ad ad

निर्वाचन विशेष


खोटाङमा एमालेले गुमायो चार गाउँपालिका र एक नगरपालिका

दोहोरिए एक्ला शालिकराम, बिमला र रमेशको बढुवा
खोटाङमा एमालेले गुमायो चार गाउँपालिका र एक नगरपालिका

फाइल फोटो


नेपालखबर
जेठ ५, २०७९ बिहिबार १०:९, काठमाडौँ

खोटाङका १० वटा पालिकामध्ये २ वटा पालिकामा मात्रै पुरानै पार्टी दोहोरिएको छ। हलेसी तुवाचुङ नगरपालिका र बराहापोखरी गाउँपालिकामा नेपाली कांग्रेस नै पुनः विजयी भएको हो। यी बाहेक ८ वटा पालिकामा फरक दलका प्रतिनिधि नेतृत्वमा चुनिएका छन्।

२०७४ मा एमालेले जितेका ४ वटा गाउँपालिका र एउटा नगरपालिका नै यसपटक गुमायो। खोटेहाङ, जन्तेढुंगा, केपिलासगढी, रावाबेँसी गाउँपालिका र दिक्तेल नगरपालिकामा यसअघि एमालेका उम्मेदवार निर्वाचित भएका थिए।

यसअघि जितेका सबै गुमाएको एमाले यसअघि कांग्रेसले जितेका दुई पालिकामा भने निर्वाचित भएको छ। ऐँसेलुखर्क र दिप्रुङ चुइचुम्मा गाउँपालिकामा एमाले विजयी भएको हो। यी पालिकामा यसअघि कांग्रेस विजयी भएको थियो। 

ऐसेलुखर्कको प्रमुख र दिप्रुङका दुवै पदमा एमाले विजयी भयो। ऐँसेलुखर्क गठबन्धन भएपनि माओवादीको भागमा परेको प्रमुख गुम्यो भने उपाध्यक्षमा कांग्रेसका उम्मेदवार विजयी भए। दिप्रुङमा दलहरुबीच गठबन्धन थिएन।

त्यसो त माओवादी केन्द्रले पनि यसअघि जितेको पालिका दोहोर्‍याउन सकेन। यसअघि माओवादीले साकेला गाउँपालिका प्रमुख जितेको थियो। त्यहाँ यसअघिकै अर्जुन खड्कालाई पुनः उम्मेदवार बनाए पनि पराजित भए।

यसअघि जितेका दुई पालिका गुमाएको र दुई वटामा दोहोरिएको कांग्रेसले जिल्लामा प्रभाव थप बढाएको छ। दिप्रुङबाहेक सबै पालिकामा कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन्।

एमालेले जितेको ऐँसेलुखर्क, माओवादीले जितेका जन्तेढुंगा र खोटेहाङमा पनि कांग्रेसका उपप्रमुख निर्वाचित भएका छन्। यी तीनवटै पालिकामा प्रमुख माओवादी र उपप्रमुख कांग्रेसका उम्मेदवार थिए।

यसअघि एमालेले जितेका केपिलासगढी, रावाबेँसी गाउँपालिका र दिक्तेल नगरपालिका प्रमुखमा कांग्रेस निर्वाचित भएको छ। माओवादीले जितेको साकेला गाउँपालिका प्रमुखमा पनि कांग्रेस नै निर्वाचित भयो। यो पालिकामा पनि गठबन्धन थिएन।

दोहोरिने एक्ला शालिकराम
बराहापोखरी गाउँपालिका अध्यक्षमा निर्वाचित शालिकराम बन्जरा पालिका प्रमुखमा दोहोरिने जिल्लाका एक मात्रै उम्मेदवार हुन्। बन्जराले पुनः टिकट पाए र निर्वाचित पनि भए। अन्य पालिका प्रमुख र उपप्रमुखले पनि उही पदमा टिकट पाए पनि चुनाव जित्न सकेनन्।

ऐँसेलुखर्क उपप्रमुख पुष्पकला भुजेल, दिक्तेल उपमेयर बीनादेवी राई, जन्तेढुंगा प्रमुख शंकरबहादुर राई र उपप्रमुख बिमला राईले पनि दोहोरिने अवसर पाएका थिए।

साकेला गाउँपालिका प्रमुख अर्जुन खड्का र सरीता खड्कालाई पनि पार्टीले पुनः उही पदमा उम्मेदवार बनाएको थियो। आफ्नै पार्टीबाट उठेका नयाँ प्रतिनिधि निर्वाचित हुँदा पनि उनीहरु भने पुनः निर्वाचित हुन सकेनन्।

केपिलासगढीमा कृष्णकुमार राई पनि पुनः उम्मेदवार बनेका थिए। २०७४ सालमा जसलाई पराजित गरेका थिए उनै समिर राईले यसपटक बदला लिए। यसअघि निर्वाचित पालिका प्रमुख र उपप्रमुख अन्यले भने पुनः टिकट पाएनन्।

विमला र रमेशको बढुवा
जिल्लामा नेपाली कांग्रेसका लागि अनपेक्षित नतिजा बन्यो हलेसी नगरपालिकाको। आफू बलियो रहेका पालिकामा गठबन्धन नगर्ने निर्णय गर्दा दिप्रुङ चुइचुम्मा गाउँपालिका गुमाउन पुग्यो।

एक्ला एक्लै भिड्दा जित्ने आकलनकै कारण हलेसी तुवाचुङ नगरपालिकामा पनि कांग्रेस गठबन्धन गर्न तयार भएन। तर चुनाव नजिकिँदै गर्दा हलेसीका वडा तहसम्मै कांग्रेस बाहेकका सबै दलले गठबन्धन गरेर एक्ल्याए। 

नेकपा एमाले प्रमुख र माओवादीले उपप्रमुखमा मतदान गर्ने गरी भागबण्डा गरे। वडाहरू पनि चार दलले भागबण्डा गरे। यहाँ एमाले र माओवादीसँगै जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादीको पनि गठबन्धन थियो।

जिल्लामै एकमात्र पालिकामा एक्लिएको कांग्रेसका लागि चुनावको परिणाम भने यही नगरमा सबैभन्दा अनुकुल रह्यो। आफूले यसअघि जितेका तीन वटा वडा गुमाए पनि बाँकी ७ वडासहित प्रमुख र उपप्रमुखमै बाजी मार्यो। 

एमालेले जितेका वडा नं ३, वडा नं ५ र माओवादीले जितेको वडा नं ७ मा पनि यसपटक पकड जमायो।

कांग्रेसबाट नगरपालिकाको मेयरमा निर्वाचित बिमला राई यसअघि उपमेयर र उपमेयरमा निर्वाचित रमेश राउत यसअघि वडा नं ६ को वडाध्यक्ष थिए। 

दुवै जना यसपटक बढुवा भए। जिल्लामा पालिका प्रमुख र उपप्रमुखमा बढुवा हुने यसअघिका प्रतिनिधि उनीहरु मात्रै हुन्।

जन्तेढुंगा गाउँपालिकामा यसअघि अध्यक्षमा पराजित खेम खड्का यसपटक उपाध्यक्षमा निर्वाचित भएका छन्। उनी अघिल्लो पटकभन्दा तल्लो तहमा उम्मेदवार बनेका हुन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .