ad ad

निर्वाचन विशेष


धनगढीमा अग्रता बनाइरहेका गोपाल हमालले जित्ने सम्भावना कति?

कांग्रेसकै नेता भन्छन् : यसैगरी अघि बढे रोक्न सकिँदैन
धनगढीमा अग्रता बनाइरहेका गोपाल हमालले जित्ने सम्भावना कति?

यज्ञराज जोशी
जेठ ४, २०७९ बुधबार १९:५०, धनगढी

बुधबार साँझ सार्वजनिक धनगढी उपमहानगरपालिकाको मतपरिणाम अनुसार मेयर पदका स्वतन्त्र उम्मेदवार गोपाल हमालले ६ हजार ४१२ मतको अग्रता लिएका छन्। 

६३ हजार ७१५ मत खसेको धनगढीमा २६ हजार ४१९ मत गन्दा हमालले १२ हजार ३०४ मत पाएका छन्। 

सत्ता गठबन्धनबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका नृपबहादुर वडले ५ हजार ८९२ मतसहित पछ्याएका हमाललाई पछ्याइरहेका छन्।  

यस्तै नेकपा एमालेका उम्मेदवार रणबहादुर चन्दले २ हजार ७५२ मत ल्याएर तेस्रो स्थानमा छन्। 

१९ वटा वडा रहेको धनगढीमा हालसम्म १, २, ३, १८ र १९ वडाको मतगणना सकिएको छ। मतगणना सकिएका सबै वडामा हमालले सबैभन्दा बढी मत पाएका छन्। 

वडा नम्बर १ मा ४२१८ मत खसेको थियो। जसमा कांग्रेसका वडले ११६० मत पाउँदा हमालको पक्षमा १९६४ आएको छ। यद्यपि यस वडामा भने कांग्रेसको प्यानलसहित विजयी भएको थियो। 
वडानम्बर २ मा हमालले वडभन्दा तेब्बर बढी मत पाए। यस वडामा खसेका ४०७२ मतमध्ये हमालले २४७७ मत पाए। 

यो वडाबाट नृपबहादुर वडलाई ६८८ मतमात्रै पाएका थिए। यो वडामा पनि कांग्रेसको वडाध्यक्ष धर्मराज ओझा (११९४) सहित प्यानलसहित नै विजयी भएको थियो। 

वडानम्बर ३ मा हमालले वडलाई पाँच गुणा बढी अन्तरले पछि पारेका छन्। यस वडामा हमालले २७२७ मत पाउँदा वडले ५९८ मात्रै हासिल गरे। यहाँ पनि कांग्रेस प्यानलसहित नै विजयी भएको छ। 

अहिले वडा नम्बर ४, ५, १६ र १७ को मतगणना जारी छ। वडा नम्बरमा ४ मा १८८७ मत गणना हुँदा पनि अगाडि रहेका हमालले ११५० मत पाइसकेका छन्। वडले २८६ मत वडमात्रै पाएका छन्। 

यस्तै वडा नम्बर ६ सय गन्दा २१४ हमालले र १४८ वडले मत प्राप्त गरेका छन्। वडा नम्बर १७ मा वडले अग्रता लिइरहेका छन्। १५९३ गन्दा वडले ६४६ र हमालले ३९४ मत पाएका छन्। 

अहिलेसम्म धनगढीमा गणना भइसकेका ५ वडामा हमालले पहिलो स्थानमा मत पाएका छन् गणना भइरहेका ४ मध्ये ३ वडामा हमालको अग्रता छ भने एक वडामात्रै वड अघि छन् 

निर्वाचनअघि हमालको टिमले १९ मध्ये १६ वटा वडामा पहिलो स्थान हासिल गर्ने अनुमान लगाएको थियो। 

वडा नम्बर १७, ९ र १० मा अपेक्षित मत नआएर कांग्रेसले लिड गर्न सक्ने अनुमान थियो। त्यही अनुमान अनुसार गणना जारी रहेको वडा नम्बर १७ मा हमाल दोस्रो नम्बरमा छन्। वडा ९ र १० को गणना बाँकी छ। 

हमालको निर्वाचन अभियानका कोर सदस्य दानबहादुर रावलका अनुसार गणना भइरहेको ४, ५, ६, नम्बरमा खसेकामध्ये ७० प्रतिशत पाउने अनुमान छ। 

यी बजार क्षेत्र हमालका पकड क्षेत्र पनि हुन्। अघिल्लो निर्वाचनमा पनि यी स्थानमा हमालले पहिलो स्थान हासिल गरेका थिए। 

अब गन्न बाँकी वडा नम्बर ८, ९, र १३, मा ६० प्रतिशत तथा ९ र १० वडामा ५० प्रतिशत मत आउने आकलन हमाल पक्षको छ। अहिलेसम्म आएको मत अनुसार अब पनि आउनेमा रावल ढुक्क छन्  

‘अपेक्षा अनुसार नै मत परिणाम आइरहेको छ। जित निश्चित छ,’ रावल भन्छन्, ‘दुईजनाले ल्याएको मतको फरकमा हामी जित्छौँ। रुख र सूर्यको कुल मतभन्दा दोब्बर हमालको आउँछ।’ 
हमालले १२ हजार ३ सय मत प्राप्त गरिसकेका छन्। अब १५ हजार कटाएमा त्यसपछि जित्ने निश्चित हुने उनीनिकट बताउँछन्। 

अहिलेको रुझान हेर्दा हमालले ३० हजार मत पाउने आकलन छ। विपक्षीलाई १०–१२ हजारको अन्तरमा हराउने रावलले बताए। 

‘हाम्रो १५ हजार कटेपछि गन्न बाँकी अरु वडामा हामीलाई प्रतिस्पर्धा गर्न अरु दलका उम्मेदवारले एकलौटी(शतप्रतिशत) ल्याउनुपर्छ। त्यो सम्भव देखिँदैन,’ रावलले भने, ‘हाम्रो ३० हजार कट्ने देखिने अहिलेको रुझान देखिन्छ। १०, १२ हजारको अन्तरमा प्रतिस्पर्धीलाई हराउने देखिन्छ।’ 

कांग्रेसका कैलाली जिल्ला सचिव नृप सुनार आफ्ना उम्मेदवार वडलाई अब निकै सकस परेको बताउँछन्।

गन्न बाँकी ३० हजार मतमा अधिकांश वडामा कांग्रेसले ७० शतप्रतिशत बढी मत ल्याए प्रतिस्पर्धा हुनसक्ने तर त्यो सम्भव नदेखिएको उनले बताए।

‘३० हजार गन्न बाँकी छ। कांग्रेसले अघि आउन बाँकी वडामा कम्तीमा ७० प्रतिशत मतसहित अघि आउनुपर्यो। तर अहिलेको रुझान हेर्दा त्यो देखिँदैन,’ सुनारले भने, ‘ठ्याक्कै अहिले यही हुन्छ भन्ने अवस्था छैन। तर कांग्रेसको सकस बढेको छ।’

सुनारले अहिलेसम्म गनिएका भोट हेर्दा क्रियाशील सदस्यहरुले पनि नहालेको स्पष्ट देखिने उनले बताए। 

कांग्रेसले धनगढीमा रहेका २२ हजार क्रियाशील सदस्यमध्ये कम्तीमा १० हजार, गठबन्धनको माओवादीबाट ४ हजार, समाजवादीबाट २ हजार तथा दलित समुदायको ११ हजारमध्ये कम्तीमा ६ हजार भोट पाउने अनुमान गरेको थियो। तर अनुमानअनुसार उसले भोट पाएको छैन। 

‘एमालेले आफ्नो मत सुरक्षित गरेन। एमालेको मत स्वतन्त्रतिर डाइभर्ट नभएको भए यस्तो अवस्था आउँदैनथ्यो,’ सुनार भन्छन्।

नागरिक समाजका अगुवा प्रमोद पाठक अहिलेको ट्रेन्ड हेर्दा गोपाल हमालले चुनाव जित्ने सिनारियो देखिएको बताउँछन् 

‘जुन ट्रेन्ड देखिएको छ, त्यो हेर्दा गोपाल हमालजी नै अगाडि रहने देखियो। अहिलेसम्म गन्ती भएका वडाहरूको सिनारियो हेर्दा अझै अगाडि बढ्ने देखिन्छ,’ उनी भन्छन्, ‘सम्भवतः उहाँको जित हुने सिनारियो देखिसक्यो। सबै वडाहरूमा हमालले लिड गरेको हेर्दा जित्ने देखिन्छ।’ 

हमालले पाएको मतलाई पाठक अपेक्षित र अनपेक्षित दुवै भन्छन्। धनगढीमा स्वयम् प्रधानमन्त्री बसेका, प्रधानमन्त्री पत्नीको निर्वाचन क्षेत्र भएको र एकजना व्यक्तिले विशेषले राज्य शक्ति बोकेका पाँच दललाई चुनौती दिनुपर्ला उनले अनपेक्षित बताए। 

तर, गोपाल हमाल यस क्षेत्रमा व्यक्तिगत लोकप्रिय व्यक्ति भएको र उहाँ काम गर्नसक्ने मान्छे हो भन्ने बुझाइ तथा दलप्रति मान्छेको जुन वितृष्णाका कारण यो मत परिणामलाई अपेक्षित रुपमा लिएको उनले बताए। 

अघिल्लो निर्वाचनमा पनि हमाल वडसँग २७ सय मतान्तरले मात्रै पराजित भएका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .