ad ad

निर्वाचन विशेष


गण्डकीमा माओवादीको प्रगति : पहिलेको प्रदेशभन्दा अहिले गोरखामै दोब्बर जित

गण्डकीमा माओवादीको प्रगति : पहिलेको प्रदेशभन्दा अहिले गोरखामै दोब्बर जित

नेपालखबर
जेठ ४, २०७९ बुधबार २०:१०, काठमाडौँ

माओवादीबाट डा. बाबुराम भट्टराईको बहिर्गमनपछिको तेस्रो निर्वाचनमा गोरखामा आश्चर्यजनक पुनरागमन (कमब्याक) गरेको माओवादी केन्द्रले समग्र गण्डकी प्रदेशमा आश्चर्यजनक परिणाम दिएको छ।

२०७४ को निर्वाचनमा समग्र गण्डकीबाट माओवादी केन्द्रले प्रमुखमा प्राप्त गरेभन्दा झण्डै दोब्बर नतिजा गोरखाबाट मात्रै प्राप्त गर्न लागेको हो। 

२०७४ को स्थानीय तह निर्वाचनमा समग्र गण्डकी प्रदेशबाट माओवादी केन्द्रले ५ वटा स्थानीय तहको प्रमुखमा मात्र विजय हासिल गरेको थियो। गोरखामा २, लमजुङ्ग, तनहुँ र बाग्लुङ्गमा १–१ गरी समग्र गण्डकी प्रदेशमा माओवादी केन्द्रका ५ उम्मेदवार गाउँपालिका प्रमुखमा विजयी भएका थिए।

त्यो निर्वाचनमा माओवादी केन्द्रले गण्डकी प्रदेशको एउटा पनि नगरपालिकाको प्रमुखमा विजयको झण्डा गाढ्न सकेको थिएन। तर, यसपटक उसले जिल्ला सदरमुकाम रहेको गोरखा नगरपालिकाको प्रमुख पदमा जसपाको सहयोगमा ठूलो मतान्तरका साथ विजय हासिल गरिसकेको छ।   

जारी मतगणनाले रुझानले २०७४ मा समग्र गण्डकीबाट पालिका प्रमुखमा विजय हासिल गरेभन्दा दोब्बर संख्यामा पालिका प्रमुख गोरखाबाट निर्वाचित हुने सम्भावना देखिएको छ।

११ पालिका रहेको गोरखामा ९ पालिकाको नतिजा आइसकेको छ। नतिजा सार्वजनिक भएका ९ मध्ये गोरखा नगरपालिका, अजिरकोट, गण्डकी, धार्चे, भीमसेन, शहीद लखन र बारपाक–सुलिकोट गाउँपालिका गरी ७ पालिकाको प्रमुखमा माओवादी केन्द्रका उम्मेदवार विजयी भइसकेका छन्।

माओवादी केन्द्रले अजिरकोट, धार्चे, शहीद लखन र बारपाक सुलिकोट गाउँपालिकाका गरी चारवटा पालिकाको उपप्रमुखमा पनि विजय हासिल गरेको छ । अर्थात् गोरखाबाट मात्रै माओवादी केन्द्रका ११ जना प्रमुख–उपप्रमुख निर्वाचित भइसकेका छन्।

बुधबार (४ जेठ) देखि मतगणना सुरु भएको उत्तरी गोरखाको चुननुब्री गाउँपालिकामा पनि माओवादी केन्द्रका अध्यक्षका उम्मेदवार निमा लामा र उपाध्यक्षका उम्मेदवार लक्ष्मी गुरुङ्ग प्रारम्भिक मतगणनामा अग्रस्थानमा छन्।

लामाले ५ सय ४४ मतका साथ अग्रता हासिल गर्दा नेपाली कांग्रेसका अध्यक्षका उम्मेदवार धनबहादुर गुरुङ्गले ४ सय १४ मतका साथ दोस्रो स्थानमा छन्। उपाध्यक्षमा माओवादी उम्मेदवार गुरुङ्गले ५ सय ८५ र कांग्रेसकी मेतोक छोकी लामाले ३ सय ६२ मतका साथ गुरुङ्गलाई पछ्याइरहेकी छन्।

डा. बाबुराम भट्टराईको गृहनगर पालुङ्टारमा पनि माओवादी केन्द्र विजयको सन्निकट छ । पछिल्लो गणनामा यहाँ माओवादी केन्द्रका उम्मेदवार विवश चिन्तन ५ हजार ५ सय ७१ मत सहित अग्रस्थानमा छन्। उनलाई जसपा उम्मेदवार प्रेम गुरुङ्गले ५ हजार १ सय ३२ र नेपाली कांग्रेसका दीपकबाबु कँडेलले ४ हजार ४ सय १५ मतसहित पछ्याइरहेका छन्।

पालुङ्टारको उपमेयरमा पनि माओवादी केन्द्रकी बन्दना पाण्डे अग्रस्थानमा छिन्। पाण्डेले ५ हजार १ सय ४५ मत प्राप्त गर्दा नेपाली कांग्रेसका चेतकुमारी श्रेष्ठले ४ हजार ३ सय ४६ र एमालेकी पार्वतीदेवी पाठकले ३ हजार ८ सय ७ मतसहित पछ्याइरहेकी छन्। 

अहिलेसम्म प्राप्त नतिजाबाट २०७४ मा समग्र गण्डकीबाट माओवादी केन्द्रले पालिका प्रमुखमा प्राप्त गरेको नतिजा भन्दा बढी नतिजा अहिल्यै दिइसकेको छ।

गणनामा अग्रस्थानमा रहेका पालुङ्टार र चुननुब्रीमा पनि माओवादी केन्द्रले प्रमुख–उपप्रमुखमा विजय हासिल गर्यो भने २०७४ मा समग्र गण्डकीमा माओवादी केन्द्रले विजय हासिल गरेभन्दा बढी पालिका प्रमुख–उपप्रमुख गोरखाबाट मात्रै निर्वाचित हुनेछन्।  
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .