ad ad

निर्वाचन विशेष


मेयर बन्न हिँडेका ६ सांसद ‘सडक’मा

मेयर बन्न हिँडेका ६ सांसद ‘सडक’मा

फाइल तस्बिर


केशव सावद
जेठ ११, २०७९ बुधबार १६:३८, काठमाडौँ

स्थानीय तहको प्रमुख बन्ने होडबाजीमा प्रदेशसभा सदस्यबाट राजीनामा दिएर चुनावी मैदानमा उत्रिएका नेताहरु मतदाताको मन जित्न असफल भएका छन्। सांसदबाट पनि राजीनामा दिइसकेको र स्थानीय तहमा पनि नजितेको स्थितिमा उनीहरु पदविहीन बन्न पुगेका छन्।

वैशाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचनका लागि प्रदेशसभा सदस्यबाट राजीनामा दिएका अधिकांश नेताहरु पराजित भएका छन्। पराजित हुनेमा प्रमुख प्रतिपक्षी नेकपा एमालेका चार जना, सत्तारुढ नेपाली कांग्रेसका एकजना र सत्ता साझेदार जनता समाजवादी पार्टी (जसपा) नेपालका १ गरी ६ जना निवर्तमान प्रदेशसभा सदस्य छन्।

काठमाडौँ महानगरमा केशव स्थापित, भरतपुर महानगरपालिकामा विजय सुवेदी, पोखरा महानगरपालिकामा कृष्ण थापा र इलामको सूर्याेदय नगरपालिकामा काजीमान कागते एमालेबाट पराजित हुने निवर्तमान प्रदेशसभा सदस्य हुन्।

स्थापित र सुवेदी बागमती प्रदेशसभा सदस्य थिए। थापा गण्डकी प्रदेश सभाका सदस्य थिए। कागते प्रदेश १ को प्रदेशसभाबाट राजीनामा दिएर नगर प्रमुखका लागि चुनावी मैदानमा होमिएका थिए।

काठमाडौँ महानगरको अन्तिम मत परिणाम आउन बाँकी भए पनि एमाले उम्मेदवार केशव स्थापित पराजित हुने निश्चित देखिएको छ। यो समाचार तयार पार्दासम्म काठमाडौँमा खसेको १ लाख ९१ हजार १२५ मध्ये १ लाख ६८ हजार ४८७ मतपत्र गणना भइसकेको छ।

जसमध्ये स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह ५४ हजार ७१८ मतका साथ अगाडि छन्। उनको जित सुनिश्चित भइसकेको छ। प्रदेशसभा सदस्यबाट राजीनामा दिएर चुनावी प्रतिस्पर्धामा उत्रिएका स्थापितले ३३ हजार ९७५ मत प्राप्त गरेका छन्। 

पोखरा महानगरपालिकामा प्रदेशसभा सदस्यबाट राजीनामा दिएका थापालाई हराउँदै नेकपा एकीकृत समाजवादीका उम्मेदवार धनराज आचार्य महानगर प्रमुखमा विजयी भइसकेका छन्। आचार्य ५८ हजार ८९३ मतका साथ विजयी हुँदा दोस्रो भएका थापाले ५२ हजार ८४८ मत पाएका छन्।

प्रदेशसभाबाट राजीनामा दिएर भरतपुर महानगरको प्रमुखमा प्रतिस्पर्धा गरेका निवर्तमान सांसद सुवेदी १२ हजार ४७६ मतान्तरले पराजित भएका छन्। उनी सत्ता गठबन्धनकी साझा उम्मेदवार रेनु दाहालसँग पराजित भएका हुन्। दाहाल ५२ हजार ५८ का साथ महानगर प्रमुखमा विजयी हुँदा दोस्रो भएका सुवेदीले ३९ हजार ५८२ मत ल्याएका छन्।

उता इलामको सूर्योदय नगरपालिकामा निवर्तमान प्रदेशसभा सदस्य कागते १ हजार ८५८ मतले प्रमुख हुनबाट वञ्चित भएका छन्। उनलाई एमालेबाटै चोइटिएर गएको नेकपा एकीकृत समाजवादीका उम्मेदवार रनबहादुर राईले हराएका हुन्। कागतेले १० हजार ५७९ मत पाउँदा एकीकृत समाजवादीका राई १२ हजार ४३१ मत ल्याएर नगर प्रमुखमा विजयी भएका छन्। 

त्यसैगरी मधेस प्रदेशमा जनता समाजवादी पार्टी (जसपा) नेपालका निवर्तमान प्रदेशसभा सदस्य शेख अबुलकलाम आजाद पनि स्थानीय तह निर्वाचनमा मतदाताबाट अस्वीकृत भएका छन्। उनले रौतहटको गढीमाई नगरपालिकाको प्रमुखमा उम्मेदवारी दिन प्रदेशसभा सदस्यबाट राजीनामा दिएका थिए।

आजाद नेपाली कांग्रेसका उम्मेदवार श्यामप्रसाद यादवसँग झण्डै ६ सय मतले पराजित भएका छन्। उनले ८ हजार ७३ मत ल्याउँदा यादव ८ हजार ६३१ मतका साथ नगर प्रमुखमा विजयी भएका छन्।

आजाद २०७४ को प्रदेशसभा निर्वाचनमा रौतहटको निर्वाचन क्षेत्र नम्बर ४ ‘ख’ बाट स्वतन्त्र उम्मेदवारका रुपमा विजयी भएका थिए। पछि उनी जसपा प्रवेश गरेका थिए। 

मधेस प्रदेशकै सर्लाही जिल्लाको गोडैटा नगरपालिकामा नेपाली कांग्रेसका निवर्तमान प्रदेश सांसद उपेन्द्र प्रसाद कुसवाह पराजित भएका छन्।

प्रदेशसभामा कांग्रेसको सचेतक पदबाट राजीनामा दिएर नगर प्रमुखमा उठेका कुसवाह लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका उम्मेदवार देवेन्द्रकुमार यादवसँग पराजित भएका हुन्।

लोसपाबाट नगर प्रमुखमा निर्वाचित यादवले ५ हजार २९४ मत प्राप्त गर्दा निवर्तमान प्रदेशसभा सदस्य कुशवाहाले ४ हजार ७५२ मत ल्याएका छन्।

उनले वैशाख १० गते कांग्रेसको सचेतक पदबाट राजीनामा दिएका थिए। उनी प्रदेशसभा निर्वाचनमा सर्लाही क्षेत्र ४ (ख) बाट विजयी भएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .