ad ad

निर्वाचन विशेष


कोपिला रानाभाट : कांग्रेसभित्रकै अन्तरघातको सिकार !

कोपिला रानाभाट : कांग्रेसभित्रकै अन्तरघातको सिकार !

वाशुदेव मिश्र
जेठ ९, २०७९ सोमबार १८:५८, पाेखरा

कांग्रेसी वृत्तमा अक्सर भन्ने गरिन्छ,‘कांग्रेसले आफ्नो सामर्थ्य र आफैंभित्रका दुस्मन चिन्दैन!’

पोखरा महानगरको मतगणना उत्तरार्द्धतिर पुग्दै गर्दा यो सन्दर्भको पुनः स्मरण गरिएको छ। तर, सामर्थ्यको सवालमा भने फरक दृष्टिकोण बनेको छ।

सत्ता गठबन्धनबीच पोखराको मेयर नेकपा एकीकृत समाजवादीका नेता धनराज आचार्यलाई दिने सहमति बन्यो।

कांग्रेसभित्र मेयरका दजर्नजति आकांक्षी थिए। टिकट कसले पाउने भन्ने निधो थिएन तर सबै हुल बाँधेर पार्टी सभापति शेरबहादुर देउवा र शीर्ष नेताको दैलोमा पुगे। बिन्ती बिसाए र पोखरामा मेयर कांग्रेस र उपमेयर माओवादी केन्द्रलाई दिनुपर्ने तर्क पेश गरे।

सभापति देउवाले उनीहरुको कुरा सुनेनन्। वरिष्ठ नेता रामचन्द्र पौडेलले सुनेजस्तो गरे तर ‘शक्तिहीन’ उनको जोड चलेन।

अन्ततः पोखरा नेकपा एकीकृत समाजवादीको पोल्टामा गयो। मेयर फुत्किएपछि सबैको ध्यान उपमेयरमा गयो। चितवनको जस्तै उपमेयर पोखरा नगर सभापति सुरेन्द्रमान विजुक्छेले पाउने चर्चा चल्यो।

सभापतिलाई टिकट दिँदा सिंगो पार्टी पंक्ति परिचालन गर्न सजिलो हुन्थ्यो नै! स्वयं विजुक्छेले भने उपमेयर मागेकै थिएनन्। नमागेको पद पाउने भएपछि उनी पनि उत्साहित भए। मनोनयनको अन्तिम समयमा उनको उत्साहमाथि तुषारापात भयो। उपमेयरको टिकट कांग्रेस गण्डकी सहमहामन्त्री कोपिला रानाभाटलाई दिइयो।

कोपिला कांग्रेसभित्र ‘त्याग’की प्रतिमूर्ति नै थिइन्। हुनेखाने हैन कि सामान्य परिवारबाट निरन्तर राजनीतिमा क्रियाशील कोपिला महानगरको लेखनाथ क्षेत्रकी बासिन्दा थिइन्।

निरन्तर कोइराला–रामचन्द्र पौडेल समूहमा रहनु उनको अर्को विशेषता थियो। उनले टिकट पाउनुमा पनि त्यही विशेषताले काम गरेको थियो।

त्यसो त, साझा उम्मेदवार बनेका धनराज स्वयंको चाहना पनि कोपिला नै थिइन्। महानगरमा गाभिए पनि पोखरासँग अपनत्व महशुस गर्न नसकेको लेखनाथको मत आफ्नो पक्षमा पार्न सकिने ठानेर धनराजले कोपिलाप्रति सहानुभूति राखेका थिए। उनले कोपिलामा त्याग र भूगोलका कारण सामर्थ्य देखेका थिए। 

उपमेयरमा कोपिला उम्मेदवार तय भएपछि भने कांग्रेसमा असन्तुष्टि देखिन थाल्यो। कोपिलासँग क्रियाशीलता थियो, धन थिएन। उनले सक्दो कोशिस गरिन्। नेताहरु गुहारिन्। उनलाई अघि लगाउने नेताहरुले आफू नै संघीय चुनावको तयारी गर्दै छु भन्दै सोचेजस्तो सहयोग गरिदिएनन्।

कांग्रेस स्रोत भन्छ,‘गगन थापाले केन्द्रबाट अलिकति आर्थिक सहयोग गरेजस्तो लाग्छ ,नभए यहाँको पार्टीले उहाँलाई कुनै आर्थिक सहयोग जुटाएनन् बरु उहाँले व्यवस्था गरिदिएको ४ वटा गाडीमा नेताहरु हुँइकिए।’

कुरो यत्तिमा रोकिएन। राजनीतिमा आन्तरिक प्रतिस्पर्धा स्वभाविक हो। तर, कांग्रेसभित्रकै केही महिलाहरुबाट कोपिलाले अपेक्षित सहयोग पाइनन्। कांग्रेसका एक नेताको दाबी अनुसार  एक नेतृले त वडा नम्बर २७ मा पुगेर कोपिलाविरुद्ध मोर्चाबन्दी नै गरिदिइन्। 

‘धनराजले सबै चुनावी कार्यक्रममा कोपिलाको साथ खोजे तर कांग्रेसकै नेता र नेतृहरुले उनको पक्षमा माहोल बनाएनन्’,ती नेताले भने,‘ धनराजले टिकट पाएको ४ दिनमै कांग्रेसको संगठन चलाउँदा पनि महिलाहरु कोपिलाको पक्षमा नदेखिनुले अहिलेको परिणाम ल्यायो।’

 हो, कोपिला रानाभाट महानगरको १ लाख ४३ हजार २२६ मध्ये १ लाख २५ हजार ५२० मत गनिसक्दासम्म ३ हजार ५८५ मतले पछि छन्। उनकी प्रतिस्पर्धी एमालेकी मञ्जुदेवी गुरुङले ५३ हजार १७१ र उनी स्वयंले ४९ हजार ५८६ मत प्राप्त गरेकी छन्।

केही वडाहरुको गणना बाँकी छ। तर, गठबन्धनको तर्फबाट उम्मेदवार बनेका सहयात्री धनराज उकालो लाग्दा र पोखराका ३३ मध्ये २१ वडामा कांग्रेसका वडाध्यक्षले जित्दा पनि कोपिलाको मत कम आउनुमा बढी दोष कांग्रेसकै छ। मेयर पाए सजिलै जित्छौँ भन्ने हुँकार गर्ने कांग्रेसीहरु तै चुप मै चुप छन्। मत किन कम आयो भन्ने उत्तर उनीहरुसँग छैन। 

‘हिजो एक्लै मेयर जित्छौँ भन्ने हुँकार गर्नेहरुले अहिलेको मत परिणामको जिम्मा लिनुपर्छ’, पोखराको लेखनाथ क्षेत्रमा क्रियाशील एक कांग्रेसी नेताले भने,‘ पाथीबाट मानोमा खन्याउँदा पोखिन्छ भन्नेहरुले गठबन्धनको चास्नीमा लुट्पुटिएपछि आफ्नै उम्मेदवार भुले, कर्तव्य बिर्से।’

उनले एमालेबाट मेयरका उम्मेदवार कृष्ण थापाले कम मत ल्याउँदा त्यो पार्टीभित्र अन्तरघातको मुद्दा चर्किएको सन्दर्भ उप्काउँदै कांग्रेसभित्र भएको अन्तरघातको पनि छानबिन हुनुपर्ने माग गरे।

एमालेको तर्फबाट अघिल्लो कार्यकाल पोखराको उपमेयर रहेकी मञ्जुदेवी गुरुङमाथि पनि असक्षमताको उत्तिकै भार रहेको र कांग्रेसले त्यसलाई चिर्न तथा प्रचार गर्न नसकेको पनि उनको तर्क थियो। 

कांग्रेस कास्की जिल्ला कमिटीका एक सदस्यले पनि कोपिलाको कम मत आउनुमा पार्टी क्रियाशीलता कारक रहेको स्वीकारे। बरु उनले मत कम आउनुको अर्को कारण ‘जातीय सहानुभूति’, जनता समाजवादी र माओवादीको मत नआएको तर्क गरे।

वडाध्यक्षसम्म नपाएको माओवादी र जसपाले कांग्रेसलाई सघाउनुपर्ने कुनै कारण नभएको उनको तर्क थियो। उनले अहिलेको परिणामलाई अन्तरघातकै परिणाम मान्न नहुने पनि बताए।

यद्यपि, सहमहामन्त्री पनि उनैलाई,टिकट पनि उनैलाई भन्ने मतले भने नकारात्मक असर पारेको उनले स्वीकारे। 

‘हो उहाँको त्यागी चरित्रबारे व्यापक प्रचार भएन, कतिसम्म भने उहाँको जीवनी पनि मतदाताले राम्रोसँग पढ्न पाएनन्’,उनले भने,‘ पार्टीको कमजोरीले गर्दा हामीलाई सफलताले पनि गिज्याउने पक्का छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .