमा पनि हारे

लेखराजका भाइको ‘लेखान्त’ : माओवादीमा हारे, एमालेमा पनि हारे

नेपालखबर
जेठ ४, २०७९ बुधबार १९:२०, काठमाडौँ

देशभरको निर्वाचन परिणाममा अग्रता हासिल गरिरहेको नेपाली कांग्रेसले कैलालीको गोदावरी नगरपालिकामा पनि विजय हासिल गरेको छ। अधिकांश पालिकामा जस्तै यहाँ पनि कांग्रेस उम्मेदवारसँगको प्रतिस्पर्धामा एमाले उम्मेदवार निकटतम प्रतिद्वन्द्वी रही पराजित भएका छन्।

तर, अन्य पालिकाको विजय–पराजय भन्दा यो नगरपालिकामा भएको कांग्रेसको विजय र एमालेको पराजय रोचक छ।

गोदावरी एमाले सचिव एवं सुदुर पश्चिम इञ्चार्ज लेखराज भट्टको गृहनगर हो। पूर्वमाओवादी नेता भट्टले यसपटक पनि यहाँ आफ्नै भाइ गोकर्ण भट्टलाई मेयरको उम्मेदवार बनाएका थिए।

तर, ४ हजार भन्दा बढी मतान्तरले एमाले उम्मेदवार गोकर्ण भट्ट कांग्रेसका उम्मेदवार वीरेन्द्र भट्टबाट पराजित हुन पुगेका छन्। विजयी वीरेन्द्रले १५ हजार ५ सय १ मत प्राप्त गर्दा पराजित गोकर्णले ११ हजार २ सय २४ मत प्राप्त गरेका छन्। यो भनेको ४ हजार २ सय ७७ को अन्तर हो।

एमाले नेता भट्टले माओवादी केन्द्रमा छँदापनि भाई गोकर्णलाई गोदावरी नगरपालिकाको मेयरको प्रतिस्पर्धामा उतारेका थिए। तर, उनी तेस्रो स्थानमा रहेर पराजित भए। गोकर्ण तेस्रो स्थानमा रहेर पराजित हुँदा विजयी एमाले उम्मेदवार हरिसिंह साउदले ९ हजार ८ सय ७० मत प्राप्त गरेका थिए।

निकटतम प्रतिद्वन्द्वी कांग्रेस उम्मेदवार वीरेन्द्र भट्टले ८ हजार ४ सय ५७ र माओवादी केन्द्रबाट उम्मेदवार रहेका गोकर्णले ६ हजार ४ सय ८१ मत प्राप्त गरेका थिए।

विजेता एमाले अध्यक्षका उम्मेदवार साउद र तेस्रो स्थानमा रही पराजित माओवादी केन्द्रका उम्मेदवार भट्टबीचको मतान्तर ३ हजार ३ सय ८९ थियो। तर, अहिले उनी ४ हजार २ सय ७७ मतान्तरका साथ पराजित भए। २०७४ मा निकटतम प्रतिद्वन्द्वी रहेका कांग्रेसका वीरेन्द्रले यसपटक उनलाई पराजित गरे।

एमाले उम्मेदवार बनेका लेखराजका भाइ गोकर्ण यति ठूलो मतान्तरका साथ पराजित हुँदा उपाध्यक्षमा भने एमालेकी शारदादेवी रोकाया १० हजार ६ सय ७० मतसहित विजयी भएकी छन्। निकटतम प्रतिद्वन्द्वी एकीकृत समाजवादीकी रत्ना कडायतले ८ ९ हजार ९ सय ८३ मत प्राप्त गरेकी छन्।

एमाले नेता लेखराजले दुई दुई पटक भाइ गोकर्णलाई आफ्नै गृहपालिकामा विजय गराउन नसक्दा माओवादीमा छँदा उनका ‘प्रतिस्पर्धी’ खगराज भट्टका भाइ उमेशप्रसाद भट्ट भने विजयी भएका छन्। उमेश प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेलधुराको अजयमेरु गाउँपालिकाको अध्यक्षमा दोस्रो पटक विजयी भएका हुन्।

विजयी उमेशले २ हजार ४ सय ६९ मत प्राप्त गरी विजयी हुँदा प्रतिद्वन्द्वी एमालेका पदमबहादुर पालले २ हजार २ सय ९७ र नेपाली कांग्रेसका टेकराज पाण्डेयले १ हजार ९ सय ८१ मत प्राप्त गरेका छन्। यहाँको उपाध्यक्षमा भने नेपाली कांग्रेसबाट उम्मेदवार रहेकी बसन्ती पालले विजय हासिल गरेकी छन्।

माओवादी केन्द्रमा छँदा डडेलधुराका खगराज र कैलालीका लेखराजबीच कहिल्यै सुमधुर सम्बन्ध रहेन। यही कारण लेखराज अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) निकट थिए भने खगराज डा बाबुराम भट्टराई निकट। तर, डा. भट्टराईले माओवादी परित्याग गरी नयाँशक्ति गठन गर्दा खगराजले साथ दिएनन्, माओवादीमै रहे।

माओवादी केन्द्रबाट मन्त्री रहेका लेखराज ‘नेकपा’ विभाजित भएपछि माओवादी केन्द्रमा नफर्की एमालेमै रहेका थिए। उनी ‘नेकपा’ बन्नुअघि सुदुर पश्चिम प्रदेशको इञ्चार्ज समेत थिए। लेखराज एमालेमै रहेपछिमात्र खगराजले माओवादी केन्द्रको प्रदेश इञ्चार्ज बन्ने अवसर प्राप्त गरे। लेखराज भने यतिबेला एमालेको सचिवका अलावा सुदुर पश्चिम इञ्चार्ज छन्।

यही हैसियतमा उनले आफ्ना भाइलाई दोहोर्याएर गोदावरी नगरपालिकाको मेयरको उम्मेदवार बनाएका हुन्। तर, दोस्रो पटक पनि भाइलाई विजय दिलाउन लेखराज असफल भएका छन्। यसले गर्दा लेखराजका भाइको ‘लेखान्त’ (भाग्य) मा हारमात्रै लेखिएको रहेछ कि भन्ने सन्देश गएको छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .